लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो | Khabarhub Khabarhub

लन्डनमा कुलमानले भने- नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर छ, त्यसकालागि सही नीति र नेतृत्व हुनुपर्‍यो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालसामु क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर आएको तर त्यसकालागि सही नीति र नेतृत्व हुनु पर्ने बताएका छन् ।

हाल बेलायतको भ्रमणमा रहेका घिसिङले दक्षिण पूर्वी लन्डनमा आयोजित ‘नेपालको ऊर्जा क्षेत्रका चुनौती र सम्भावना’ विषयक एक नीतिगत छलफलमा भाग लिँदै करिब एक दशक अघि नेपालमा दैनिक १८ घण्टासम्मको लोडसेडिङ भोग्नु परेको तर संस्थागत सुधार, दक्ष ऊर्जा व्यवस्थापन, र सेवाप्रति प्रतिबद्धताबाट लोडसेडिङ अन्त्य गर्न सफलता मिलेको बताए  ।

‘नेपालको विद्युत् पहुँच ५६% बाट झन्डै १००% पुग्यो, र विद्युत् प्राधिकरण घाटाबाट नाफामा पुगेको छ, जसले प्रसारण र उत्पादनमा फेरि लगानी गर्न सम्भव बनाएको छ,’ उनले भने, ‘आज नेपाल भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्ने मुलुक बनेको छ र झन्डै शत प्रतिशत ऊर्जा नै स्वच्छ र नवीकरणीय स्रोतबाट प्राप्त भएको हो ।’

नेपालको जलविद्युत यात्रा ११५ वर्षअघि  १९११ मा फर्पिङ जलविद्युत र १९३९ मा सुन्दरी जल जलविद्युत आयोजनाबाट ब्रिटिस सहयोगमै सुरु भएको उनले स्मरण गरे ।

‘आज ३,८०० मेगावाटभन्दा बढी स्थापित क्षमता र हजारौँ मेगावाट पाइप लाइनमा छन् । हाम्रो लक्ष्य २०३५ सम्ममा २८,५०० मेगावाट पुर्‍याउने र त्यसमध्ये  १५,००० मेगावाट निर्यातका लागि छुट्टाउने हो’, उनले भने ।

‘भारतसँग दीर्घकालीन विद्युत् व्यापार सम्झौता भइसकेको छ, बङ्गलादेशमा पनि निर्यात सुरु भइसकेको छ, जसले भुटानसहितको क्षेत्रीय ऊर्जा मार्ग खोलिरहेको छ । चीनसँग भविष्यमा जोड्ने सम्भावना पनि छ,’ उनले भने ।

भारत र बङ्गलादेशलाई स्थिर र स्वच्छ बिजुली चाहिएकोले नेपाललाई क्षेत्रीय ऊर्जा केन्द्र बन्ने अवसर दिएको घिसिङले बताए । उनले थपे, ‘हाम्रो जलविद्युतले सौर्य–निर्भर ग्रिडलाई सन्तुलन दिन सक्छ, उत्सर्जन घटाउन सक्छ, र विकासको लागि उत्प्रेरकको काम गर्दछ ।’ नेपालले  हरित हाइड्रोजनलाई भविष्यको ऊर्जा स्रोत र औद्योगिक प्रयोगका लागि पनि अध्ययन गरिरहेको पनि उनले जनाए ।

जलवायु परिवर्तनको चुनौतीसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहायता आवश्यक रहेको पनि उनले बताए ।

आफ्नो कार्यकाल चार महिना मात्रै  बाँकी रहँदा अनपेक्षित रूपमा पदबाट हटाइएको प्रसङ्ग उल्लेख गर्दै घिसिङले यसले राजनीतिक अस्थिरता र जबाफदेहिताको कमीतर्फ इङ्गित गरेको बताए ।

‘नेपालका युवाहरू परिवर्तन चाहन्छन् । उनीहरूलाई परिणाम दिने नेतृत्व चाहन्छन् । यही कारण म उज्यालो नेपाल अभियान मार्फत आफ्नो यात्रालाई  निरन्तरता दिइरहेको छु,’ उनले भने ।

कार्यक्रममा युसीएल इन्स्टिच्युट अफ एजुकेसनका प्राध्यापक डा तेजेन्द्र फेरालीले शिक्षाका लागि विद्युत् पूर्वाधार हो भन्दै लोडशेडिंग अन्त्य गर्न घिसिङको नेतृत्व र योगदानको प्रशंसा गरे ।  

उक्त अवसरमा विश्व चेसका ग्रयाण्ड मास्टर ७७ वर्षीय रेमण्ड कीनले घिसिङलाई  सम्मान पत्र तथा टोनी बुजन मेडल प्रदान गरे । 

कार्यक्रममा ब्रिटिस संसद्को माथिल्लो सदन हाउस अफ लर्ड्सका सदस्य लर्ड रामी रेञ्जरको तर्फबाट उनका सहयोगी अत्ता हकले छोटो  मन्तव्य राखेका थिए । पानस हेल्पिङ्ग ह्यान्डका सुजन कटुवालले सबैलाई धन्यवाद दिएका थिए ।  

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ११ : १६ बजे

वनमन्त्री शाही र सचिव मिश्रबीच कार्यसम्पादन सम्झौता

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र मन्त्रालयका सचिव

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो

एजेन्सी– उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार

एमालेमा फरक मत लैजाँदै भण्डारी पक्ष : केन्द्रीय कमिटी बैठक स्थगित, के होला विधान महाधिवेशन ?

काठमाडौँ– प्रमुख सत्तारुढ नेकपा (एमाले)मा दुई लाइन संर्घष बढाइरहेकी पूर्वराष्ट्रपति

कोरियाबाट प्रविधि हस्तान्तरणसहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया सरकारले

राजनीतिमा सदाचार नीति लागू गर्न आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिमा सदाचार नीति लागू गर्न