धानको समर्थन मूल्यको पर्खाइमा किसान « Khabarhub

धानको समर्थन मूल्यको पर्खाइमा किसान


१० कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन् । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो गर्न केही धान प्रति क्विन्टल दुई हजार ५०० रुपैयाँमा बिक्री गरेका उनी बाँकी धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्नका लागि खाद्यलाई पर्खेर बसेका हुन् ।

‘घर खर्चका लागि सस्तोमा पनि धान बिक्री नगरी नहुने भएपछि १० क्विन्टल धान झण्डै एक हजार सस्तोमा बिक्री गर्नुपर्‍याे ।’ उनी भन्छन्, ‘खाद्यले समयमा किसानको धान खरिद गरेको भए मैले १० हजार घाटा खाएर धान बिक्री गर्नुपर्ने थिएन ।’

यो पीडा बन्धुरामको मात्रै होइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद नगर्दा अधिकांश किसान मर्कामा परेका छन् । घरको आर्थिक जोहो गर्न र उत्पादन भएको धान राख्ने ठाउँ नहुँदा किसान सस्तोमा धान बिक्री गर्न बाध्य छन् । अझै चाडपर्वको समयमा बढी खर्च चाहिने हुँदा किसानले बर्सेनि त्यसको जोहो धान बेचेरै गर्ने गरेका छन् ।

‘३०–४० क्विन्टल धान हुन्छ, त्यो व्यवस्थापन गर्ने ठाउँ हुँदैन । बाध्यताले पनि सस्तोमा बिक्री गर्नैपर्‍याे ।’ भजनी नगरपालिका–३ का श्रवण थारू भन्छन्, ‘हरेक अभावका बाबजुद उत्पादन भएको धान किसानले आफ्नो लागत नउठ्दा पनि बिक्री गर्नुपरिरहेको छ ।’

भजनीकै अर्का किसान जयप्रसाद ढुङ्गानाले सरकारले किसानको पीडा कहिल्यै नबुझेको गुनासो गरे । उनले चैते धान बिक्री गर्दा होस् वा बर्खे धान बिक्री गर्दा होस् सरकारले आफैँ तोकेको समर्थन मूल्यमा समयमा धान खरिद गर्न नसकेको बताए । किसानका समस्या जबसम्म राज्यले सम्बोधन गर्दैन तबसम्म किसान आत्मनिर्भर बन्न नसक्ने उनको बुझाइ छ ।

कैयौँं किसानले खाद्य संस्थानको पर्खाइमा धान नै भित्र्याएका छैनन् । खेतमै धान थुपारेर केही किसानले खाद्यको बाटो कुरिरहेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिदमा चासो नदिएपछि किसानहरूको चौतर्फी विरोध हुँदा स्थानीय प्रशासनसहित सरोकारवालाले यथाशीघ्र किसानको धान खरिद गर्न आग्रह गरेका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल लगायतका सरोकारवालाको छलफलले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र धान खरिदको कोटा बढाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सरकारी स्वामित्वको खाद्यले सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । खाद्यले धान खरिद सुरु गरेपछि व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् । खाद्यले कैलालीको टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढीको मोहनपुर गरी ६ ठाउँमा डिपो राखेर धान खरिद गर्ने गरेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले खरिद केन्द्रमा धान खरिदको तयारी भइरहेको बताए । केन्द्रबाट धान खरिदको परिपत्र नआएको जानकारी दिए । केन्द्रले कोटा निर्धारणसहितको परिपत्र पठाएलगत्तै खरिद सुरु गरिने उनको भनाइ छ ।

उनका अनुसार कति मात्रामा धान खरिद गर्ने भनेर केन्द्रले कोटा निर्धारण गर्ने गरेको छ । (रासस)

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार  ११ : ०७ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको