पशुपतिनाथमा रातभर धनुर्मास पूजा « Khabarhub

पशुपतिनाथमा रातभर धनुर्मास पूजा


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा बिहीबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण सहभागी हुने विधि छ ।

पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिए ।

उनका अनुसार पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुई वटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ ।

आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिबारे खोज गरिरहेका कर्मचारी बरुण खतिवडाले जानकारी दिए । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुने भएकाले प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर धनुर्मास पूजा आराधना गर्ने परम्परा रहेको उनले सुनाए ।

जानकारहरूका अनुसार चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा हाल लोप भइसकेको छ । त्यसबेला भक्तजनले आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउने परम्परा रहेको थियो ।

धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने प्रचलन छ । बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

बिहीबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको छ । मध्याह्न १२ बजेसम्म भने एउटा ढोका भने खोलिएको थियो । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ ।

यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो । महादेव डाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउँछन् ।

बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कने विश्वासमा नियमित आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजाआराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ७ : ४३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी