जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण « Khabarhub

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको  छ ।

जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ । यानलाई योजनाबद्ध रूपमा अलग गरी निर्धारित कक्षामा स्थिर राखिएको र यदि सबै कुरा योजना अनुसार भयो भने केही दिनभित्रै आइएसएसमा पुग्ने अपेक्षा गरिएको छ ।

हाल आइएसएसमा कार्यरत जापानी अन्तरिक्ष यात्री किमिया युईले यसलाई बिहीबार बिहान रोबोटिक हातद्वारा समात्ने तयारी गरिरहेका छन् ।

एचटिभी–एक्स, जाक्साको अघिल्लो मानव रहित एच–२ ट्रान्सफर भेहिकल (कनोटोरी वा ‘स्टर्क’) को उत्तराधिकारी हो । यसले सन् २००९ देखि सन् २०२० सम्म आइएसएसमा नौ सफल मिसन पूरा गरेको थियो । नयाँ कार्गो यानले अघिल्लाभन्दा ठूलो पेलोड बोक्न सक्षम छ र कम तापक्रममा भण्डारण आवश्यक पर्ने प्रयोगशाला नमूनाहरू समेत सुरक्षित रूपमा पठाउन सक्छ ।

यो अन्तरिक्ष यान आइएसएसमा छ महिनासम्म जडान रहन र आवश्यक आपूर्ति पुर्‍याएपछि स्टेसनबाट फोहोर पुनः ल्याउन डिजाइन गरिएको छ । मिसन पूरा भएपछि यसले करिब तीन महिनासम्म कक्षीय उडानमा रहँदै प्राविधिक अनुसन्धान गर्नेछ ।

आइतबारको सफल प्रक्षेपणले एच–३ रकेटको सबैभन्दा शक्तिशाली संस्करणको डेब्यू पनि सङ्केत गरेको छ, जसमा चारवटा बुस्टर र ठूलो फेयरिङ (पेलोड कम्पार्टमेन्ट) प्रयोग गरिएको छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले यस प्रक्षेपणलाई ‘अन्तरिक्ष आपूर्तिमा जापानको स्वतन्त्र क्षमताको प्रतीकात्मक ठूलो उपलब्धि’ भन्दै ‘स्वायत्त अन्तरिक्ष गतिविधिको ठोस आधार’ का रूपमा वर्णन गरेका छन् ।

एच–३ रकेटको विकास तथा सञ्चालनमा जिम्मेवारी वहन गर्ने मित्सुबिसी हेभी इन्डस्ट्रिजका अन्तरिक्ष व्यवसाय विभाग प्रमुख इवाओ इगाराशीले जापानले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै समयमै पेलोड डेलिभरी गर्ने आफ्नो विश्वसनीयता प्रमाणित गरेको बताए । उनका अनुसार कम्पनीले आगामी वर्षहरूमा आफ्नो प्रक्षेपण सुविधा विस्तार गर्ने योजना बनाएको छ ।

एच–३ रकेटले हालै मात्र अन्तिम उडान सम्पन्न गरेको जापानको पुरानो मुख्य एच–२ए रकेटलाई प्रतिस्थापन गरेको हो । नयाँ फ्ल्यागशिप मोडेल विश्वव्यापी अन्तरिक्ष बजारमा अधिक लागत–प्रतिस्पर्धी बन्नका लागि डिजाइन गरिएको हो । सन् २०२३ मा पहिलो प्रयास असफल भएपछि एच–३ ले लगातार छ सफल उडान पूरा गरेको छ ।

जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई राष्ट्रिय सुरक्षाको प्रमुख आधार मान्दै स्थिर र व्यावसायिक रूपमा प्रतिस्पर्धी अन्तरिक्ष यातायात क्षमताको विकासलाई दीर्घकालीन प्राथमिकता दिएको छ । रासस
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ६ : ०१ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल