भुइँचालो गएकै दिन सुरू भएको संसद् अधिवेशनको ‘परकम्प’ : सत्ता पक्ष र विपक्षीबीच सुरूमै ‘तितोपिरो’ | Khabarhub Khabarhub

भुइँचालो गएकै दिन सुरू भएको संसद् अधिवेशनको ‘परकम्प’ : सत्ता पक्ष र विपक्षीबीच सुरूमै ‘तितोपिरो’



काठमाडौँ– सरकारले संसद्को बर्खे अधिवेशन (बजेट अधिवेशन) वैशाख १२ देखि सुरु गरेको छ ।

अधिवेशनको पहिलो दिन शीर्ष नेता तथा प्रधानमन्त्रीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि हुन सकेन ।

कुनै पनि अधिवेशन सुरु भएको दिन सामान्यतया शीर्ष नेताबाट सम्बोधन हुने गर्छ तर सुरुकै दिन प्रमुख दलका शीर्ष नेता सदनमा उपस्थित भएनन् ।

बुधबार सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र सबै दलका प्रमुख सचेतक र सचेतक बसेर १२ गतेको बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने सहमति गरेका थिए ।

सामान्यतया संसद्को अधिवेशन सरकारले बोलाउने हो । यो दिन अधिवेशन बोलाउने निर्णय २ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

सरकारको निर्णयपछि वैशाख ३ गते संसदका महासचिव पद्मप्रसाद पाण्डेले विज्ञप्ति जारी गरेर १२ गते अधिवेशन सुरु हुने जानकारी गराएका थिए ।

बैठकबारे वैशाख १ गते नै सभामुख घिमिरे र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल चलेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारी बताउँछन् ।

‘सरकारले सभामुखसँग छलफल गरेरै बैठक बोलाएको हो,’ अधिकारीले खबरहबलाई भने, ‘शिक्षकहरू सडक आन्दोलनमा भएकाले पनि गत वर्षभन्दा छिटो बैठक बोलाउनुपरेको हो ।’

तर १३ गते सरकारले बोलाएकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भयो ।

शुक्रबारको बैठकमा विपक्षी दल माओवादी केन्द्रका नेता पूष्पकमल दाहाल प्रचण्ड उपस्थित नभएको र कांग्रेस सभापति शेरबहादुर देउवा पनि विदेश भ्रमणमा रहेका कारण स्थगित भएको सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौला बताउँछन् ।

यता बुधबारकै बैठकमा प्रचण्ड गोरखा २ को आफ्नो निर्वाचन क्षेत्रमा जाने जानकारी गराएको प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतक हितराज पाण्डे बताउँछन् । त्यतिञ्जेलसम्म प्रधानमन्त्रीले गर्ने सम्बोधनबारे आफूलाई जानकारी समेत नभएको उनको गुनासो छ ।

पाण्डेले बुधबार सभामुखलाई समेत भेटेर प्रचण्ड १२ गतेको बैठकमा उपस्थित नहुने कारण खुलाएको बताउँछन् ।

०७२ वैशाख १२ मा नेपालमा महाभूकम्प गएको थियो । शुक्रबार १० औं भूकम्प दिवसकै दिन संसद अधिवेशन डाकिएको थियो । उक्त दिन प्रचण्ड गोरखाको बारपाक पुगेकाले संसद्मा‍ उपस्थित भएनन् । गोरखा २ प्रचण्डको निर्वाचन क्षेत्र हो र बारपाक पनि त्यही क्षेत्रमा पर्छ ।

यता कांग्रेस सभापति देउवा उपचारका लागि भन्दै थाइल्यान्ड पुगेका थिए । उनीसहित पत्नी परराष्ट्रमन्त्री आरजु राणा र छोरा बुहारी पनि थाइल्यान्डको भ्रमण सकेर शुक्रबार नै काठमाडौं आइपुगेका छन् ।

बिरामी भनिएका देउवा करिब १ः ३० बजे त्रिभुवन विमानस्थल ओर्लिएका थिए । संसद बैठक दिउँसो १ बजे सुरु भएको थियो ।

सरकारले नै बैठक बोलाएर किन प्रधानमन्त्रीको सम्बोधन रोकियो ? प्रधानमन्त्रीले सम्बोधन गर्ने दिन किन प्रचण्ड गोरखा गए ? सभापति देउवा किन शुक्रबारमात्र विदेशबाट फर्किए र सदन गएनन् ? सरकारले १२ गते नै किन बैठक राख्नुपरेको लगायतका प्रश्न उठिरहेका छन् ।

यसबारे सरकारका मन्त्री, तीन दलका नेता र सभामुखको सचिवालयको जवाफ जस्ताको जस्तै ।



विधायकी काम गर्न छिटो सदन बोलाएको हो : बद्रीप्रसाद पाण्डे मन्त्री, पर्यटन

१२ गते सबैको सहमतिमै बैठक बोलाइएको हो । शिक्षको माग पूरा गर्नुपर्ने थियो र, छ । अन्य विधायकी काम पनि छन् । भूकम्पबारे जानकारी भएपनि हामीले छिटो प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने अवस्था थियो । संसद्को बैठक र भूकम्प दिवसको के अन्तरसम्बन्ध भयो र ? बरु हामीले त भूकम्पबाट क्षति भएका संरचना पुनःनिर्माण भए/ नभएको, पीडितले क्षतिपूर्ति पाए/ नपाएको हेर्ने हो नि ।

सरकार र सभामुखबीच परामर्श भएको थियो : सभामुख सचिवालय

सभामुखसँग छलफल भएरै १२ गते बैठक बोलाइएको हो । यो पटक संसद् पहिलाभन्दा चाँडो बोलाइएको छ । सरकारले छलफल गर्दा सभामुखले हाउसको कन्डिसन राम्रो छ भन्नुभएको थियो । हामीलाई जानकारी भएअनुसार प्रधानमन्त्री बोल्दा विपक्षी दलका नेता उपस्थित हुने र विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ ।

सदन बोलाउने जानकारीबारे संसद् सचिवालयले ३ गते नै पत्र पठाएको थियो । प्रधानमन्त्री र सभामुखबीच १ गते नै सदन बोलाउने छलफल भएको थियो ।

हाउस चल्न साइत हेरिँदैन : महेश बर्तौला, एमाले प्रमुख सचेतक

‘कतिपय प्रश्नको उत्तर नहुने रहेछ । हाउस चलाउन औँसी, पूर्णिमा एकादशी हेर्ने कुरा भएन । साइत हेरिँदैन । संसद् बैठक सबैभन्दा ठूलो कुरा हो । सरकारले संसदीय जिम्मेवारी पूरा गरेको छ । सरकारले बैठक आह्वान गरेको हो । भूकम्प दिवस भनेर को उपस्थित भएन, को विदेश जान्छ भनेर रोकिने कुरा थिएन । एकातिर सडकमा शिक्षकहरूले सदन नै सुरु नभएको कुरा उठाउनुभएको थियो । सरकारलाई पनि प्रेसर भयो ।’

आफैँ बैठक बोलाएर प्रधानमन्त्रीको सम्बोधन किन क्यानसिल भयो ? भन्ने प्रश्नमा बर्तौला भन्छन्, ‘बैठकमा सबै नेता उपस्थित भएर बोल्ने सहमति थियो । बुधबार नै प्रमुख सचेतकहरूको बैठकमा सभामुखले आह्वान गर्नुभएको हो । त्यही हिसाबले सबैलाई सजिलो हुन्छ भनेर १ बजे बैठक राखिएको हो ।’

उनले को कहाँ हुन्छ भन्ने कुरा नहेरिने बताए । ‘विपक्षीले आलोचना गर्ने मेलो बनेको छ । सभामुखले आग्रह गर्दा सबै हुनुन्थ्यो’, उनले भने, ‘। ’सभामुखले भनेपछि प्रधानमन्त्रीले तयारी गर्नुभएको थियो, अरू नेता किन आउनुभएन उहाँहरू नै जान्नुहुन्छ । प्रमुख प्रतिपक्षी दलको नेता प्रधानमन्त्रीले बोल्दा उपस्थित हुनुपर्ने थियो ।’

प्रचण्डले अस्ति बोल्छु भनेको दिन प्रधानमन्त्रीको कोशी प्रदेश सभाको कार्यक्रम पूर्वनिर्धारित रहेको उनले बताए । ‘थियो । ’२० दिनअगाडि नै तय भएको थियो । उहाँले बोल्छु भनेको दिन प्रधानमन्त्रीको कार्यक्रम रोक्ने स्थिति थिएन’, उनले भने, ’त्यो बेला उहाँले प्रमुख प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री आउनुभएन भनेर आलोचना गर्नुभयो । शुक्रबार प्रधानमन्त्री बोल्न हाउस जाँदा प्रमुख प्रतिपक्षी दलको नेता नभएपछि ब्याक भएको हो ।’

प्रधानमन्त्री बोल्दा विपक्षी दलको नेता नआएको भन्ने सन्देश जाने भएकैले सम्बोधन स्थगित गरेको उनले बताए । ‘अब उहाँ अर्कोदिन बोल्नुहुन्छ । संसद् चलिरहन्छ । हामीले शुक्रबारको बैठकलाई महत्त्व दिएर शीर्ष नेतालाई नै बैकठमा बोल्न दिएको हो’, उनले भने । त्यसदिन एमालेको तर्फबाट शुक्रबार पार्टी सचिव तथा सांसद गोकर्ण विष्टले बोलेका थिए ।



संयोग यस्तै भयो : श्याम घिमिरे, प्रमुख सचेतक, नेपाली कांग्रेस

संसद् बैठकबारे जानकारी हुँदाहुँदै पनि सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारको सिलसिलामा विदेश रहेको उनको भनाइ । ‘उहाँको स्वास्थ्य जाँच भएपछि आउने कुरा भयो । यसमा प्रमुख प्रतिपक्षी दलको नेताको पनि दोष छैन । किनकि बारपाक भूकम्पको १० वर्ष पूरा भएको दिन उहाँले आफ्नो निर्वाचन क्षेत्र जानु स्वाभाविक नै हो’, घिमिरेले भने ।

प्रधानमन्त्री पनि बोल्ने कार्यक्रम रोकिनु अन्यथा नभएको उनको तर्क छ । ‘किनकि कुनै शीर्ष नेता नभएपछि उहाँ बोल्नु पनि उचित हुँदैन । अब केही दिनमा नै उहाँहरू बोल्नुहुन्छ’, उनले भने, ‘१२ गते बैठक नगरौँ भनेर त कसैले भनेको जानकारी भएन । किनकि मन्त्रीपरिषद् बैठकबाट टुङ्ग्याइएको विषय हो ।’

अध्यक्षबारे बुधबार नै जानकारी गरायौँ : हितराज पाण्डे, प्रमुख सचेतक, माओवादी केन्द्र

उनका अनुसार शुक्रबार शीर्ष नेताले सम्बोधन गर्ने जानकारी थियो । ‘प्रधानमन्त्रीले बोल्ने जानकारी बिहीबार आयो । तर अध्यक्ष प्रचण्डले सदन बोलाउनुभन्दा पहिला नै गोरखाको बारपाक जाने कार्यक्रम तय थियो’, उनले भने, ‘भूकम्प गएको १० वर्षमा बारपाक जाने भनेर चैत अन्तिममा नै मिति तय भएको हो ।’

११ः५६ मिनेटमा नै त्यहाँ पुगेर मृतकप्रति श्रद्धाञ्जली गर्ने योजना बनेपछि पूरा गर्नुपर्ने चुनौती भएकाले अध्यक्ष बारपाक गएको उनले बताए ।

‘त्यसो हुँदा गोरखाबाट १ बजेको बैठक भ्याउनु भएन । मैले बुधबार बसेको बैठकमा यसबारे कुरा गरेको थिएँ । सभामुखलाई पनि बुधबार भेटेर भनेको पनि हो’, पाण्डेले भने, ‘हिजो मलाई सत्ता पक्षका सचेतक महेश बर्तौलाले फोनमा प्रधानमन्त्रीले बोल्ने कुरा जानकारी गराउनुभएको हो । मैले १ बजे बोलाएका कारण आउन सक्नुहुन्न भनेँ । हामीले जानकारी गराएको हो ।’

पाण्डेका अनुसार सरकार पक्षले थाहा नपाएर मात्रै त्यसो नगरेको बताए । ’पहिला हामीलाई सोधिएको थिएन, हिजो ढिला भएको थियो । अध्यक्ष ज्यू १० बजे शुक्रबार बिहान नै गोरखा जानुभएको हो । यो कुरा मैले महेशजीलाई भनेको थिएँ’, उनले भने, ‘तर अहिले किन प्रधानमन्त्री बोल्नु भएन त्यो उहाँहरूलाई नै जानकारी होला । मिडियामा उहाँहरूले लागेर प्रमुख प्रतिपक्षी दलको नेता नआउँदा रोकियो भन्नुभएछ, त्यो गलत छ ।’

प्रधानमन्त्री त प्रचण्ड बोल्दा पनि ओली नआएको उनले बताए । ’तर हामी बोलेका थियौँ । हामी उहाँहरूजस्तो प्रतिशोध साँध्ने नेता होइन । यो कारण बहाना हो’, उनले भने ।

वैशाख १२ मा भूकम्प गएको १० वर्ष पुगेको छ । आफ्नो निर्वाचन क्षेत्रमा १० वर्षमा भूकम्पबाट भएको क्षतिपछि पुनर्निर्माणको प्रगति हेर्न दाहाल गएका थिए । ‘उहाँको क्षेत्र पनि त्यही हो । मैले १० गते सभामुखलाई भनेको पनि थिएँ । अन्य शीर्ष नेता बोल्ने कुरा भएको थियो । कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुखले प्रधानमन्त्री बोल्ने कार्यक्रम क्यान्सिल भएको सूचना दिनुभयो’, उनले भने ।

अघिल्लो संसद् बैठकमा माओवादीको तर्फबाट पूर्वअर्थमन्त्री तथा पार्टी उपमहासचिव वर्षमान पुनले सम्बोधन गरेका थिए । यस्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ३ : ४३ बजे

राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

काठमाडौं – नेपाली कांग्रेसले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा दिएको

आन्दोलन शिक्षकहरूको रहर होइन : पूर्व मुख्यमन्त्री राई

काठमाडौं – कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईले शिक्षकका जायज

दिनभरि बाँदर र रातभरि हात्तीले हैरान छन् किसान

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–१, हजरियाका रमेश मैनालीको दिन बाँदर

सप्तरीमा भएको बस दुर्घटनामा तीन जनाको मृत्यु

सप्तरी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा आज

इरानको बन्दरगाहमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

तेहरान – इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि