पोखरा एयरपोर्ट काण्ड - टिप्पणी गर्न मान्दैनन् समितिका पदाधिकारी | Khabarhub Khabarhub

पोखरा एयरपोर्ट काण्ड – टिप्पणी गर्न मान्दैनन् समितिका पदाधिकारी

भन्छन्– अपूरो प्रतिवेदनबारे नबोलौँ



काठमाडौं– पोखरा विमानस्थलमा भ्रष्टाचार भएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएसँगै एउटा प्रतिवेदन सार्वजनिक भयो ।

संघीय संसदको सार्वजनिक लेखा समितिअन्तर्गत उपसमितिले तयार पारेको प्रतिवेदनले विमानस्थलमा आर्थिक र प्राविधिक रूपमा भ्रष्टाचार भएको औँल्याएको छ ।

सम्भाव्यता अध्ययनदेखि ठेक्का प्रक्रिया हुँदै निर्माण कार्यसम्म भ्रष्टाचार भएको भनिएको छ । हवाइ उडानको सुरक्षामा समेत प्रश्न उठाएको छ । विमानस्थल सुरक्षित छैन भन्ने प्रतिवेदनमा निष्कर्ष प्रस्तुत गरिएको छ ।

‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा अनुगमन प्रतिवेदन, २०८१’ नाम दिइएको प्रतिवेदनमा १० जनै सदस्यको हस्ताक्षर भने देखिँदैन ।

सांसद राजेन्द्र लिङ्देन, अर्जुननरसिंह केसी, अमनलाल मोदी, जनार्दन शर्मा र प्रेमबहादुर आलेले प्रतिवेदनमा हस्ताक्षर गरेका छन् ।

बाँकी पाँच सदस्य गोकुल बास्कोटा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमल्सेना र रामकृष्ण यादवले भने प्रतिवेदनमा हस्ताक्षर गरेका छैनन् ।

परीक्षण नगरी प्राविधिक भ्रष्टाचार भन्न मिल्छ ?

विमानस्थललाई विश्वव्यापी रूपमा संवेदनशील र अत्यावश्यक सेवा क्षेत्रका रूपमा लिने गरिन्छ । विमानस्थल निर्माणकै क्रममा नियतवश प्राविधिक गडबढी भयो भने विमान उडान तथा अवतरणका क्रममा दुर्घटना जोखिम हुन्छ ।

अनौपचारिक रूपमा प्रस्तुत प्रतिवेदनले पोखरा विमानस्थलमा प्राविधिक रूपले हुनुपर्ने काम नभएको निष्कर्ष निकालेको छ । प्रतिवेदनले मुख्यतः दुई विषय उठाएको छ ।

१. धावनमार्गको माटो परीक्षणको प्रतिवेदन पर्याप्त समय नदिई सम्पन्न गरिएको ।
२. जमिनको प्राकृतिक उचाइभन्दा रन–वे गहिरो हुने गरी निर्माण गरिएको ।

प्रतिवेदनले औँल्याएका यी दुई विषयले पोखरा विमानस्थल उडानका लागि सुरक्षित छैन भन्ने देखाउँछ, जुन निकै गम्भीर विषय हो ।

समितिको प्रतिवेदनको पहिलो बुँदामा ‘विमानस्थलको धावन मार्गको माटो परीक्षणको प्रतिवेदन पर्याप्त समय नदिई सम्पन्न गरिएको’ भनिएको छ । यसले विमानस्थलको सबैभन्दा महत्वपूर्ण मानिने धावनमार्गकै गुणस्तरमाथि प्रश्न उठाउँछ ।

प्रतिवेदनमा माटो परीक्षणको विषयमा कुनै अन्य तथ्याङ्क प्रस्तुत छैन । कुनै तथ्याङ्क र परीक्षणबिना गैह्रप्राविधिक समूहले प्रतिवेदनमा धावनमार्ग असुरक्षित छ भन्ने भाष्य खडा गरेको देखिन्छ ।

त्यस्तै प्रतिवेदनमा हवाइ सुरक्षासँग प्रत्यक्ष जोडिने धावन मार्गको उचाइको सवाललाई उठाएको छ ।

‘अमेरिकी टोपोग्राफिक नक्साको रियल टाइम डाटाअनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्तावित रन–वेको पश्चिम (सेक्सन–१२) तर्फको राइट रन–वे स्ट्रिपको बाउण्ड्रीस्थल २६७७ फिट र ब्रासल्ट प्याडको पश्चिमतर्फको बाउण्ड्री २६७४ फिट उचाइमा रहेको प्राकृतिक नक्साबाट देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘उक्त स्थानको प्राकृतिक भौगोलिक बनावटको उचाइ वा सोभन्दा कम नहुने गरी रन–वेको डिजाइन गर्नुपर्नेमा रन–वे १२ तर्फको कन्क्रिट एरिया २६३५.७६ फिटको उचाइमा डिजाइन गरेको छ । निर्माण कार्य गर्दा उक्त स्थानको उचाइ २६५४ फिटबाट सुरु गरेको छ । जसको कारण जमिनको प्राकृतिक उचाइभन्दा २० फिट गहिरो हुने गरी रन–वे निर्माण गरेको छ ।’

प्रतिवेदनमा उठाइएको यो प्राविधिक सवालमा अमेरिकी टोपोग्राफिक नक्साको डाटाअनुसार विमानस्थलको प्राकृतिक अवस्थाको तथ्य प्रस्तुत गरिएको छ । प्राकृतिक उचाइभन्दा रन–वेको उचाइ कम हुन नहुने पनि भनिएको छ ।

तर, कति गहिरो वा उचाइ हुने भन्ने प्राविधिक तथ्य र आधार प्रस्तुत गरिएको छैन । अर्थात् रन–वेको उचाइसम्बन्धी वैज्ञानिक मापदण्ड प्रस्तुत गरिएको छैन ।

यसरी प्रतिवेदनमा प्रस्तुत गरिएको दोस्रो सवालले पनि विमानस्थलको सुरक्षाबारे आम मानिसमा आशङ्का पैदा गर्छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०७९ पुस १७ गते विमानस्थलको उद्घाटन गरेका थिए । विमानस्थलबाट प्रशस्त व्यावसायिक उडान हुन सकेन । यद्यपि उद्घाटन समयदेखि अहिलेसम्म ठूलो सङ्ख्यामा आन्तरिक र बाह्य उडान भएका छन् ।

कुनै पनि उडान पक्षले आधिकारिक रूपमा पोखरा विमानस्थलको रन–वेको अवस्थितिमा प्रश्न उठाएको पाइँदैन ।

प्रतिवेदनका प्राविधिक सवालमा के भन्छ क्यान ?

क्यानका अनुसार पोखरा विमानस्थलले अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरिसकेको छ । प्रमाणपत्रलाई अन्तरराष्ट्रिय नागरिक उड्ययन सङ्गठन (आइकाओ) ले स्वीकृत गरेको छ ।

विमानस्थलले सन् २०२२ मा ‘एयरक्राफ्ट अपरेसन डिपार्टमेन्ट फ्लाइट इन्स्पेक्सन सर्भिस ब्यूरो एरोनोटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेड’बाट फ्लाइट इन्स्पेक्सन रिपोर्ट प्राप्त गरेको छ ।

क्यानका अधिकारीले विमानस्थलको भौतिक पक्षको विषयमा जतिबेला पनि प्राविधिक रूपमा अध्ययन तथा परीक्षण गर्न सकिने अवस्था रहेको प्रतिवेदनमा उल्लेख छ ।

के भन्छन् लेखा समितिका पदाधिकारी ?

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले पोखरा विमानस्थलको अध्ययन प्रतिवेदनको आधिकारिकताका बारे जानकारी नभएको बताएका छन् ।

खबरहबलाई प्रतिक्रिया दिँदै उनले विमानस्थलको अध्ययनका लागि उपसमिति बनाइएको बताए । तर, अध्ययनपश्चात् आधिकारिक प्रतिवेदन समितिलाई प्राप्त नभएको उनको भनाइ छ ।

सभापति पोखरेलले आफूले सञ्चारमाध्यमबाटै विषयबारे जानकारी प्राप्त गरेको बताए । यसमा कुनै टिप्पणी गर्न नसक्ने उनको भनाइ छ ।

अध्ययन उपसमितिका संयोजक राप्रपा अध्यक्ष लिङ्देनले बाहिरिएको प्रतिवेदन पूर्णप्रतिवेदन नभएको प्रतिक्रिया दिए ।

अध्ययनका क्रममा धेरै सदस्य सहभागी भएको र सबैलाई बाँडिएकाले कुनै पक्षबाट प्रतिवेदन बाहिरिएको हुनसक्ने लिङ्देनले बताए । उनले पूर्णप्रतिवेदन आएपछि प्रतिक्रिया दिन सक्ने बताए ।

‘अहिले प्रतिवेदन अध्ययनकै क्रममा छ, पूर्णप्रतिवेदन नआइकन टिप्पणी नगरौँ’, अध्यक्ष लिङ्देनले भने, ‘अध्ययनको क्रममा धेरै सदस्यलाई बाँडिएको थियो, कतैबाट बाहिरिन सक्छ ।’

हेर्नुहोस् स्थलगत अध्ययन समितिको रिपोर्ट :

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४१ बजे

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि

प्रहरीले भन्यो : तीनकुने घटनामा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउ बारेको समाचारमा सत्यता छैन्

काठमाडौं – नेपाल प्रहरीले विभिन्न सञ्चार माध्यममा प्रकाशित तीनकुने घटनामा

‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’

लुम्बिनी – बौद्धदर्शन र शिक्षाको प्रसारमा ऐतिहासिक योगदान पुर्‍याउने व्यक्तिहरूको