भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले हाल जेल जीवन बिताइरहेका सभापति रवि लामिछानेलाई कारागार प्रशासनकै आग्रहमा नख्खुबाट निकालिएको दाबी गरेका छन् ।
भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे जवाफ दिँदै उनले रवि बलजफ्तीले नभई कारागार प्रशासनकै आग्रहअनुसार बाहिर आएको बताएका हुन् ।
उनले त्यसदिन रविलाई निकाल्न भन्दै कारागार प्रशासनले अर्का उपसभापति डा. स्वर्णिम वाग्लेलाई फोन गरेको जिकिर पनि गरेका छन् । अर्यालय सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थिए ।
‘तपाईं, डीपी अर्याल वा निकिता पौडेलमध्ये कोही आउनुपर्छ’, नख्खुबाट स्वर्णिमलाई आएको फोनबारे उनले भने । उनले उक्त प्रमाण पार्टीसँग सुरक्षित रहेको पनि जिकिर गरे ।
उनले रवि लामिछानेलाई नख्खु कारागारबाट जबरजस्ती ननिकालेको भन्दै आफ्नो बचाउ गरे । ‘भदौ २४ गतेको त्यस परिस्थितिमा सरकारकै उच्च तहले रविलाई जेलबाट बुझिदिन भनेर आग्रह गरेकाले हामी गएका हौँ’, उनले भने ।
नख्खुका जेलरले पनि आफूहरू नै असुरक्षित भएकाले रविलाई लैजान भनेको उनको जिकिर छ । ‘कारागार प्रशासनले पनि हामी आफैँ असुरक्षित भयौं, आएर रवि लामिछानेलाई सुरक्षितसाथ लैजान आग्रह गरेको थियो’, उनले भने, ‘त्यसको प्रमाण हामीले सुरक्षित राखेका छौँ ।
उनले पत्रकारहरूसँग उक्त प्रमाण मागेमा सरकारलाई उपलब्ध गराउने पनि जनाउ दिएका छन् । ‘सरकार र कारागार प्रशासनले हामीलाई गरेको आग्रहको प्रमाण देखाउन तयार छौँ’, उनले भने, ‘सरकारले छानबिन गर्न चाहेको बेलामा त्यो प्रमाण पार्टीले औपचारिक रुपमा दिने छ ।’
उनले २४ भदौमा भएको जेन-जी आन्दोलनका क्रममा रविलाई छुटाउने उक्त निर्णयमा आफ्नो गल्ती भेटिएमा कारबाही सहन तयार रहेको पनि उनले बताएका छन् ।
त्यसबेला सभापति लामिछानेलाई लिन जाने टोलीमा उनी पनि थिए । अर्यालले पार्टीका सबै तहका नेता-कार्यकर्ताले कमजोरी गरेको भए छानबिन र कारबाही हुनुपर्ने बताए । उनले नख्खु घटनामा पार्टीको अनुशासन आयोगले पनि छानबिन गरिरहेको उल्लेख गरेका छन् ।
उनल गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनलाई फरक फरक तरिकाले हेर्नुपर्ने बताए । भदौ २३ गते राज्यबाट भएको दमन र २४ गते आन्दोलनका नाममा भएको तोडफोड र विध्वंशको अलग अलग कोणमा छानबिन हुनुपर्ने तर्क उनले गरे ।
अर्यालले निर्वाचन आयोगको आह्वानपछि मतदाता परिचयपत्र बनाउन पार्टीले सबै जिल्लामा पार्टी कार्यकर्तालाई कात्तिक २५ गतेसम्म सक्रिय हुन भनेको पनि बताए ।
उनले रास्वपालाई मूलधारको पहिलो शक्ति बनाउन जेन-जी आन्दोलनका अगुवा, ऊर्जामन्त्री कुलमान घिसिङ लगायतसँग छलफल भइरहेको बताए। उनले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताए ।













प्रतिक्रिया