डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो | Khabarhub Khabarhub

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती भेटियो


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन् ।

यस गर्मीमा गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो सहर आर्हस नजिकैको समुद्री सतहबाट करिब ८ मिटर (२६ फिट) तल पाषाण युगको बस्तीका अवशेष संकलन गरेका थिए । छ वर्ष लामो अन्तर्राष्ट्रिय परियोजनाको हिस्साका रूपमा रहेको यो उत्खनन एक करोड ३२ लाख युरो (करिब एक करोड ५५ लाख डलर) लागतको हो । 

यस परियोजनामा युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोग रहेको छ । परियोजनामा आर्हसका साथै बेलायतको ब्राडफोर्ड विश्वविद्यालय र जर्मनीको लोअर स्याक्सनी इन्स्टिच्युट फर हिस्टोरिकल कोस्टल रिसर्चका विज्ञहरू सहभागी छन् । 

परियोजनाको मुख्य उद्देश्य डुबेका उत्तरी युरोपेली भू–दृश्यहरूको खोजी गर्नुका साथै अपतटीय पवन फार्म तथा अन्य समुद्री पूर्वाधार विस्तारसँगै हराएका मेसोलिथिक बस्तीहरू उजागर गर्नु हो ।

अन्तिम हिमयुगपछि समुद्री सतह क्रमशः बढ्दै गएको थियो । पुरातत्त्वविद् पिटर मो एस्ट्रपका अनुसार अहिलेसम्म पाषाण युगका बस्तीहरूको अधिकांश प्रमाण तटदेखि भित्री क्षेत्रमा फेला परे पनि यो बस्ती भने पुरानो तटरेखामै अवस्थित थियो । 

उनले भने,’यहाँ हामीले वास्तविक पुरानो तटरेखा पाएका छौँ । हामीसँग सिधै समुद्र किनारामा बसोबास गरेको बस्तीको प्रमाण छ । हाम्रो उद्देश्य त्यतिबेलाको तटीय जीवन कस्तो थियो भन्ने बुझ्नु हो ।’

हिमयुगपछि बरफका पत्रहरू पग्लिँदा समुद्रको सतह तीव्र गतिमा बढेको थियो । करिब आठ हजार पाँच सय वर्षअघि समुद्री सतह प्रति शताब्दी करिब दुई मिटर (६.५ फिट) ले बढेको थियो । 

मो एस्ट्रप र उनको टोलीले आर्हस नजिकैको मोस्गार्ड सङ्ग्रहालयमार्फत आजको तटमा भेटिएको ४० वर्गमिटर क्षेत्रफलको सानो बस्ती उत्खनन गरेका छन् ।

बढ्दो समुद्री सतहले त्यसबेलाको जीवनशैलीलाई ‘टाइम क्याप्सुल’ जस्तै संरक्षित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ । प्रारम्भिक उत्खननमा जनावरको हड्डी, ढुङ्गाका औजार, तीरका टाउका, सिलका दाँत र काम गरिएको काठका टुक्रा फेला परेका छन् । सम्भावित भविष्य विश्लेषणका लागि उनीहरूले पानीमुनि प्रयोग हुने विशेष भ्याकुम उपकरणमार्फत मिटर–मिटरको हिसाबले सामग्री संकलन गरिरहेका छन् ।

शोधकर्ताहरूलाई आगामी उत्खननमा हर्पुन, माछा मार्ने काँटी तथा माछा मार्ने संरचनाका निशान भेटिने आशा छ । 

हाल आर्हसको तुलनात्मक शान्त र सुरक्षित खाडीमा उत्खनन भइरहेका छन् । आगामी चरणमा जर्मनीको तट र उत्तर सागरका दुर्गम दुई स्थानमा थप उत्खनन गर्ने योजना छ ।

हजारौँ वर्षअघि समुद्री सतह बढ्दा, ‘डोगरल्यान्ड’ भनिने विशाल भू–भाग समुद्रले डुबायो । यो भू–भागले बेलायतलाई महाद्वीपीय युरोपसँग जोड्थ्यो, तर अहिले दक्षिणी उत्तर सागरमुनि डुबेको छ ।

समुद्री सतह वृद्धिको इतिहास बुझ्न अनुसन्धानकर्ताहरूले डेन्ड्रोक्रोनोलोजी अर्थात् रूखका रिङहरूको अध्ययन गरिरहेका छन् । माटो र समुद्री पिँधका थिग्रेनीका रूपमा सुरक्षित डुबेका रूखका स्टम्पहरूले तटीय जङ्गल कहिले डुबायो भन्ने ठ्याक्कै बताउँछ । 

मोस्गार्ड सङ्ग्रहालयका डेन्ड्रोक्रोनोलोजिस्ट जोनास ओग्डल जेन्सेनले भने, ‘यी रूखहरू तटरेखामा कहिले मरे भन्ने कुरा हामी ठ्याक्कै भन्न सक्छौँ । यसले समयसँगै समुद्री सतह कसरी परिवर्तन भयो भन्ने स्पष्ट पार्छ ।’
 
आज विश्वले जलवायु परिवर्तनका कारण समुद्री सतह वृद्धिको चुनौती सामना गरिरहेको अवस्थामा, यी पाषाण युगीन उत्खननहरूले त्यतिबेलाका समाजहरूले बदलिँदो तटरेखासँग कसरी जुझिरहेका थिए भन्ने विषयमा प्रकाश पार्ने अपेक्षा गरिएको छ । 

मो एस्ट्रपले भने, ‘यसको मानव जीवनमा के असर पर्छ भन्ने ठ्याक्कै भन्न गाह्रो छ । तर यो स्पष्ट छ कि यसले लामो समयसम्म ठूलो प्रभाव पारेको थियो, किनकि यसले सम्पूर्ण परिदृश्यलाई परिवर्तन गरिदिएको थियो ।’

संयुक्त राष्ट्रसङ्घको तथ्यांकअनुसार सन् २०१३ देखि सन् २०२३ को अवधिमा समुद्रको सतह विश्वव्यापी औसत चार दशमलव तीन सेन्टिमिटरले बढिसकेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  ५ : ४० बजे

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत

भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रुपैयाँ ल्याउन पाउने

वीरगञ्ज– नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच