पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन नियुक्ति गर्ने भएको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त रहेका डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेको हो।
छनोट प्रक्रियालाई पारदर्शी र नतिजामुखी बनाउन उम्मेदवारले सम्बन्धित संकायको रणनीतिक विकास तथा सञ्चालनसम्बन्धी विस्तृत कार्ययोजना र व्यक्तिगत विवरण (सीभी) पेस गर्नुपर्नेछ।
विश्वविद्यालयका अनुसार आवेदकले पेस गर्ने कार्ययोजनामा संकायको सबल र दुर्वल पक्ष एवं अवसर र चुनौतीको विश्लेषण, रणनीतिक प्राथमिकता, प्रमुख कार्यक्रम, बजेट तथा स्रोत व्यवस्थापन र अनुगमन संयन्त्रलगायतका विषयहरू समेटिनुपर्नेछ।
डिन छनोट गर्दा उम्मेदवारको प्राज्ञिक योग्यता र अनुभवका साथै संकाय विकासका लागि प्रस्तुत गरिने रणनीतिक योजना र त्यसको कार्यान्वयन क्षमतालाई मुख्य आधार बनाइने विश्वविद्यालयले जनाएको छ। खुला प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन भएसँगै विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा रणनीतिक क्षमतामा थप सुधार आउने अपेक्षा गरिएको छ।













प्रतिक्रिया