चिटिक्क पारिँदै गाउँ | Khabarhub Khabarhub

चिटिक्क पारिँदै गाउँ


११ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– दसैँ नजिकिएसँगै गाउँघरमा चाडपर्वको रौनक बढेको छ । नेपालीले दसैँ–तिहार लगायतका पर्वलाई विशेष महत्व दिने भएकाले रोजगार, व्यवसाय र अवसरका लागि देश विदेश पुगेकाहरू गाउँ फर्कन थालेका छन् ।

अधिकांश समय सुनसान भएका गाउँघरमा दसैँको आगमनसँगै उल्लास छाउन थालेको रघुगङ्गा गाउँपालिका–७ का चिमखोलाका कायाम रोकाले बताए। 

प्रवासमा रहेकाले चाडपर्व मनाउन छुट्टी लिएर आउने र विद्यालय तथा कार्यालयमा बिदा हुने भएकाले अन्य समयको तुलनामा दसैँ–तिहारको समयमा गाउँघरमा जमघट बढी हुने उनको भनाइ छ । 

रोजगार, शिक्षालगायतका लागि युवा विदेश र सहरी क्षेत्रमा जाने प्रचलनका कारण पछिल्लो समय म्याग्दीका ग्रामीण भेगमा बुढापाका मात्रै बसोबास गर्छन् । 

चाडपर्व मनाउन वर्षमा कम्तीमा एक पटक गाउँ फर्कने भएकाले यो समय गाउँघर गुञ्जायमान हुने गर्छ । चाडपर्वलाई लक्षित गरेर गाउँघर सरसफाइले चिटिक्क परेका छन् । परम्परागत ढुङ्गे घरमा कमेरो र रातो माटोले पोतिएका छन् भने ढलान, प्लास्टर गरी निर्माण भएका पक्की घरमा रङ्गरोगन गरिएका छन् । 

चाडपर्व मनाउन युरोपियन मुलुकबाट बिदामा घर आएका धवलागिरि गाउँपालिका–६ का खड्क पुनले लामो समयपछि गाउँ फर्कदा चाडपर्वको रौनकले प्रवासका दुःख र अत्यासलाई मेटाइदिएको बताए। 

‘प्रवासबाट आएको एक साता भयो, बजारमा किनमेल गरेर बाल बच्चासहित हामी गाउँ आइपुगेका छौँ, हरियाली वातावरण, धान र कोदोका फाँटले मन प्रफुल्ल बनेका छन्, गाउँघर यो समयमा धेरै नै सुन्दर बनेका छन्’, उनले भने। जिल्लाका अधिकांश गाउँमा बर्खायामको हिलो र झाडी पन्छ्याएर गोरेटो बाटोलाई मर्मत गरिएको छ । परम्परादेखि नै चाडपर्वको समयमा झारा (श्रमदान) गरेर बाटो सरसफाइ र मर्मत गर्ने श्रम संस्कृति अझै यथावत रहेको छ । 

सडकमार्गलाई सञ्चालन गराउन स्थानीय सरकारले बजेट व्यवस्थापन गर्ने गरे पनि गोरेटो बाटो भने श्रमदानबाटै सरसफाइ गरिँदै आएको छ । हरेक घरबाट सहभागिता हुने गरी चाडपर्वको पूर्वसन्ध्यामा एक गाउँबाट अर्को गाउँ जाने र गाउँभित्रका गोरेटो बाटो सरसफाइ गरिएको रघुगङ्गा–३ दुलेपानीका युवा होम परियारले बताए।

‘वर्खायाममा झाडीले बाटो नै ढाकिएका थिए, श्रमदानबाट सरसफाइ गरेपछि आवतजावतमा सहज हुने भएको छ’, परियारले भने । पछिल्लो समय युवा विदेशमा जाने प्रचलनका कारण श्रमदानमा महिलाको सहभागिता बढी हुने गरेको छ ।

दसैँलाई लक्षित गरी गाउँघरमा परम्परागत मेला आयोजना हुने गर्छन् । परम्परागत मनोरञ्जनको माध्यम बनेको मेला पर्वलाई पछिल्लो समय खेलकुद प्रतिस्पर्धा र कला संस्कृतिको प्रदर्शन गर्ने परम्परा सुरु भएको छ । 

दसैँ तिहारको अवसरमा यहाँका दर्जनौँ गाउँ बस्तीमा मेला पर्व आयोजना भइरहेका छन् । परम्परागत मेला पर्वको निरन्तरता पाउनु सकारात्मक पक्ष भए पनि ती नै मेलापर्वबाट शान्ति सुरक्षामा असर पुग्ने गतिविधि हुने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए।

जिल्लामा हुने कतिपय अपराधिक घटनाको सुरुवात मेला पर्वमा युवामा हुने मनमुटाम र झैझगडाबाट सुरुवात भएको पाइएकाले निश्चित अवधिका लागि अनुमति लिएर शान्ति सुरक्षालाई असर नपर्ने गरी मौलिककला संस्कृतिको संरक्षणमा योगदान पुग्ने गरी मेला सञ्चालन गर्नुपर्ने उनले बताए।

चाड पर्वको समयमा हुने अपराधिक गतिविधि नियन्त्रण गर्न र शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि जिल्ला प्रहरी कार्यालयले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्ने तयारी गरेको जनाएको छ । 

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १२ : ५८ बजे

माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान

पोखरा– मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ

रूसमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो

एजेन्सी– चालु महिनामा पश्चिमी रूसमा विषाक्त मदिराको सेवनबाट मृत्यु हुनेहरुको

अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी सम्मानित

काठमाडौं– नेपाल बुदोकैदो ‘फूल कन्ट्याक्ट’ कराते सङ्घले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापित : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ

नवरात्र : शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं– आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज बिहानैदेखि