टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ? « Khabarhub

टिप्पणी : उखु किसानलाई किन देखिसहँदैन सरकार ?



काठमाडौं– हरेक वर्ष उखु किसान काठमाडौँ आएर धर्ना नबसेसम्म सरकारले सुन्दै नसुन्ने परम्परा जस्तै भएको छ । उखु किसान धर्नामा बस्दा प्रतिपक्षीहरू दौडेर साथ दिन पुग्दा सरकारले भने सुनेको पनि नसुनेझैँ गरिरहन्छ । उखु किसानहरू काठमाडौँमा आएर आफ्नो आर्तनाद नसुनाएसम्म सरकारको कानमा बतास नै लाग्दैन ।

सरकारमा बसेकाहरू उखु किसानको समस्या सहजै स्वीकार गर्न तयार छैनन् भन्ने उनीहरूको व्यवहारले पुष्टि गरिरहेको छ । सिंहदरबारकै मुखमा आएर धर्ना बस्दा पनि दुई ठूला दल मिलेर बनेको सरकार उनीहरूलाई निरन्तर बेवास्ता गरिरहेको छ।

कहिले चिनी उद्योगीले भुक्तानी नदिएर, कहिले सरकारले अनुदान कटौती गरेर त कहिले सरकारले समयमै मूल्य नतोकिदिएर उखु किसान बर्सेनि माइतीघर मण्डलमा आउनुपरेको देखिन्छ ।

वर्षैपिच्छे माइतीघर धाउने उनीहरूले सिंहदरबारको पर्खालले सुन्नेगरी आर्तनाद पोखेपछि मात्रै शासकहरूको कानमा बतास लाग्छ । हरेक वर्ष किसान रुँदै आउँछन्, सरकार फकाएर पठाउँछ तर समस्या बल्झिरहन्छ । सरकार उखु किसानविरोधी र उद्योगमैत्री भएको धेरै वर्ष भइसकेको छ । जुन दृश्य यस वर्ष पनि दोहोरियो ।

गत आर्थिक वर्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी–एमाले लगायत दलको संयुक्त सरकारले वार्षिक बजेटमा उखुखेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न दुई अर्ब २५ करोड विनियोजन गर्यो । त्यही सरकारले आर्थिक वर्ष ०७८/७९ देखि किसानलाई उपलब्ध गराउँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पनि प्रदान गर्ने निर्णयलाई निरन्तरता दियो ।

तर, उखु बिक्री गरेर अनुदान पर्खिरहेका किसानलाई खेतीमा निरुत्साहन र पीडा दिनेगरी केपी शर्मा ओली नेतृत्वको सरकारले एकपछि अर्को निर्णय गर्यो ।

पहिलो त सरकारले चालु आर्थिक वर्षको बजेटबाटै उखु खेती गर्ने किसानलाई प्रोत्साहन अनुदान दिने कार्यक्रम हटाइदियो । त्यसपछि गत असार २३ गते मन्त्रिपरिषद् बैठकले उखु किसानको अनुदानमा आधा कटौती गरेर प्रतिक्विन्टल ३५ रुपैयाँ मात्रै दिने निर्णय भयो ।

जुन निर्णयपछि उखु किसानहरू निराश हुँदै काठमाडौं आए । उनीहरूको अरु माग छैन, ‘अनुदान कटौती नगर’ भनेका छन् । तर, अर्थ मन्त्रालयले मंगलबार साँझ मन्त्रिपरिषद्ले असार २३ गते गरेको निर्णयअनुसार आधामात्रै अनुदान दिएर किसान थप पीडा दिँदै खातामा पैसा पठायो ।

अनुदानलाई लिएर यतिबेला किसानहरू सरकारसँग वार्ता पनि बसेका छन् । उनीहरूले आन्दोलन पनि जारी राख्ने घोषणा गरेका छन् ।



सरकारको गिद्धे दृष्टि

सम्भवतः भान्सामा चिनी नचलाउने नेपाली परिवार अपवादकै रूपमा होला । स्वास्थ्यको दृष्टिले जे होला, चिनी मिसाइएका मिठाईदेखि विभिन्न परिकार नरूचाउने नेपालीको संख्या सायदै नगण्य छ ।

जुन कुरालाई भन्सार विभागको तथ्यांकमा पनि देखिन्छ । विभागकाअनुसार गत आर्थिक वर्षमा चिनी, मिश्री, सख्खर लगायतका नाममा नेपालमा औपचारिक रूपमा तीन अर्ब रुपैयाँ बढीको चिनीजन्य वस्तु भित्रिएको छ । चामलका नाममा अर्बौं रुपैयाँ बराबरको चिनी आयात हुने गरेको विवाद पनि हुने गरेको छ ।

विभागको तथ्यांकले नेपालको ठूलो मात्रामा चिनी र चिनीजन्य कच्चापदार्थको माग हुने गरेको देखाएको छ । विशेषगरी नेपालको तराई र केही पहाडी क्षेत्रहरू चिनी तथा सख्खरको मुख्य कच्चापदार्थ उखु उत्पादनको लागि उर्बर भूमिको रूपमा मानिन्छ ।

शिक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा विशेषगरी रोजगार खोज्दै श्रम स्वकृति र अध्ययन अनुमतिपत्र लिएर नौ लाख ६२ हजार बढी नेपाली औपचारिक रूपमा विदेशिएका छन् ।

यसरी रोजगारका निम्ति भिजिट भिसाको सहायता र अन्य जोखिमपूर्ण मार्गबाट कति नेपालीले वर्षेनि देश छाडेका कुराको तथ्यांक राज्यसँगै छैन ।

तर, देशभित्रै पसिना बगाएर देशको व्यापार घाटालाई घटाउँदै स्वरोजगार भएका किसानमाथि भने सरकारको सदाशयता देखिएन । जसले गर्दा राज्यको ठूलो व्यापार घाटा जोगाएर स्वदेशमै स्वरोजगार गरिरहेका किसान पेशाबाटै पलायन हुने चिन्ता बढेको छ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ४ : ४३ बजे

ट्रम्पको धम्की : एपस्टिन टिप्पणीमा ग्रेमी होस्टविरुद्ध कानूनी कारबाही

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टिनमाथि टिप्पणी

चार करोड मूल्य बराबरको धान खरिद

महेन्द्रनगर– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, मधेस प्रदेश कार्यालय

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो यहि माघ २५ गतेदेखि चितवनको भरतपुरमा

बागमतीका मुख्यमन्त्रीबारे जथाभावी बोलेपछि बाजुरामा रास्वपाका उम्मेदवार थापालाई स्पष्टीकरण

काठमाडौं- बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापालाई

नेपालको वर्तमान राजनीतिक चुनौती र भावी सम्भावित निकास

काठमाडौं-नेपालमा पछिल्लो समयमा राजनीतिक घटनाक्रमहरू तीव्रतर तहमा विकास भइरहेका छन्