काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य अभियुक्त लक्ष्मण पासवानको एउटा भिडियो भाइरल भएको छ।
रुबीकुमारीको ज्यान लिनुअघि लक्ष्मणले कुनै एकान्त स्थानमा गएर सुट गरेको हिन्दी भाषामा बोलिएको ९ मिनेट ३६ सेकेन्डको भिडियो बाहिरिएको हो ।
रुबीकुमारीको ज्यान लिएर आफ्नो शरीरमा आगो लगाउनुअघि उनले खिचेको सेल्फी भिडियो बाहिरिएपछि घटनाले नयाँ मोड लिएको हो ।
उनले रुबीको हत्यामा उनकी आमा दोषी रहेको उल्लेख गरेका छन् । रौतहटको माधवनारायण नगरपालिका-६ स्थित खेतमा शरीर जलेको अवस्थामा भेटिएका पासवानलाई प्रहरीले बुधबार उद्धार गरेको छ।
प्रहरीका अनुसार उनले रुबीको ज्यान लिइसकेपछि आफ्नो शरीरमा आफैँले आगो लगाएका थिए । शरीर जलेर उनी गम्भीर घाइते अवस्थामा भेटिएका हुन् । घाइते अवस्थामा उनको हातमा टाटु खोपेको भेटिएको छ । जसमा लेखिएको थियो, ‘माई हर्ट रुबीकुमारी’ ।
रौतहट प्रहरीका अनुसार प्रारम्भिक बयानमा लक्ष्मणले रुबीको ज्यान लिएर सुटेकसमा प्याक गरिसकेपछि आफ्नो शरीरमा आगो लगाएको स्वीकारेका छन् । उक्त भिडियोामा रुबीको हत्या आफैँले गरेको पनि लक्ष्मणले स्वीकारेका छन् ।
रौतहटकै माधवनारायण नगरपालिका-२ निवासी केही समयदेखि सदरमुकाम गौरस्थित आमाको घरमा बस्ने गरेकी थिइन् । लक्ष्मणसँग विवाद भएपछि आमासँग माइती बस्दै आएकी उनको शव आइतबार सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

रुबीको शव सुटकेसमा प्याक गरेको भेटिँदा प्रहरीसमेत झस्किएको थियो। उक्त शवलाई लिएर प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा पति लक्ष्मण तानिएका थिए । लक्ष्मणले उक्त भिडियो सन्देशमा यो घटना रुबीकी आमाका कारण भएको जिकिर गरेका छन् । उनीसहित राजन, राजु र राजासहितका कारण रूबीको ज्यान लिने अवस्थामा पुगेको उनले स्वीकारेका छन् ।
९ मिनेट ३६ सेकेन्डको उक्त भिडियो सन्देशमा रूबीको हत्या कसरी गरेको लक्ष्मणले केही पनि खुलाएका छैनन्। तर उनले रुबी र आफूले प्रेम सम्बन्धपछि बिहे गरेको बताएका छन् । प्रेमपछिको विवादका कारण यो घटना हुन पुगेको उनले उल्लेख गरेका छन् ।
लक्ष्मण र रुबीबीच उनीहरूको कक्षा १० मा पढ्दैदेखि प्रेम रहेको खुलेको छ । उनीहरूले जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा प्रेमविवाह गरेको बताएका छन् । तर रुबीकी आमा र आफ्नो घरतिरकाले पनि प्रेम विवाह नस्वीकारेपछि तनाव भएको लक्ष्मणले बताएका छन् ।
उनले भिडियो सन्देशमा रुबीकी आमाले पैसाको लोभ देखाएर छोरीलाई राजन, राजु र राजासँग शारीरिक सम्बन्ध राख्न लगाएको गम्भीर आरोप पनि लगाएका छन् । रुबीकुमारीले नुहाउँदा भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोप पनि उनले बताएका छन। राजन महतो र राजुसहितसँग रुबीकुमारीलाई उनकी आमाले शारीरिक सम्बन्ध राख्न बाध्य पारेको पनि लक्ष्मणको दाबी छ ।
लक्ष्मणसँग भागेर प्रेम विवाह गरेकी रुबीलाई उनका माइतीले अर्का भारतको मुजफ्फरपुर निवासी शिवसागर साह नामका युवासँग बिहे गरिदिए । रुबीका माइती र आफ्नो घरकाले पनि नस्वीकारेपछि दुवैजनाको सल्लाहमा मर्ने योजना बनाएको लक्ष्मणले बताएका छन् ।
रुबीको ज्यान लिइसकेकाले अब आफू पनि शरीरमा आगो लगाएर आत्महत्या गर्न लागेको लक्ष्मणले भनेका थिए । उनले भिडियो सन्देशमा आफू गरिब रहेकै कारण सासूले रुबीलाई आफूसँग बस्न नदिएको उल्लेख गरेका छन् । आफूबाट खोसेर रुबीलाई धनी केटासँग बिहे गराइएको पनि उनले दाबी गरेका छन् ।
जलेर गम्भीर घाइते लक्ष्मणको अहिले गरुडास्थित अस्पतालमा उपचार भइरहेको छ। भिडियोमा रुबीसँग माथि भेट हुने भने पनि लक्ष्मण बाँच्न सफल भएका छन् । उनले रुबीको ज्यान लिनुअघि आफूहरूले रातभर कुराकानी गरेको पनि भनेका छन् ।उनले जीवनमा कसैमाथि पनि यस्तो अत्याचार नगर्न भनेका छन् ।
उक्त कुराकानीमा दुवैजनाले मर्ने टुंगो गरेपछि रुबीको ज्यान लिएको लक्ष्मणले उल्लेख गरेका छन् । उनले आफू जेल जानुभन्दा मर्नै चाहेको बताएका छन् । अब आफू पनि मरेर रुबीलाई भेट्न माथि जान लागेको उनले भनेका छन् । घटनापछि पक्राउ परेका रिक्साचालकलाई छाड्न पनि उनले भनेका थिए । तर, शरीरमा आगो लगाएपछि पनि बाँच्न सफल लक्ष्मणले अब उनले नचाहेको जेल जानुपर्ने भएको छ ।
प्रतिक्रिया