काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राजनीतिक दल र नेताहरूले आफ्ना कमी–कमजोरीहरूलाई खुलेर स्वीकार्दै जनतामा आशा र विश्वास जगाउनुपर्ने बेला आएको बताएका छन् ।
मानव अधिकार तथा शान्ति समाजको काठमाडौं शाखाको शनिबार आयोजित साधारण सभालाई सम्बोधन गर्दै उनले दलहरूभित्र आत्म समीक्षाको गहिरो आवश्यकता रहेको औँल्याए ।
‘हामीले गरेका गल्तीहरू छन्, त्यसलाई स्वीकार्नु पर्छ, तर गल्ती दोहोर्याउनु हुँदैन,’ उपसभापति खड्काले भने, ‘अब हामीले एक–अर्कालाई दोषारोपण गरेर होइन, जनताको असन्तुष्टिलाई चिनेर समाधान दिने बेला आएको छ ।’
खड्काले जनतामा निराशा नभई राजनीतिक दलहरूप्रति आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई सम्बोधन गर्नु नै अहिलेको मुख्य चुनौती भएको प्रस्ट्याए ।
उपसभापति खड्काले हालै चर्चामा रहेका केही महत्त्वपूर्ण विधेयकहरूबारे पनि आफ्नो धारणा राखे । उनले संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ पिरियड’ र भूमिसम्बन्धी विधेयकलगायतका विषयहरूमा दलहरूबीच गम्भीर छलफल र सहमति आवश्यक रहेकोमा जोड दिए ।
‘भूमि विधेयकबारे केही भ्रम छरिएको छ,’ खड्काले भने, ‘यो विधेयकले वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा नभएका अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने लक्ष्य राखेको छ । नयाँ वन फडानी गर्ने होइन ।’
भ्रष्टाचार र कुशासन देशको विकास र उन्नतिका बाधक भएको बताउँदै खड्काले यसको अन्त्यका लागि सबै दल एक ठाउँमा उभिन आह्वान गरे । ‘देशको विकास र उन्नतिका लागि बाधक भनेको भ्रष्टाचार, अनियमितता र कुशासन हो,’ उनले भने, ‘यसलाई अन्त्य गर्न हामी सबै एकजुट हुनै पर्छ ।’
प्रतिक्रिया