थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै « Khabarhub

थारू समुदायको मौलिक पहिचान छतरी हराउँदै


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै जान थालेको छ ।

थारू समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ ।

जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गरे ।

‘बर्सातमा खेतमा काम गर्दा, गोरु जोत्न, बीउ झार्न, वा गोठाला जाँदा छतरी आवश्यक वस्तु हुन्थ्यो’, उनले भने, ‘बलियो पहाडी बाँस र महुराइन (मालु)को पात प्रयोग गरी बनाइने छतरी पानी चुहिन नदिने उत्कृष्ट घरेलु प्रविधि थियो ।’

बूढेसकाल लाग्दासम्म परम्परागत रूपमा घरमै निर्माण गरेका छतरी ओढेको सम्झना उनलाई छ ।  छतरीमा एक थोपा पनि पानी चुहिँदैनथ्यो, हलुका पनि हुन्थ्यो, तर अब ती दिन सपनाजस्ता भएको उनी सुनाउँछन् ।

छतरी थारू समुदायका लागि एक उपयोगी वस्तु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक चिनारीका रूपमा छतरीलाई लिइने गरेको बताए । बाँसको चोयाले बुनेर महुराइन (मालु)को पातभित्र राखी बनाइने छतरी घाम र पानी दुवैबाट जोगाउने उपायका रूपमा रहेको उनको भनाइ छ ।

‘पहाडबाट ल्याइने बलियो बाँसले बनाइएका छतरी पाँच वर्षभन्दा बढी टिक्ने गर्दथे’, उनले भने, ‘थारु समुदायमा तीन प्रकारका छतरी प्रचलनमा थिए, जसमा ठूलो गोलो छतरी, जसले शरीरको अधिकांश भाग छोप्थ्यो, मुरमुख्खी, टाउको मात्रै ढाँक्ने सानो छतरी र स्यांगो, त्रिकोण आकारको पूरै शरीर छोप्ने छतरी प्रचलनमा थिए ।’

यी सबै आज प्रयोगबाट हराइसकेको उनले बताए । परम्परागत छतरीको तुलनामा बजारमा आधुनिक र सस्तो छाता रेनकोट सजिलै पाइने भएपछि परम्परागत सीप लोप हुन थालेको कलंकबहादुर चौधरीले बताए ।  बाँस र महुराइनको पात मुख्यरूपमा चुरे क्षेत्रका वनबाट सङ्कलन गरिन्थ्यो । तर अहिले वनभित्र अनुमति बिना प्रवेश गर्न नपाइने, पात टिप्दा झन्झट हुने, र कानूनी जटिलता हुने भएपछि छतरी बनाउने चलन नै बन्द भएको उनको भनाइ छ ।

‘थारु परम्परामा ससुराली जाँदा छतरी, सुप्पा, मचिया उपहार दिने चलन थियो’, हवलदार चौधरीले भने, ‘परम्परागत वस्तुहरू उपहारमा दिने चलन पनि हरायो, महुराइनको पातलाई पवित्र मानिने हुँदा पूजामा प्रयोग हुने दुना, टपरी पनि त्यही पातबाट बनाइन्थ्यो, त्यसको बदलामा अहिले सातको पातले काम चलाउने गरिन्छ ।’

उनले भने, ‘आजका युवा छाता, रेनकोट र प्लास्टिकका सजिला सामानतर्फ आकर्षित छन्, सीप सिकाउने बूढापाका घट्दै जाँदा छतरीजस्ता मौलिक वस्तु लोप हुने अवस्थामा पुगेका छन, लोप हुँदै गएका छतरीलगायतका वस्तुको जगेर्ना गरी यस्ता हस्तकलाका सामग्रीको बजार प्रवर्द्धन गर्नुपर्छ ।’

छतरी थारु समुदायको केवल आवश्यकता होइन, पहिचान पनि भएकाले त्यसको संरक्षण नगर्ने हो भने भविष्यमा केवल तस्बिर वा सङ्ग्रहालयमा मात्रै सीमित हुने उनको चिन्ता छ ।

उनका अनुसार यसका लागि स्थानीय सरकार र सरोकारवाला निकायले समयमै सचेत भएर सीप संरक्षण कार्यक्रम र सांस्कृतिक जागरण अभियान सुरू गर्न आवश्यक छ । (रासस)

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ९ : ३७ बजे

रास्वपा महाधिवेशन : हातमा चिट बोक्न नपाइने, नत्र उम्मेदवारी खारेज हुने

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा कुनै पनि उम्मेदवारको नामको

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा