काठमाडौं – नेपालको पुँजीबजारमा यतिबेला इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अर्थात् आईजीन नम्बर चर्चाको विषय बनेको छ ।
सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि आईजीन नम्बरलाई लिएर प्रायोजित सम्प्रेषण र टिकाटिप्पणी भइरहेको छ । लगानीकर्तादेखि प्रवर्धक र सरोकारवाला सबैले अहिले आईजीन नम्बरबारे चासो राख्न थालेका छन् ।
आईजीन नम्बरलाई जोडेर सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीन पन्दाक पनि चर्चामा छिन् । पन्दाक सीईओ बनेर सीडीएससी आएपछि नै आईजीन नम्बरको चर्चा बढेको हो ।
कुनै पब्लिक कम्पनीले जारी गर्ने प्रवर्धक (प्रमोटर) र साधारण (अर्डिनरी) शेयरमा आईजीन नम्बर एउटै हुने कि दुईवटा ? यही सवाललाई स्वार्थसमूहले गिजोलेका हुन् । सीडीएससीकी सीईओ पन्दाकको वैयक्तिक जीवनमाथि नै प्रहार गर्नेगरी उक्त समूहले ‘मिडिया क्याम्पेन’ नै चलाइरहेको छ ।
एउटा कम्पनीले जारी गर्ने दुई फरक प्रकृतिका शेयरलाई एउटै या दुईवटा आईजीन नम्बर दिने भन्नेबारे एकीन कानुनी प्रावधान नहुँदा स्वार्थसमूहले यसअघि सीडीएससीलाई आफूअनुकूल निर्णय गर्न लगाउने गरेका थिए ।
पछिल्लो समय सीडीएससीमै आईजीन नम्बरको विषय विचाराधीन छ । लकइन पिरिएड नसकिँदै आईजीन नम्बर दुरुपयोग गरी शेयर बेचेर संस्थापक शेयरधनी बाहिरिने र सर्वसाधारण लगानीकर्ता फस्ने प्रवृत्ति बढेपछि संसदीय समितिले नै निर्देशन दिएको छ । यही मामिला अदालतसम्म प्रवेश गरेको छ ।
लगानीकर्ता, कारोबारी, प्रवर्धक र पुँजीबजारका सरोकारवालाहरू आईजीन नम्बरलाई लिएर एकाएक तरङ्गित त बनेका छन् । तर, आईजीन नम्बरबारे धेरैले जानकारी राखेको देखिँदैन ।
आईजीन नम्बर के हो ?
इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) लाई छोटकरीमा ‘आईजीन नम्बर’ भन्ने गरिन्छ । कम्पनीलाई प्रदान गरिने १२ अङ्कको फरक खालको अक्षर र अङ्कको कोड नै आईजीन नम्बर हो ।
सामान्य भाषामा आईजीन नम्बर भनेको कम्प्युटरले चिन्ने कम्पनीको नाम हो । यो नाम देशअनुसार फरकफरक हुन्छ । नेपालमा राष्ट्रिय कोड ‘एनपी’ र कम्पनीको कोड हुन्छ ।

शेयर, बन्ड, ऋणपत्र र अन्य वित्तीय उपकरणहरूलाई विश्वव्यापी स्तरमा धितोपत्र हो भनी पहिचान गर्न आईजीन नम्बर प्रयोग गरिन्छ । यो नम्बरले विभिन्न बजार र देशहरूमा धितोपत्रहरूको सही पहिचान र कारोबार सुनिश्चित गर्न मद्दत गर्दछ ।
दोस्रो बजारमा सूचीकृत हुन आउँदा कम्पनीहरूलाई सीडीएससीले आईजीन नम्बर दिने गर्छ । दोस्रो बजारमा शेयर कारोबार हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कम्प्युटरले यही कोडलाई लिन्छ र उक्त कम्पनीको शेयर दोस्रो बजारमा किनबेच हुन्छ ।
नेपालको शेयर बजार विश्व बजारसँग जोडिएको छैन । भारत, जापान, चीन र अमेरिका जस्ता देशहरूको शेयरबजार विश्व बजारसँग जोडिएको छ । त्यस्ता देशहरूमा आईजीन नम्बरको महत्व झनै बढी हुने गर्छ ।
मानौँ – नेपालको दोस्रो बजारमा सूचीकृत बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) भारतीय कम्पनी हो । यो कम्पनी भारत र नेपालमा एउटै नामबाट चलेको छ । नेपालको दोस्रो बजारमा दर्ता हुँदा यो कम्पनीले फरक आईजीन नम्बर प्राप्त गरेको छ । तर, भारतमा अर्कै आईजीन नम्बरमा दर्ता भएको छ ।
यही कम्पनीले अमेरिकी शेयर बजारमा सूचीकृत हुँदा फरक आईजीन नम्बर पाएको हुन्छ । अर्थात्, कुनै एउटा कम्पनी जुन देशको दोस्रो बजारमा प्रवेश गर्छ, उसले त्यही मुलुकको नियामकबाट आईजीन नम्बर लिन्छ । सोही नमबरको आधारमा उक्त कम्पनीको धितोपत्र कारोबार हुन्छ ।
कम्पनी एउटै भए पनि आईजीन नम्बरकै आधारमा कहाँ सूचीकृत भएको हो भनेर छुट्टिने गर्छ । नेपालको शेयरबजार विश्व बजारसँग नजोडिए पनि इन्टरनेशनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन नम्बर) भने दिने गरिएको छ ।
नेपालको सन्दर्भमा धितोपत्रहरूको आईजीन नम्बर प्रदान गर्ने एउटा मात्र आधिकारिक निकाय सीडीएससी हो । सीडीएससीलाई धितोपत्रको आईजीन प्रदान गर्ने अधिकार एशोसिएसन अफ नेशनल नम्बरिङ एजेन्सीज् (एएनएनए) ले दिएको हो । सीडीएसले एएनएनएले सदस्यता लिएपछि धितोपत्रको आईजीन जारी गर्न थालेको हो ।
आईजीन नम्बर एउटा कि दुईवटा ?
अहिले चर्चामा रहेको विषय कुनै कम्पनीका दुई फरक प्रकृतिका शेयरलाई एउटै या फरक आईजीन नम्बर दिने भन्ने हो ।
सामान्यतयाः विश्व बजारमा एउटा कम्पनीलाई एउटामात्र आईजीन नम्बर दिने गरिएको छ । एउटै कम्पनीको आईजीन नम्बर देश अनुसार फरक पर्ने भए पनि जुन देशमा सूचीकृत भएको हो – त्यो देशमा भने एउटा मात्र आईजीन नम्बर दिने अभ्यास छ ।
तर, नेपालमा भने कुनै कम्पनीलाई एउटामात्रै त कुनैलाई दुईवटा आईजीन नम्बर दिने गरिएको छ । आईजीन नम्बरबारे प्रष्ट व्यवस्था नै छैन ।
‘धितोपत्र केन्द्रीय निक्षेप सेवा नियमावली २०६८ (संशोधन) मा बाहेक कतै पनि आईजीन नम्बरबारे व्यवस्था छैन । उक्त नियमावलीको अनुसूची – ३ को ८.१२ मा आईजीन नम्बरबारे उल्लेख छ ।
उक्त बुँदामा लेखिएको छ, ‘निष्काशनकर्ताले भण्डारमा अभौतिकीकरण रूपमा राखिएका प्रत्येक आईएसआइएन का मातहतका कूल धितोपत्रहरू तथा धितोपत्र बजारमा सूचीकृत धितोपत्रहरू भन्दा बढी नहुने र सूचीकृत धितोपत्रहरूको सम्बन्धमा भण्डारमा अभौतिकीकरण रूपमा राखेका प्रत्येक आईजीनको मातहतका कूल धितोपत्रहरूका साथसाथै भौतिक रूपमा राखिएको धितोपत्रहरू बाँडफाँड गरिएका रितपूर्वक जारी गरिएको धितोपत्रहरू भन्दा बढी हुनेछैन भन्ने कुरा निश्चित गर्ने । निष्काशनकर्ताले दैनिक रूपमा यस्तो रुजु गर्नेछन् ।’

तर, आईजीन नम्बर एउटा दिने कि दुईवटा भन्नेबारे नियमावली बोलेको छैन । अन्य कानूनी प्रबन्ध कतै नभएकाले सीडीएससीले एउटै कम्पनीको हकमा कुनैलाई एउटै त कुनैलाई दुईवटा आईजीन नम्बर दिने गरेको थियो ।
सीडीएससीले बैङ्क तथा वित्तीय संस्थाका हकमा सर्वसाधारण र प्रवर्धकका लागि फरक–फरक आईजीन नम्बर दिएको छ । तर, अन्य रियल सेक्टरका कम्पनीको हकमा भने कुनैलाई एउटा त कुनैलाई दुई वटा आईजीन नम्बर दिएको छ ।
हाइड्रोपावर समूहको इमर्जिङ नेपाल लिमिटेडलाई सीडीएससीले दुईवटा आईजीन नम्बर दिएको छ । इमर्जिङलाई सर्वसाधारणतर्फ र कम्पनीको प्रवर्धकमा कायम धितोपत्रका लागि दुईवटा आईजीन नम्बर दिएको हो । सोही अनुसार कम्पनीले पुँजीबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिम्बोल पनि पाएका छन् ।

होटेल तथा पर्यटन समूहको कालिञ्चोक दर्शन लिमिटेडले पनि दुईवटा आईजीन नम्बर पाएको छ । कालिञ्चोकले सर्वसाधारण र प्रवर्धकका लागि फरक–फरक आईजीन नम्बर पाएको हो ।

प्रष्ट कानुन नहुँदा समस्या
प्रष्ट कानुन नभएकाले विगतमा दुईवटा आईजीन नम्बर वितरण भएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् ।
‘अहिले जति पनि विवाद आएको छ, कानुन प्रष्ट नभएकैले हो । पहिलेदेखि नै अभ्यासलाई मापदण्ड नै बनाएर व्यवस्थित गर्न खोजिएको थियो’, न्यौपानेले भने ।
पछिल्लो समय एनआरएन इन्फ्रास्ट्रक्चर, चन्द्रागिरि हिल्स र इमर्जिङ नेपाल लगायत कम्पनीलाई दुईवटा (संस्थापक र सर्वसाधारण छुट्याएर) आईजीन नम्बर दिएको न्यौपाने बताउँछन् ।
‘एनआरएन इन्फ्रास्ट्रक्चर र चन्द्रागिरि हिल्सको लकइन खुलेपछि ती कम्पनीले जारी गरेका फरक–फरक शेयरलाई एउटै आईजीन नम्बर दिने भनी नेप्सेबाट निर्देशन आयो, निर्देशन अनुसार नै हामीले एउटै बनाइदिएको अवस्था हो’, न्यौपानेले भने, ‘इमर्जिङ नेपालको बेलामा म्याडम (सीईओ पन्दाक) आइपुग्नुभएको थियो, उहाँले एउटै आईजीन नम्बर दिनका लागि विवरण प्रष्ट खुलेको छैन, त्यसो गर्न अलिकति समस्या देखियो भन्नुभएपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा पत्राचार गर्यौँ ।’

कसरी निम्त्याइयो विवाद ?
सीडीएससीमा सीईओको रूपमा प्रवीन पन्दाक २०८१ पुस १४ गते नियुक्त भइन् । पन्दाकले दोस्रो बजारमा सूचीकृत हुन आउने बैङ्क तथा वित्तीय संस्थालाई दुईवटा आईजीन नम्बर दिइनन् भने अन्य कम्पनीको हकमा एउटा दिने वा दुई वटा दिने भनी निर्णय गर्ने सकिनन् ।
सोहीबीच संस्थापक र सर्वसाधारण शेयरका लागि फरक–फरक (दुई वटा) आईजीन नम्बर भएको इमर्जिङ नेपाल लिमिटेडले एउटै आईजीन नम्बर बनाइदिन भन्दै सीडीएससीमा निवेदन दियो ।
तर, सीडीएससीले भने कानुनमा संस्थापक र सर्वसाधारणको फरक–फरक दुई वटा आईजीन नम्बर एउटा बनाउने व्यवस्था नभएकाले नसकिने भन्दै कम्पनीको प्रस्ताव अस्वीकार गर्यो ।
सीडीएससीले उक्त प्रस्ताव अस्वीकार गरेपछि इमर्जिङले धितोपत्र बोर्डमा उजुरी दियो । बोर्डले गत बैशाख ३ गते सीडीएससीलाई पत्र लेख्दै धितोपत्रसम्बन्धी कानूनी व्यवस्थाअनुसार गर्ने भन्दै निर्देशन दियो ।
कानुनमा व्यवस्था नभएको भन्दै सीडीएससीले दुईवटा आईजीन नम्बरलाई एउटा बनाउन अस्वीकार गर्यो । त्यसपछि इमर्जिङ उही माग लिएर २०८२ वैशाख १४ मा फेरि धितोपत्र बोर्ड पुग्यो ।
इमर्जिङको अनुरोधअनुसार धितोपत्र बोर्डले जेठ १ गते सीडीएससी र नेप्सेलाई समेत बोधार्थ पठाएर ‘आईजीन नम्बर प्रदान गर्ने सम्बन्धमा प्रचलित व्यवस्था तथा प्रचलित असल अभ्यास अनुरूप अविलम्ब आवश्यक निर्णय गर्नू’ भनेर निर्देशन दियो । तर, ‘कम्पनीको मागअनुसार एउटै आईजीन नम्बर दिनू’ भनी निर्देशन दिन सकेन ।

धितोपत्र बोर्डले प्रष्ट रूपमा ‘दुईवटा आईजीन नम्बरलाई एउटा बनाउनू वा नबनाउनू’ नभनेकाले सीडीएससीले इमर्जिङको आग्रह अनुरूप एउटा आईजीन नम्बर दिएन । सन् २०२२ मा दोस्रो बजारमा सूचीकृत भएको उक्त कम्पनीसँग अहिले पनि दुईवटा आईजीन नम्बर छ ।
त्यसपछि क्रष्ट माइक्रो लाइफ इन्स्योरेन्स (लघुवित्त), पियोर इनर्जी र ओम मेगाश्री फर्मास्यूटिकल्सले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) जारी गरे ।
त्यसमा क्रष्ट बैङ्क तथा वित्तीय संस्था भएकाले दुई वटा (संस्थापक र सर्वसाधारण) आईजीन नम्बर पायो, बैङ्क तथा वित्तीय संस्थाको हकमा त्यसअघिकै अभ्यासअनुसार दिइएको थियो ।
‘क्रष्टलाई दुईवटा आईजीन नम्बर (संस्थापक र साधारण छुट्टा–छुट्टै) दिएको हो’, सीडीएससी प्रवक्ता न्यौपानेले भने, ‘बैङ्क तथा वित्तीय संस्थाका हकमा दुईवटा आईजीन नम्बर दिने गरिएकै थियो, त्यसमा विवाद भएन ।’
ओम मेगाश्री र पियोर इनर्जीको हकमा भने सीडीएससीले एउटा या दुईवटा आईजीन नम्बर दिनेबारे निर्णय गर्न सकेन । निर्णय गर्न नसकेपछिसमस्या देखिएको प्रवक्ता न्यौपानेले बताए ।
यी दुई कम्पनीका हकमा आईपीओ बिक्री गरिसकेकाले दोस्रो बजारमा सूचीकृत गर्ने बाटो खोल्न सीडीएससीले सर्वसाधारणतर्फ जारी गरेको शेयर (कित्ता) का लागि मात्र आईजीन नम्बर राखेर नेप्सेमा सूचीकरण गर्न पठायो ।
ओम मेगाश्री र पियोर इनर्जीले संस्थापक र सर्वसाधारणतर्फ जारी गरेको दुबै शेयर एउटै आईजीन नम्बरमा राखिदिनुपर्ने भन्दै सीडीएससीलाई अनुरोध गरेको थियो । तर, सीडीएससीले भने प्रष्ट कानुन नभएको र कार्यविधि बन्दै गरेकाले अहिले सर्वसाधारणमा जारी गरेको शेयरलाई मात्र आईजीन नम्बर दिने भन्यो ।
त्यही अनुसार सीडीएससीले ओम मेगाश्रीलाई सर्वसाधारणमा जारी गरेको शेयरका हकमा मात्र आईजीन नम्बर दिएर वैशाख २७ गते नेप्सेमा शेयर सूचीकरण गरायो ।
सीडीएससीले पियोर इनर्जीलाई समेत ओम मेगाश्रीलाई जस्तै आग्रह गरेको थियो । तर, पियोरले भने एउटै आईजीन नम्बरमा राखेर दिन सीडीएससीलाई भन्यो ।
सीडीएससीले सर्वसाधारण तर्फको शेयरका लागि मात्र आईजीन नम्बर राखेर गत वैशाख २६ गते नेप्सेमा सूचीकरण गर्ने बाटो खोलिदियो ।
तर, पियोर इनर्जीका प्रवर्धकले एउटामात्र आईजीन पाउनुपर्ने भन्दै धितोपत्र बोर्डमा उजुरी दियो । धितोपत्र बोर्डले सीडीएससीलाई उक्त विषयमा त्यसअघि नै भनेकाले कुनै पत्र भने पठाएन ।

इमर्जिङको विषयमा विद्यमान कानुन अनुसार गर्नू भनेर धितोपत्र बोर्डले जानकारी गराएको थियो । तर, पियोरको विषयमा भने आफूलाई थाहा नभएको सीडीएससीका प्रवक्ता न्यौपाने बताउँछन् । ‘पियोर इनर्जीले उजुरी गरेको विषयमा मलाई पनि जानकारी भएन’, न्यौपानेले भने, ‘त्यसको जवाफ आएको जानकारी पनि भएन ।’
त्यसयता पियोर इनर्जी आईजीन नम्बर पाएको सर्वसाधारण तर्फको २० प्रतिशत अर्थात् १६ लाख कित्ता शेयरमात्र नेप्सेमा सूचीकृत गरायो ।
ओम र पियोरको सर्वसाधारण समूहतर्फको शेयर कारोबार अहिले पनि भइरहेको छ । तर, संस्थापकको शेयरमा आईजीन नम्बरमा राखिएको छैन ।
आईजीन नम्बरको विषयमा कानुन बन्दै
कानुन अभाव कारण विवाद भएपछि आईजीन नम्बरबारे हाल सीडीएससीले कानुन बनाउँदैछ । प्रवक्ता न्यौपानेका अनुसार कानुनको ड्राफ्ट बन्दैछ ।
‘कानुनहरू मस्यौदा बनाएर, सञ्चालक समितिले पास गरेर, धितोपत्र बोर्डले स्वीकृत गरेपछिमात्र लागु हुन्छ’, न्यौपानेले भने, ‘त्यसपछि हामीले बनाउने निर्देशिका र कार्यविधि कार्यान्वयनमा आउँछ ।’
आँखुखोलाले गरेको त्यो बदमासी
कम्पनीहरूले पुँजी जुटाउन सामान्यतयाः दुई प्रकारका शेयर जारी गर्छन् । पहिलो हो – संस्थापक शेयर । यस्तो शेयर राख्ने व्यक्ति वा संस्थालाई आधारभूत लगानीकर्ता भनिन्छ ।
यस्ता लगानीकर्ताले आफूसँग रहेको शेयर कम्तिमा तीन वर्ष होल्ड गर्नुपर्ने हुन्छ । अर्थात्, उनीहरूले चाहेका बेला आफूसँग भएको शेयर बेच्न पाउँदैनन् ।
आयोजना सम्पन्न नहुँदै र प्रतिफल नै नदिँदै कम्पनीलाई ऋणमा डुबाएर आफू मालामाल हुन नपाउन् भनी आधारभूत लगानीकर्तालाई लकइन पिरियडले बाँध्ने गरिएको हो ।

सर्वसाधारणले भने अन्य शर्त नराखिएको खण्डमा आईपीओ परेपछि नेप्सेमा सूचीकृत हुनासाथ किनबेच गर्न पाउँछन् ।
तर, आँखुखोला लगायत आधादर्जन भन्दा बढी कम्पनीको हकमा भने त्यस्तो भएन । ती कम्पनीका सञ्चालक र सयौँ प्रवर्धकहरूले लकइन पिरियडअघि नै शेयर बेचेर सर्वसाधारणलाई झुक्यानमा पारेका थिए ।
कम्पनीका अध्यक्ष राम श्रेष्ठ र सञ्चालकहरूले पदमा बहाल रहुन्जेल तथा पदबाट हटेको एक वर्षसम्म सोही कम्पनीको शेयर खरीदबिक्री गर्न नपाइने व्यवस्था उल्लङ्घन गर्दै लकइन पिरियड अघि नै शेयर बेचेका थिए ।
कम्पनी र सञ्चालकहरूलाई कारबाही गर्नुपर्नेमा नियामक धितोपत्र बोर्डले उल्टै एक अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न दिएको थियो ।
सीडीएससीले एउटै आईजीन नम्बर रहेका अन्य कम्पनीका सञ्चालकले कानुन विपरीत शेयर बेचे/नबेचेको हेर्न थालेपछि जरिवाना तिरेर कारोबार सच्याउन निवेदन दिएका थिए ।
प्रतिक्रिया