काठमाडौं- देशका ११५ मध्ये ८८ राजनीतिक दलहरूले गत आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएका छन् ।
आयोगमा दल दर्ता संख्या ११५ भए पनि ८८ दलको मात्रै लेखा परीक्षण प्रतिवेदन आयोगमा पुगेको हो ।
यस्तोमा दलहरूले आफ्नो लेखा परीक्षण प्रतिवेदनमा आम्दानीको स्रोत पनि खुलाएका छन् । खासगरी नेकपा (एमाले), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो आम्दानीको स्रोतका रुपमा लेबी, सदस्यता वितरण र नवीकरणलाई उल्लेख गरेका छन् ।
उता सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने आफ्नो आम्दानीको मुख्य श्रोतका रुपमा चन्दालाई उल्लेख गरेको छ । कांग्रेसले लेबी, सदस्यता वितरण र नवीकरण शुल्कभन्दा दोब्बर धेरै आम्दानी चन्दाबाट भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।
एमालेको आम्दानी
केपी शर्मा ओली नेतृत्वको एमालेले आयोगमा बुझाएको लेखा परीक्षण प्रतिवेदनअुनसार मुख्य आम्दानीको श्रोतका रुपमा सदस्यता शुल्कलाई देखाएको छ ।
एमालेले आ.ब. २०८०/८१ मा ८ करोड ९७ लाख २२ हजार ६५ रुपैयाँ आम्दानी भएको जनाएको छ । जसमध्ये सदस्य शुल्कबाट १ करोड २१ लाख १६ हजार ४१८ रुपैयाँ आम्दानी भएको एमालेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी एमालेले जनप्रतिनिधि, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरूबाट पनि लेबी उठाएको छ । गत वर्ष एमालेले १ करोड ३७ लाख २२ हजार ८७९ रुपैयाँ उठाएको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा एमालेको आम्दानी झन् बढेको छ । एमालेले यो वर्ष १४ करोड ७९ लाख ५ हजार ८ सय ९ रुपैयाँ आम्दानी गरेको छ ।
एमालेले यो वर्ष सदस्य शुल्कबाट मात्रै ११ करोड ५४ लाख ३० हजार ४३७ रुपैयाँ आम्दानी भएको एमालेको प्रतिवेदनमा उल्लेख छ । एमालेले सदस्यता शुल्कबाट गत वर्षभन्दा कयौँ गुणाबढी रकम उठाउन सफल भएको हो ।
उता एमालेले यो वर्ष पनि जनप्रतिनिधिहरू, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरूबाट पनि लेबी उठाएको छ । गत वर्ष एमालेले १ करोड ५२ लाख ६१ हजार ९५९ रुपैयाँ उठाएको छ ।
एमालेले विशेष आर्थिक सहयोगका नाममा पनि ठूलो रकम उठाएको छ। यस शीर्षकमा गत वर्ष ५ करोड ६६ लाख ८ हजार १७१ रुपैयाँ उठाएको एमालेले यो र्ष पनि ६ करोड २२ लाख ४ हजार ५२० रुपैयाँ आम्दानी गरेको छ ।
कांग्रेसको स्रोत चन्दा
कांग्रेसले गत आर्थिक वर्ष ३ करोड ६४ लाख ७६ हजार २९७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गरिएको छ।
जसमा गत वर्ष कांग्रेसले ७ करोड ९९ लाख ९५ हजार ९९९ रुपैयाँ खर्च भएको जनाएको छ । जसअनुसार ४ करोड ३५ लाख १८ हजार ८२३ रुपैयाँ घाटा भएको पनि कांग्रेसले जनाएको छ ।
कांग्रेसले यो आर्थिक वर्ष २ करोड ५९ लाख ८ हजार ७ सय ७५ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
यो आर्थिक वर्षमा पनि कांग्रेसको खर्च आम्दानीभन्दा झन्डै दोब्बर अर्थात् ४ करोड ९१ लाख ५६ हजार ३ सय ७५ रुपैयाँ भएको उल्लेख छ ।
कांग्रेसले लेखा परीक्षण प्रतिवेदनमा आम्दानीको मुख्य स्रोतलाई चन्दा भनेको छ ।
त्यस अवधिमा कांग्रेसले चन्दास्वरुप एक करोड ७३ लाख ९४ हजार ४ सय ३९ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
उसले सदस्यता, लेबी र नवीकरण शुल्कबाट गत आर्थिक वर्षमा ५७ लाख ६० हजार ८ सय रुपैयाँ संकलन गरेको जनाएको छ । यो आर्थिक वर्षमा कांग्रेसले यही शीर्षकमा ७१ लाख ९८ हजार १६३ रुपैयाँ संकलन भएको उल्लेख गरेको छ ।
माओवादीको श्रोत पनि सदस्ता शुल्क
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र पनि लेखा परीक्षण प्रतिवेदनअनुसार आम्दानीको मुख्य स्रोतका रुपमा सदस्यता वितरण, लेबी र नवीकरण शुल्कलाई भनेको छ ।
गत आर्थिक वर्षमा माओवादीले एक करोड ८६ लाख ५२ हजार आम्दानी गरेको । तर त्यही अवधिमा माओवादीले खर्च भने दुई करोड २० लाख ७९ हजार गरेको छ ।
माओवादीले सदस्यता वितवरण, लेबी र नवीकरणबाट एक करोड ८३ लाख ३९ हजार आम्दानी गरेको आयोगमा बुझाइएको विवरणमा उल्लेख छ ।
रास्वापाको श्रोत पनि सदस्यता वितरण
संसद्को चौथो ठूलो दलका रुपमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आम्दानीको श्रोतका रुपमा लेबी, सदस्यता र नवीकरण शुल्कलाई उल्लेख गरेको छ ।
तर स्वपा प्रमुख सत्तारुढ कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादी भन्दा ठूलो घाटामा छ । उसले आम्दानीभन्दा दोब्बर धेरै खर्च गरेको पाइएको छ ।
रास्वपाले आ.ब. २०८०/८१ मा तीन करोड ७९ लाख ५९ हजार ४ सय ८७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । त्यही अवधिमा उसको खर्च ६ करोड ५० लाख १७ हजार ७८ रहेको छ ।
रास्वपाले आफ्नो आम्दानीका रुपमा मुख्य स्रोत लेबी, सदस्यता र नवीकरण शुल्कलाई उल्लेख गरेको छ । रास्वपाले गत वर्ष यी तीन शीर्षकमा दुई करोड ६१ लाख ५० हजार २५८ रुपैयाँ आम्दानी भएको जनाएको छ ।
प्रतिक्रिया