पञ्चेबाजा र हुड्केली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ  « Khabarhub

पञ्चेबाजा र हुड्केली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय र पहिचान हुन् । देश र परिवेश अनुकुल धर्म संस्कृति र सभ्यता फरक हुन सक्छन्, तर जोसँग जे छ, त्यो नै समुदायको, समाजको सम्पत्ति हो, सभ्यता वा परिचयको माध्यम हो । मानव सभ्यता संस्कृति र मौलिकता बिना अधुरै जस्तो देखिन्छ । आफ्नो पहिचान र परिचयकै लागि पनि संस्कृति जगेर्ना गरि जीवित राख्न जरुरी छ ।

यही मान्यताका साथ जगन्नाथ गाउँपालिकाले पनि आफ्नो सांस्कृतिक पहिचानलाई जगेर्ना गर्ने र जीवित बनाइराख्ने नीति लिएको छ । पालिकाको प्रमुख सांस्कृतिक पहिचान हुड्केली र पञ्चेबाजा हो । मौलिक पहिचान झल्किने संस्कृतिको जगेर्ना गर्न पालिकाले जारी आर्थिक वर्षमै नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरिएको थियो । 

लोप हुन लागेको संस्कृति र पहिचानलाई फेरि जीवित पार्ने उद्देश्यसहित पालिकाले नीतिगत निर्णय गरेको अध्यक्ष कालीबहादुर शाहीले बताए । पालिकामा बसोबास गर्ने विशेष गरि दलित समुदाय लक्षित यो संस्कृति सबैको साझा र मौलिक हो । व्रतबन्ध, विवाह, भोज भतेर देखि सबै संस्कारमा पञ्चेबाजा र हुड्केली जगन्नाथको प्रमुख सांस्कृतिक पहिचान हो । 

पालिका अध्यक्ष शाहीका अनुसार गाउँपालिकाकै बजेटबाट ९१ जनालाई पञ्चेबाजा र हुड्केलीका पोशाक हस्तान्तरण गरिएको छ । हराउन थालिसक्यो, पुरानो संस्कृति नै मर्ने अवस्था आयो, नयाँ पुस्ताले त्यो बारे ज्ञान नै नपाउने र सिंगो पालिकाको परम्परागत पहिचान नै हराउने अवस्था आएपछि, जगेर्नाको सुरुवात गरिएको हो, अध्यक्ष शाहीले भने ।

पाँचवटा मुख्य परम्परागत बाजाहरूको समूहलाई भन्ने पञ्चेबाजा गरिन्छ । यी बाजाहरू मिलेर एउटा समन्वित धुन निकालिन्छ जसले पर्व–उत्सव र संस्कारहरूमा विशेष रौनक ल्याउँछ । नगारा, नर्सिंगा,धिमे-दमाहा, सानो-ठुलो ट्याबला, शहनाई-सहनाइ बाजा पञ्चेबाजा हुन् । पालिकाले तीनै बाजाको संरक्षणमा लगानी गरेको हो ।

हिन्दु र बौद्ध संस्कारमा पञ्चेबाजाको धुनलाई शुभ संकेत मानिन्छ, देवतालाई प्रसन्न पार्न र वातावरण पवित्र बनाउन प्रयोग गरिन्छ भने, सामुदायिक गर्व र सम्मान गर्न, कुनै विशेष अवसर (जस्तै बिहे वा ब्रतबन्ध) मा पञ्चेबाजा बजाएर सम्मान जनाउने चलन पनि समाजमा छ । 

बाजा बजाउने समुदायको सीप र परम्परा हो, यो समाजको संस्कृति र पहिचान पनि हो । आनन्द र उत्सवको प्रतीकका रुपमा पुर्खा देखि नै बाजाको धुनले समारोहलाई उल्लासमय बनाउने, नाचगानसँगै प्रयोग हुने गरेको जगन्नाथसहित नेपाली समाजको जननी हो, भन्छन्, पञ्चेबाजाका जानकार साउने दमाई । राजदरबारदेखि गाउँसम्म प्रयोग हुँदै आएको इतिहास छ । 

प्राचीन समयमा राजा-राजा परिवारले शक्ति, विजय र वैभव देखाउन पञ्चेबाजाको प्रयोग गर्थे, भने कालान्तरमा यो चलन सामान्य जनमानसमा फैलियो र अहिलेको लोक परम्परामा रूपान्तरण भएको छ । अब लोप हुन दिनु हुन्न, सँस्कृतिक कर्मी सुदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताए ।

जगन्नाथले हुर्केउली र पञ्चेबाजाका लागि गरेको लगानी र जगेर्नाका लागि गरिएको अभ्यासलाई सकरात्मक रुपमा लिनु पर्छ, र अरुले पनि सिक्नु पर्छ, उनले थपे । पञ्चेबाजा नेपाली सांस्कृतिक सम्पदाको जीवित प्रतीक हो । यसले समाजमा एकता, अनुशासन र आनन्दको सन्देश दिन्छ ।

उसोत हुर्केउली नाच नेपालको पहाडी भूभागको परम्परागत नाच हो । यसलाई संस्कृतिमा गहिरो अर्थ बोकेको लोकनृत्य पनि भन्ने गरिन्छ । जो सुदूरपश्चिमका पहाडी जिल्लाको पहिचान नै हो । पञ्चेबाजा आवश्यक उत्सवमा हुर्केउलीले झन रोचक र रमाइलो प्रदान गर्न र सन्देश प्रवाह गर्न सहयोग मिल्ने गरेको भन्छन्, हुर्के रनजीते सनाइ । उनले तीन दशक लामो समयदेखि आफूलाई हुर्केउली पेशामा समर्पित गरेका छन्, तर लोभ हुन लागेकोमा भने उनको चिन्ता छ । 

संवादात्मक नृत्य भएकोले हुर्केउलीले गाउन, नाच्न र दोहोरी गर्ने शैली देखाउँदा, समाजलाई मनोरञ्जनसँगै लोक तथा दन्तेकथालाई समेत प्रस्तुत गरिने भएकोले थप सिकाइ र सन्देश प्रवाह गर्ने गरेको छ । 

गीतमार्फत आकर्षित गर्ने, व्यंग्य गर्ने, प्रशंसा गर्ने, ढोल, मादल, सारंगी, बाँसुरी जस्ता परम्परागत बाजाहरूको साथमा नाच्ने र नृत्यलाई हेर्न आउने मानिसहरूको बाक्लो उपस्थितिमा यो सामाजिक मेलमिलापको माध्यम पनि बन्ने गरेको छ ।

हुड्केली नाच केवल नाच मात्र होइन, यो सम्प्रेषण, प्रेम, हास्य, कला र संस्कृतिको समुच्चय हो, जुन समुदायको सामाजिक जीवनमा गहिरो जरा गाडेर बसेको छ, जगेर्ना गर्न लागिएको कुराले खुसी तुल्यायो भन्छन्, सँस्कृतिका जानकार, जहरसिंह थापा । आधुनिक प्रविधिको विस्तार, जीवनशैलीमा आएको तीव्र परिवर्तन र पश्चिमी प्रभावका कारण आजको पुस्ताले आफ्नो मौलिक पहिचान र परम्परालाई बिर्सँदै गएको सन्दर्भमा, स्थानीय तहबाटै संस्कृति संरक्षणको लागि यस्तो पहलकदमीले राम्रो सन्देश दिएको छ । 

‘दौरा–सुरुवाल सेट’ गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीद्वारा हस्तान्तरणपछि खुला प्रस्तुत गरिएको थियो । नेपाली संस्कृति र पहिचानको प्रतीकस्वरूप रहेको यो पहिरन वितरण गर्नु केवल वस्त्र हस्तान्तरणको कार्य मात्र नभई, सांस्कृतिक गौरव र आत्मसम्मान अभिवृद्धिको एउटा अभियान भएको भन्छन्, पालिका अध्यक्ष कालीबहादुर शाही । 

पालिकाले ‘दौरा–सुरुवाल सेट’ पछि सँस्कृतिक प्रस्तुती प्रदर्शन गरेको थियो । कलाकारहरू स्वयम् दौरा–सुरुवालमा सजिएर प्रस्तुत हुँदा त्यो दृश्यले सहभागीहरूमाझ गौरव, भावुकता र अपनत्वको भाव देखिन्थ्यो । 

वर्षौँदेखि संस्कृति जोगाउन लागिरहे पनि औपचारिक रूपमा कहिल्यै सम्मान नपाएकोमा दुखि देखिएका उनीहरुले नयाँ उत्साह, प्रेरणा र ऊर्जा थपेको प्रतिक्रिया दिए । बर्षौपछि जगन्नाथमा पुरानो संस्कृतिको याद दिलाएको उपाध्यक्ष मरुकला विष्टले बताइन् । लोप भइसकेको थियो । अब सुरु गरिएको छ, निरन्तरता हुनु पर्छ, विष्टले भनिन् । 

संस्कृति जगेर्नाका लागि सांस्कृतिक पोशाक सहीतको पञ्चेबाजा खरिदमा लगानी गर्ने जगन्नाथले पहिलो पटक हो । यो अभ्यासले संस्कृतिको जगेर्ना मात्रै हुने छैन्, पञ्चेबाजा बजाउने रहुड्केली गर्नेहरुलाई समेत जिविकोपार्जनमा ठूलो सहयोग पुग्ने विश्वास पालिकाले गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ५५ बजे

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको

विश्वकपमा मेसीको लगातार ९ खेलको गोलयात्रामा पूर्णविराम

काठमाडौँ – विश्वकप फुटबलमा अर्जेन्टिनी कप्तान लियोनेल मेसीको ऐतिहासिक गोलयात्रामा

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६