‘भारतविरोधी राष्ट्रवाद’लाई धक्का, ज्ञानेन्द्र र ओलीमा विचलन ! | Khabarhub Khabarhub

दक्षिण दाहिना

‘भारतविरोधी राष्ट्रवाद’लाई धक्का, ज्ञानेन्द्र र ओलीमा विचलन !

दक्षिणलाई रिझाएर सत्ताभोग गर्ने रहर


१४ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भनिन्छ, राष्ट्रियताका सन्दर्भमा नेपाली जनताको मूल चरित्र ‘एन्टी इन्डियन सेन्टिमेन्ट’ अर्थात्‌ भारत विरोधी भावना हो । यही कारणले गर्दा कुनै पनि सरकार, नेता वा राजनीतिक दलहरूलाई ‘राष्ट्रवादी’ धारमा उभिँदा बहुसंख्यक जनताको साथ पाउन सजिलो छ ।

पञ्चायती व्यवस्था त्यही ‘राष्ट्रवाद’को नारामा टिक्यो । राजा महेन्द्र ‘राष्ट्रवादी’ धारका अगुवा बनेर लोकप्रिय भए । नेकपा (एमाले)का नेता केपी शर्मा ओली पनि लोकप्रिय हुनुको मुख्य कारण त्यही थियो कि उनी नाकाबन्दीका बेला ‘राष्ट्रवादी’ धारमा उभिए ।

तर, यतिबेला नेपालको ‘राष्ट्रवादी’ शक्ति आफ्नो पुरानो मान्यताबाट स्खलित हुन थालेको छ । नेपालका गणतन्त्रवादी हुन् या राजावादी ! दुबै शक्ति देशको आन्तरिक मामिलामा परम्परागत हस्तक्षेपकारी दक्षिणी छिमेकी भारतको साथ र समर्थन खोजिरहेका छन् ।

यतिसम्म कि, ‘राजावादीहरू राष्ट्रवादी हुन्छन्’ भन्ने मान्यतालाई समेत पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले भत्काइदिएका छन् । राजावादीको जुलुसमा भारतका मुख्यमन्त्रीको तस्बिर देखिनु यसैको उदाहरण हो ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्कँदा स्वागतमा निकालिएको र्‍यालीमा प्रयोग भएको भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर । २५ फागुन २०८१

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली भारतको साथ र सहयोग लिएर आफ्नो नेतृत्वको सरकारलाई टिकाउन चाहिरहेको विपक्षीको आरोप छ । शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाहले पनि भारतकै ‘दया–माया’ बाट गणतन्त्र ढालेर राजसंस्था ब्यूँताउन खोजिरहेको गणतन्त्रवादीहरूको आरोप छ ।

चौथोपटक शासनसत्ता सम्हालेसँगै नेकपा (एमाले)का अध्यक्ष ओली भारतको साथ–समर्थन प्राप्तिका लागि प्रयासरत छन्, एक सार्वभौम मुलुकका कार्यकारी प्रमुखका हकमा जो स्वाभाविक होइन । पूर्वराजा ज्ञानेन्द्र लामो समयदेखि भारतीय संस्थापन पक्षको ‘बल’मा राजसंस्था पुनःस्थापनाका लागि जोडबल गरिरहेका छन् ।

भारतको औपचारिक भ्रमणका लागि लालायित प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच गत चैत २२ मा छैटौँ बिम्स्टेक शिखर सम्मेलनका क्रममा भेटवार्ता भएको थियो । थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्किने क्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग आफ्नो अत्यन्तै राम्रो र सुमधुर वातावरणमा हार्दिकताका साथ भेटवार्ता भएको दाबी गरेका थिए ।

ओलीका अनुसार दुई नेताबीच बिम्स्टेक शिखर सम्मेलनको साइडलाइनमा भएको भेटवार्ता (चैत २२)मा द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विषयमा छलफल भएको थियो । तर, भारतीय प्रधानमन्त्री मोदीले उनलाई भ्रमणका लागि औपचारिक निमन्त्रण भने गरेनन् ।

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षीले भ्रमणको औपचारिक आमन्त्रण त गरेनन्, गरेनन् । नेपालमा आयोजना हुन लागेको सगरमाथा संवादमा समेत सहभागी हुन नसक्ने जवाफ नै दिन भ्याए । तथापि, प्रधानमन्त्री ओलीले समकक्षी मोदीको यसअघि नै युरोप भ्रमणको कार्यक्रम तय भइसकेकाले सगरमाथा संवादमा सहभागी हुन असमर्थता देखिएको प्रतिक्रिया दिए ।

भ्रमणको निमन्त्रणा नपाउनु र मोदी सगरमाथा संवादमा सहभागी नहुनुलाई कांग्रेस–एमाले गठबन्धनको सरकारप्रति भारत अझै सकारात्मक नभएको विश्लेषण कतिपयको छ । तर, प्रधानमन्त्री ओली भने दक्षिणी छिमेकी भारतसँग सम्बन्ध नबिग्रिएको दाबी गर्छन् ।

गत चैत २६ मा मधेस प्रदेशसभाको बैठक सम्बोधनका क्रममा उनले भारतसँग नेपालको सम्बन्ध नबिग्रिएको दाबी गरे । ‘छिमेकीसँग सम्बन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ । यो सत्य होइन,’ प्रधनमन्त्री ओलीको भनाइ थियो, ‘सँगै सुतेकाहरूबीच खुट्टा तलमाथि हुनु स्वाभाविक हो । संवादबाट समस्याको हल गर्ने कोसिस गर्नुपर्छ ।’

नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकार गठन भएपछि चिढिएको भारतले नौ महिना बितिसक्दा पनि प्रधानमन्त्री ओलीलाई भ्रमणका लागि औपचारिक आमन्त्रण गरेको छैन । चौथो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालेको एक महिना नबित्दै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा दिएका थिए ।

उनले शिष्टाचार भेटका लागि आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत् गत साउन २७ गते समकक्षी मोदीलाई भ्रमणको निमन्त्रण दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई निम्तो गर्ने प्रयोजनसहित परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नयाँ दिल्ली पठाएका थिए ।

गत भदौ २ गते आफ्नो पहिलो विदेश भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री राणालाई नयाँ दिल्लीमा अभूतपूर्व स्वागत गरिएको थियो । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा मन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर मोदीले नेपालको निम्तो स्वीकार गरेको बताएकी थिइन् ।

त्यसको एक महिनापछि गत असोज पहिलो साता पनि मन्त्री राणाले अमेरिकामा भएको ओली–मोदी भेटवार्ताबारे जानकारी दिँदै कान्तिपुरसँग भनेकी थिइन्, ‘मोदीजी छिट्टै नेपाल भ्रमण गर्छु भन्नुभएको छ । साथै, द्विपक्षीय संयन्त्रहरूलाई सक्रिय बनाएर तमाम समस्या समाधान गर्ने सहमति पनि बैठक दौरान भएको छ ।’

तर, संघीय संसद्का दुई ठूला दल मिलेर शक्तिशाली सरकार बनेको सय दिन पूरा हुँदा पनि न मोदी नेपाल भ्रमणमा आए, न त उनले ओलीलाई नै आमन्त्रण गरे । प्रधानमन्त्री ओलीले पनि सत्ता सम्हालेलगत्तै निम्तो दिने परम्परा नयाँ दिल्लीले तोडिदिएपछि गत मंसिर १७ देखि २० गतेसम्म उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण गरे ।

भ्रमणका क्रममा नेपाली दूतावासले आयोजना गरेको ‘रिसेप्सन’मा प्रधानमन्त्री ओलीले चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएको अभिव्यक्ति सार्वजनिक गरे । चीन भ्रमणका क्रममा नेपालले गरेको सम्झौताका कारण भारत कांग्रेस–एमालेको नेतृत्व र दुई दलको नेतृत्वमा रहेको शक्तिशाली सरकारसँग थप चिढिन पुग्यो ।

जसका कारण प्रधानमन्त्री ओलीको भ्रमणको चाँजोपाँजो मिलाउन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री राणा र पूर्व परराष्ट्रमन्त्री रहिसकेका एमाले उपमहासचिव प्रदीप ज्ञवाली निराशासहित स्वदेश फर्किन बाध्य भएका थिए ।

छुट्टाछुट्टै गएका राणा र ज्ञवालीले भारत सरकारका आधिकारिक प्रतिनिधिसँग प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल पनि गर्न सकेनन् ।

परराष्ट्रमन्त्री राणा जर्मनी हुँदै गत पुस ४ गते र एमाले नेता ज्ञवाली काठमाडौंबाट पुस ५ गते नयाँ दिल्ली पुगेका थिए । दुवै जनाको भित्री उद्देश्य दुई मुलुकबीच चिसिएको सम्बन्ध सुधारेर ओलीलाई भारत भ्रमणमा पठाउनु थियो । भेटका लागि प्रयास गरे पनि भारतीय पक्षले नमानेपछि उनीहरू रित्तो हात स्वदेश फर्किनुपरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र–योगी आदित्यनाथ ‘कनेक्सन’

शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह फेरि तेस्रोपल्ट शासन सत्तामा फर्किन लालायित भएर आफ्ना समर्थकहरूलाई सडकमा उतारिरहेका छन् । उनी लामो समयदेखि राजसंस्थाको पुन:स्थापनाको एजेन्डा बाक्दै आएका पूर्वपञ्चको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी समूहको काँधमा टेकेर नाराणहिटी फर्किने ध्याउन्नमा देखिन्छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई शाही सिंहासनमा फर्किनका लागि सबैभन्दा ठूलो आश छिमेकी मुलुक भारतको संस्थापन पक्षसँग रहेको अनुमानले बेला–बखत चर्चा पाइरहन्छ । जसका लागि उनी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सबैभन्दा बढी आशावादी देखिन्छन् । योगीले नेपालमा राजतन्त्र फर्कनुपर्ने मत राख्दै आएछन् ।

पूर्वराजा ज्ञानेन्द्र सत्ताच्यूत भएको आठ वर्षपछि योगी आदित्यनाथसँग पहिलोपल्ट एउटै मञ्चमा देखिएका थिए । उक्त अवसर जुराइदिएको थियो, पाशुपत क्षेत्रमा पर्ने वनकालीमा आयोजित ‘विराट हिन्दु सम्मेलन’ले । ०७३ कार्तिक (४–६)मा आयोजित ‘विराट विश्व हिन्दु सम्मेलन’मा पूर्वराजा ज्ञानेन्द्र र उत्तर प्रदेशका योगी आदित्यनाथ एउटै मञ्चमा देखिएका थिए ।

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ ।

बीबीसी नेपाली सेवामा प्रकाशित समाचारअनुसार सम्मेलनमा आदित्यनाथले राजतन्त पुनःस्थापना पक्षधरलाई हौस्याउँदै भनेका थिए, ‘आखिर अढाई करोड जनतासँग जोडिएको नेपाल, जुन नेपालका राजालाई सनातन हिन्दु राजाको रूपमा मान्यता प्राप्त छ । कतिपय तीर्थस्थलमा शंकराचार्य र हिन्दु राजामात्रै जान पाउने अवसरबाट नेपाललाई किन बञ्चित गरियो ?’

उत्तर प्रदेशको मुख्यमन्त्री हुनुअघि लोकसभा सांसदको हैसियतमा यसअघि पनि योगीले पूर्वराजा ज्ञानेन्द्रसँग पटक–पटक भेट गरिसकेका थिए । मुख्यमन्त्रीको हैसियतमा पहिलोपल्ट मञ्च शेयर गरेको योगी आदित्यनाथले पूर्वराजासँग छुट्टै पनि छलफल गरेका थिए ।

त्यसको एक वर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र र योगी आदित्यनाथले मञ्च शेयर गरेका थिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ र पूर्वराजा ज्ञानेन्द्रबीच त्यसपछि ०७४ पुसमा भेटवार्ता भएको थियो । उत्तर प्रदेशको राजधानी लखनऊमा भएको भेटवार्ताको तस्बिर योगी आदित्यनाथ आफैँले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मार्फत् सार्वजनिक गरेका थिए ।

भेटवार्तामा भएको छलफलको विषयमा केही जानकारी नदिए पनि उनले पूर्वराजा ज्ञानेन्द्रलाई अंगवस्त्र र कुम्भको लोगो उपहार दिएको बताएका थिए । त्यो बेला पूर्वराजा ज्ञानेन्द्र पश्चिम नेपालको भ्रमण गरेर बाँकेको नेपालगञ्ज हुँदै स्थलमार्ग प्रयोग गरेर लखनऊ पुगेका थिए ।

मुख्यमन्त्री योगी आदित्यनाथसँग लखनऊमा भएको भेटवार्ताको तीन वर्षपछि पूर्वराजा ज्ञानेन्द्रलाई भारतको धार्मिक सहर हरिद्वारमा ‘बहालवाला राजा’कै हैसियतमा भारतीय पक्षले आमन्त्रण गरेको थियो । ०७७ चैत ३० का लागि उनलाई हरिद्वारमा आयोजित महाकुम्भमा विशिष्ट अतिथिका रूपमा आमन्त्रण पठाइएको थियो ।

स्वामी कैलाशानन्द गिरीले ०७७ चैत १० मा पठाएको आमन्त्रणपत्रमा ‘बहालवाला राजा’कै हैसियतले ‘नेपाल नरेश’ भनेर सम्बोधन गरिएको थियो । उनलाई महाकुम्भको शाही स्नानमा सहभागी हुन गिरीले आग्रह गरेका थिए ।

‘तपाईं श्रीमान हिन्दु सम्राट एवम् हिन्दु राजा भएका कारणले मेरो प्रबल इच्छा छ कि दिनाङ्क १२.०४.२०२१ मा हुने शाही स्नानमा तपाईं सहभागी भएर गंगामा स्नान गरेर भारतवर्षका ऋषि मनिषिबाट आशिर्वाद ग्रहण गरी आफ्नो राज्यको कुशलताका लागि आशिष प्राप्त गर्नू, किनकी राजा स्वयम् देवस्वरुप हुन्छन् र तपाईंमाथि देवाधिदेव महादेव पशुपतिनाथ भगवानको अपार कृपा छ,’ आमन्त्रण पत्रमा भनिएको थियो ।

‘बहालवाला राजा’को हैसियतमा हरिद्वारको महाकुम्भको शाही स्थानमा सहभागी भएका पूर्वराजा ज्ञानेन्द्र ०८० को सुरुवातमै फेरि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट्न लखनऊ गएका थिए । दोस्रोपल्ट पश्चिम नेपालको भ्रमणबाट नै उनी ०८० वैशाख २२ गते नेपालगञ्ज हुँदै (रूपैडिया नाका)बाट लखनऊ पुगेका थिए ।

तत्कालीन समयमा पूर्वराजाको संवाद सचिवालयले वक्तव्य निकालेर योगी आदित्यनाथसँग भेट भएको पुष्टि गरेको थियो ।

‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवसँग आज अपराह्न भारतको उत्तर प्रदेशराज्यका मुख्यमन्त्री योगी आदित्यनाथले दर्शन भेट गर्नुभयो,’ संवाद सचिव डा. फणिराज पाठकले ०८० वैशाख २७ मा जारी गरेको वक्तव्यमा लेखिएको थियो, ‘राजपरिवारका सदस्यहरू समेत सम्मिलित उत्तर प्रदेशको लखनऊमा भएको सो भेटघाट सौहार्दपूर्ण वातावरणमा भएको व्यहोरा जानकारी गराइन्छ ।’

पूर्वराजा ज्ञानेन्द्रले योगीसँग दोस्रोपल्ट (लखनऊमा) भएको भेटको झण्डै डेढ वर्षपछि भुटानको भ्रमण गरेका थिए । ०८१ असोज तेस्रो साता (१७–२०) पूर्वराजा शाहले गरेको भुटान भ्रमणलाई पनि शासन सत्तामा फर्किन गरिएको पहलकै रूपमा लिइएको थियो ।

सतही रूपमा उनी भुटानी नरेश जिग्मे केशर वाङ्चुक निमन्त्रणामा गएको देखिए पनि भित्री रूपमा चार दिने भुटान भ्रमण भारतीय रुचि र चासोमा भएको कतिपयको अनुमान थियो ।

नयाँ दिल्लीको ‘ग्रीन सिग्नल’ बिना पूर्वराजा ज्ञानेन्द्रको भुटान भ्रमण नभएको दाबी केहीको थियो । उक्त भेट भुटानको राजपरिवार र नेपालको पूर्व-राजपरिवारबीचको पारिवारिक भेटमा मात्रै सीमित नरहेको चर्चा चलेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र लामो समयदेखि सम्पर्कमा रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरलाई राजावादीहरूले केही समयअघि प्रयोग गरेका थिए ।

राजसंस्था पुनःस्थापनाका लागि प्रयास गरिरहेका राजावादीहरूले गत माघ २७ गते पोखराबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि आयोजना गरेको र्‍यालीमा योगीको तस्बिर बोकेका थिए ।

उक्त तस्बिरलाई लिएर प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रश्न उठाएका थिए । तर, गत फागुन २५ गते सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले भने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई उद्धृत गर्दै योगी आदित्यनाथ गणतन्त्रको पक्षमा रहेका दाबी गरेका थिए ।

‘आदित्यनाथको फोटो पनि छापियो यहाँ । तर, मलाई के थाहा छ भने आदित्यजीले जो हाम्रो भारतमा दूतावास छ, दूतावासमा गएर झुटा कुरा हो, मेरो कुनै हात छैन । नेपालका जनताले जे चाहन्छन् त्यही हुन्छ,’ गणेशमान फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा देउवाले भने, ‘म राजा ल्याउने पक्षमा छैन भनेर आफैँले दिल्ली दूतावासमा गएर भन्नुभएको हुनाले हामीलाई के लागेको छ भने भारत नेपालसित छ । गणतन्त्रसित छ । प्रजातन्त्रसित छ ।’

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  २ : ०९ बजे

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको

आन्दोलन शिक्षकहरूको रहर होइन : पूर्व मुख्यमन्त्री राई

काठमाडौं – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले शिक्षकका जायज

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि