पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु | Khabarhub Khabarhub

पीडादायी दुखाइ निको पार्न बीपी प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा सुरु


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

सुनसरी – विभिन्न कारणले शरीरमा हुने दीर्घकालिक गम्भीर दुखाइ निराकरण गर्ने उपचार सेवा ‘रेडियोफ्रिक्वेन्सी एब्लेसन’ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको छ ।

प्रतिष्ठानमा रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै यो उपचार सेवा शुरु भएको हो ।

सहप्रवक्ता डा. अभिजित कुमारका अनुसार बीपी प्रतिष्ठानको एनस्थेसियोलोजी विभागको पहलमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सञ्चालनमा ल्याइएको हो ।

सेवा शुरु भएपछि पहिलोपटक ट्राइजेमिनल न्युराल्जियाको लागि ग्यासेरियन गैङ्गिलयनको रेडियोफ्रिक्वेन्सी एब्लेसन सफलतापूर्वक सम्पन्न भएको सहप्रवक्ता डा. कुमारले जानकारी दिए ।

उनले भने, ‘ट्राइजेमिनल न्युराल्जिया एक प्रकारको अत्यन्त पीडादायक स्नायु रोग हो, जसमा अनुहारको एक भागमा बिझाउने र चुँडिएको जस्तो पीडा हुने गर्छ । सामान्य औषधी उपचारले निको नभएको बिरामीको लागि रेडियोफ्रिक्वेन्सी एब्लेसन प्रभावकारी उपाय हो ।’

उनका अनुसार विभिन्न कारणले शरीरमा अति पीडादायी दुखाइ भएका बिरामीको दुखाइ निराकरण गर्न रेडियोफ्रिक्वेन्सी उर्जा प्रयोग गरिन्छ । रेडियोफ्रिक्वेन्सी उर्जाले पीडादायी स्नायुको सानो भागलाई लक्षित गरी नष्ट गर्दछ ।

डा. अभिजितले भने, ‘यो प्रक्रिया इमेज गाइडेड प्रविधिबाट गरिने भएकोले सटिकता र सुरक्षाको दृष्टिले निक्कै महत्वपूर्ण मानिन्छ । यसले पीडालाई लामो समयको लागि कम गर्न सहयोग पुर्‍याउँछ ।’

विशेषगरी मेरुदण्डको फेसेट जोइन्टमा हुने पीडा, स्याक्रोइल्याक जोइन्टमा हुने पीडा, ट्राइजेमिनल न्युराल्जियाको पीडा, घुँडा वा काँधको आथ्र्राइटिसजन्य पीडा, ओसिपिटाल न्युराल्जिया र केही प्रकारका न्युरोप्याथिक तथा क्यान्सरसम्बन्धी पीडामा पनि उक्त उपचार पद्धति उपयोगी हुने प्रतिष्ठानले जनाएको छ ।

क्रोनिक भाष्कुलरको पीडा वा शल्यक्रियापश्चात् बाँकी रहने पीडामा पनि उक्त उपचार पद्धतिले राहत दिनसक्ने प्रतिष्ठानले जनाएको छ ।

सही बिरामी छनोट, इमेजिङ मार्गदर्शन र विशेषज्ञको अनुभवका साथ गरिएको रेडियोफ्रिक्वेन्सी एब्लेशनले लामो समयसम्मको पीडा कमी गरी औषधी प्रयोग घटाउन मद्दत गर्ने र बिरामीको स्वास्थ्य जीवनस्तर उल्लेखनीयरुपमा सुधार गर्नसक्ने सहप्रवक्ता डा. अभिजितले बताए ।

बीपी प्रतिष्ठानमा उक्त सेवा विस्तार भएसँगै पूर्वी नेपालमा विशेषज्ञतायुक्त दुखाइ व्यवस्थापनमा नयाँ आयाम थपिएको र दीर्घकालीक पीडाबाट ग्रस्त बिरामीलाई धेरै राहत दिलाउने प्रतिष्ठानले अपेक्षा गरेको छ ।

हाडजोर्नी समस्या निदान गर्न डेक्सा स्क्यान सेवा पनि सुरु

रेडियोफ्रिक्वेन्सी एब्लेसन (आरएफए) प्रविधि र पद्धति भित्राइएसँगै बीपी प्रतिष्ठानले हाडजोर्नी सम्बन्धी बिरामीहरूको उपचार पद्धतिमा सहजता बनाउने उद्देश्यले डेक्सा स्क्यान (डुएल इनर्जी एक्स–रे एब्सर्पसिमेट्री) सेवा पनि सञ्चालनमा ल्याएको छ ।

प्रतिष्ठानका अनुसार डेक्सा स्क्यान एक प्रकारको रेडियोलोजिकल परीक्षण हो । उक्त परीक्षणले मानिसको हड्डीको घनत्व वा बलियोपना मापन गर्छ । उमेरको वृद्धिसँगै मानिसमा देखिने ओस्टेओपोरोसिस जस्ता हड्डी कमजोर हुने रोगहरूको समयमै निदान गरी सही उपचार गर्न उक्त परीक्षणले मद्दत गर्दछ ।

सहप्रवक्ता डा.अभिजितका अनुसार कतिपयको युवा अवस्थामै पनि हड्डी कमजोर हुने रोगहरू देखिने गरेका छन् । त्यस्ता मानिसहरूको समेत बेलैमा डेक्सा स्क्यान प्रविधि र पद्धतिमार्फत परीक्षण गरी हड्डीको स्थिति पत्ता लगाई समयमै सही उपचार गर्दा रोगबाट ग्रसित हुनबाट जोगिन सकिन्छ, । उनले भने, ‘हाललाई उक्त परीक्षण प्रतिष्ठानको हाडजोर्नी ओपिडीमा हरेक दिन गर्ने गरिएको छ ।’

यसैबीच बीपी प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले हाडजोर्नी सम्बन्धी डेक्सा स्क्यान गर्दा लाग्ने शुल्क सार्वजनिक गर्दै सर्कुलर जारी गरेका छन् ।

उक्त सर्कुलर अनुसार डेक्सा स्क्यान एलएस स्पाइनको १५ सय, होल बडीको डेक्सा स्क्यानको २५ सय, बडी फ्याट एनालाइसिसको एक हजार, हिप जोइन्टको डेक्सा स्क्यान १५ सय, हिप जोइन्ट र एलएस स्पाइनको संयुक्त डेक्सा स्क्यान गर्दा दुई हजार रुपैयाँमात्र लाग्नेछ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  १ : ३८ बजे

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन

महिला प्रतिनिधित्व स्थापित गर्न मङ्गलादेवीको योगदान अतुलनीय : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न

पशुपतिमा सहज दर्शनको व्यवस्था

काठमाडौं- यस वर्ष हरितालिका तीज पर्वमा पशुपतिनाथ मूल मन्दिर प्रवेश

रसुवा र तातोपानी नाका सञ्चालन गर्न चेम्बरको आग्रह

काठमाडौं- गत असारको भारी वर्षा र बाढीका कारण अवरुद्ध रसुवा

नयाँ नेपालको यात्रामा सहभागी हुन अध्यक्ष भट्टराईको आह्वान

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री