जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो « Khabarhub

जेनजी आन्दोलनले दीपकको सपनाको उडान रोकियो


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडीको शिवनाथ गाउँपालिका–२ मडैगाउँ स्थायी घर भई कोरियाली भाषा अध्ययनका लागि काठमाडौँ आएका १८ वर्षीय दीपकबहादुर साउदको कोरिया गएर परिवारको आर्थिकस्तर उकास्ने सपना जेन-जी आन्दोलनको क्रममा सपनामै रोकियो। 

गत भदौ २४ गते काठमाडौँको कालीमाटी क्षेत्रमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर उनको आँखामा चोट लागेको थियो र उक्त गोलीले मस्तिष्कमा पनि असर गरेकाले त्यसकै कारण ‘ब्रेन डेड’ भई मृत्यु भएको थियो ।

आन्दोलनको पहिलो दिन भदौ २३ गते साँझ आफ्नै छोरासँग अन्तिम संवाद गर्ने अवसर पाएकी आमा लक्ष्मी साउदका आँखा अझैसम्म पनि रसाएका छन् । छिमेकी र आफन्तले सान्त्वना दिन आउँदा पनि उनी सम्हालिन सक्दिनन् । भदौ २३ गते काठमाडौँमा १७ जना र सुनसरीमा दुई युवाको मृत्युको खबर सुनेपछि आमा लक्ष्मीले छोरालाई आन्दोलनमा नजान, कोठामै बस्न वा घर फर्किन भनेकी थिइन् ।

‘मैले भनेको मानेको भए सायद मेरो छोरो हामीसँगै हुन्थ्यो होला’, आमा सम्झिन्छिन् । तर दीपकले आफ्नो उमेर समूहका साथीहरूले दिएको बलिदान र देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आन्दोलनमा सहभागी हुने इच्छा व्यक्त गर्दै आमासँग भनेका थिए, ‘यदि मेरा साथीहरू जान्छन् भने म पनि जानेछु । यसमा मलाई नरोक्नु आमा । आन्दोलनमा जाँदैमा मरिन्छ भन्ने पनि होइन ।’ 

आन्दोलनमा सहभागी भएसँगै भदौ २४ गते बेलुकीदेखि उहाँसँग मोबाइलमा सम्पर्क टुटेको भाउजू सरस्वती साउद बताउँछिन्। दीपक दुई जना अन्य साथीसँग काठमाडौँको कीर्तिपुरमा कोठा लिएर बस्दै आएका थिए । बेलुकी साथीहरूले दीपक घाइते भएर अस्पताल लगिएको र उपचार भइरहेको जानकारी दिएका थिए तर भदौ २५ गते बिहान अप्रत्याशित रूपमा उनको निधनको खबर परिवारले पायो । 

‘त्यो खबरले घरको आशा र भरोसा दुवै तोडिदियो’, भाउजू सरस्वती भन्छिन्, ‘यस्तो खबर सुन्नुपर्छ भनेर कसैले सोचका पनि थिएनौँ ।’ 

दीपक पढाइमा पनि अत्यन्त मेहनती थिए। घर नजिकैको विद्यालयमा ११ कक्षा अध्ययन गर्दैगर्दा कोरियन भाषा परीक्षाको तयारीका कारण विद्यालय नजाँदै एकैपटक १२ कक्षा उत्तीर्ण गरेका थिए । पाँच भाइमध्ये तेस्रो दीपकका दुई भाइ गाउँकै विद्यालयमा पढ्दैछन् भने दुवै दाजु रोजगारीका लागि भारतको मुम्बइमा रहेका छन् । भाइको मृत्युको घटनाको खबर पाएपछि मुम्बइबाट गत भदौ २७ गते मात्रै जेठा दाजु वीरेन्द्र काठमाडौँ आएका थिए । 

चिकित्सकले वीरेन्द्रसँग भाइको आँखामा गोली लागेर ‘बे्रन डेड’ भएर मृत्यु भएको बताएका थिए । वीरेन्द्रले भने, ‘हामी आउँदासम्म भाइको शव ट्रमा सेन्टरमा राखिएको थियो । भिडियो एक्सरे हेर्दा एक आँखामा गोली लागेको देखियो ।’

वीरेन्द्रले थपे, ‘अब केही गरे पनि मेरो भाइ फर्किने छैन तर आन्दोलनमा गएर ज्यान गुमाएका युवाहरूको उद्देश्य सरकारले पूरा गर्नैपर्छ ।’

गाउँलेहरू पनि दीपकको बलिदान सम्झँदै दुःख व्यक्त गर्छन् । दीपक आफ्नो गाउँमा इमान्दार र सहयोगी युवा भनेर परिचित थिए । शिवनाथको मडैगाउँले एक होनहार युवा गुमाएको छ ।

सरकारले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४५ जना युवालाई सहिद घोषणा गरिसकेको छ, जसमा दीपक पनि एक छन् । उनको परिवारको एउटै भनाइ छ, सहिद घोषणा मात्र पर्याप्त छैन उनीहरूले उठाएका माग पूरा गर्न सरकारको इच्छाशक्ति, राजनीतिक दल र नागरिक समाजलगायत सवै पक्षको सहयोग अपरिहार्य छ ।

दीपकको कथा केबल व्यक्तिगत पीडा मात्र होइन, यो त्यस पुस्ताको आवाज हो, जसले भ्रष्टाचार र असमानताविरुद्ध देशमा उज्यालोको आशा बोकेको छ ।

रासस
 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : ३५ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको