लुम्बिनी– रूपन्देहीको मर्चवार क्षेत्रमा निर्माण भइरहेको विद्युत् ‘सबस्टेसन’ को काम ४० प्रतिशत पूरा भएको छ । तीन पालिकालाई लक्षित गरी निर्माण भइरहेको मर्चवारस्थित महदेई सबस्टेसन निर्माण सम्पन्न भएपछि क्षेत्रको विद्युत् समस्यामा स्थायी सुधार आउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका इन्जिनियर जगदिशराज बरालका अनुसार महदेई सबस्टेसनका सिभिल संरचनामा ३५ प्रतिशत र विद्युतीकरणमा ४० प्रतिशत काम सम्पन्न भइसकेको छ । परियोजनाको बाँकी काम एक वर्षभित्र पूरा हुने गरी तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए ।
उनले निर्माण कम्पनीसँग काम फागुन महिनामा सम्झौता भएको बताए । ‘अब केही दिनमै सकिन लागेको सो म्याद पुनः म्याद थप गरेर आगामी एक वर्षभित्र यो परियोजना पूरा गरी सबस्टेसन सञ्चालनमा ल्याउने योजनामा हामी छौँ’, उनले भने ।
साइटमा माटो परीक्षण, कागजी प्रक्रिया र विभिन्न सामग्रीको अभावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको बताउँदै प्राधिकरणका इन्जिनियर बरालले भने, ‘सबस्टेसन निर्माणका लागि चाहिने अधिकांश सामग्रीको व्यवस्थापन भइसकेर अहिले सबै काम तीव्र गतिमा अघि बढेको छ ।’
निर्माण कम्पनीका योजना प्रबन्धक मुकुल सिंहले परियोजनाको डिजाइनमा ढिलाइ भएकाले निर्माण समयमै पूरा हुन नसकेको बताए । उनले भने, ‘डिजाइन प्राप्त भएपछि ४० जनाको टोलीले तीव्र गतिमा काम गर्दै हालसम्म आठ सय ५० वटा विद्युत् पोलको जडानकार्य सम्पन्न गरिसकेको छ ।’
उनका अनुसार अबको केही दिनमै पोलमा तार तान्ने काम गरिनेछ । तारपोलको व्यवस्थापन भइसकेपछि ट्रान्सफर्मरको व्यवस्था गरी लो भोल्टेज र विद्युत् कटौतीको समस्या समाधान हुनेछ ।
बारम्बार बत्ती जानु र लाइन ट्रिप हुनुका कारण उपभोक्ताका दैनिक गतिविधि प्रभावित हुने गरेको सम्मरीमाई गाउँपालिका– ७ का वडाध्यक्ष राधेश्याम कुर्मीले बताए ।
महदेइमा विद्युत् सबस्टेसनका निर्माणपछि मर्चवार क्षेत्रको तीनवटै गाउँपालिका सम्मरीमाई, कोटहीमाई र मर्चवारमा विकासको नयाँ अध्ययन सुरु हुने लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बानियाँले बताए ।
प्रतिक्रिया