काठमाडौं– नेपालमा एचआइभी संक्रमितको अनुमानित संख्या ३० हजारभन्दा बढी रहेको सरकारी तथ्यांकले देखाएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । नेपालमा मुख्य जोखिम समूहमा मात्र एचआइभीको संक्रमण अवस्था रहेको छ ।
मुख्य जोखिम समूह पुरुषसँग यौन सम्पर्क गर्ने पुरुषहरू, लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू, महिला यौनकर्मीहरू, लागूऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू, आप्रवासी व्यक्तिहरू रहेका छन् ।
एचआइभी संक्रमितहरू महिलाभन्दा पुरुष बढी रहेका छन् । नयाँ संक्रमणको वार्षिक दर पनि ६ सय १४ छ भने मृत्युको संख्या ५६९ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी जनस्वास्थ्य प्रशासक अस्मिता ओझाले बताइन् । उनका अनुसार नेपालमा एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २ सय २७ रहेको छ ।
यौन व्यवसायमा संलग्न व्यक्तिहरू १ लाख १५ हजार ९ सय १९ जनामा, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष ७७ हजार ३ सय ४० जना र लैङ्गिक अल्पसंख्यक व्यक्तिहरू ३२ हजार ८ सय ९५ जना, जेलमा भएको व्यक्तिहरू २७ हजार ८ सय ३९ र लागूऔषध सुई प्रयोग गर्ने व्यक्तिहरू ४४ हजार ३ सय ५० जनामा यो अध्ययन गरिएको हो ।
निःशुल्क साधन अभाव, परीक्षण सेवा विस्तारमा रोक र दातृ निकायमा निर्भरता बढ्दै जाँदा नेपालले सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न निकै चुनौती खेप्नुपर्ने विज्ञहरूले बताएका छन् ।
प्रतिक्रिया