वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसनजिकै बुधबार दुई नेशनल गार्डका जवानलाई गोली हानिएको छ। घटनामा संलग्न एक अफगान शरणार्थीलाई पक्राउ गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
एफबीआईका अनुसार हमलामा संलग्न २९ वर्षीय रहमानुल्लाह लाकनवाल सन् २०२१ को अगस्टमा अफगानिस्तानबाट अमेरिका आएका थिए। उनले २०२४ मा शरणार्थी दर्जाका लागि आवेदन दिएको खुलेको छ। सन् २०२५ अप्रिलमा त्यसलाई स्वीकृति मिलेको पनि पाइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनालाई आतंकवादी हमला बताउँदै दोषीले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए। उनले अमेरिकामा अफगान शरणार्थीको प्रवेश तुरुन्त रोक्ने घोषणा पनि गरे।
महिला गार्डको टाउकोमा गोली
गोलीकाण्ड फ्यारागट वेस्ट मेट्रो स्टेशन नजिक भएको हो। केहीबेर त्यहाँ बसिरहेपछि लाकनवालले स्थानीय समय अनुसार दिउँसो २:१५ बजे गोली चलाउन सुरु गरेको न्यूयोर्क पोस्टले जनाएको छ।
उनले सुरुमा एक महिला गार्डलाई छातीमा गोली हानेर त्यसपछि टाउकोमा पनि फायर गरेका थिए। त्यसपछि उनले अर्को गार्डतिर फायर गरेको बताइएको छ।
त्यहीबेला नजिकै रहेका तेस्रो गार्डले लाकनवालमाथि चार राउण्ड फायर गर्दै उसलाई नियन्त्रणमा लिए। हमलावरलाई लगभग नग्न अवस्थामा एम्बुलेन्समा लगिएको थियो।
आरोपी १० वर्ष अफगान सेनामा कार्यरत
एनबीसी न्यूजका अनुसार, लाकनवालका एक आफन्तले उसले अफगानिस्तानको खोस्त प्रान्तमा बाल्यकाल बिताएको बताए। चार वर्षअघि अमेरिका पुगेको उनी वाशिङटन राज्यको बेलिङह्याममा पत्नी र पाँच बच्चासँग बस्दै आएका थिए।
उनका अनुसार लाकनवालले अफगान सेनामा १० वर्ष काम गरेका थिए । यस अवधिमा अमेरिकी स्पेशल फोर्सेजसँग मिलेर विभिन्न अपरेशनमा सहभागी भएका थिए।
उनले लाकनवालसँग केही महिनादेखि सम्पर्क नभएको र अन्तिम पटक उनी अमेजनका लागि काम गरिरहेको बताएका थिए।
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस) ले अफगान नागरिकका सबै इमिग्रेशन प्रक्रिया अनिश्चितकालका लागि रोकिएको जनाएको छ।
एजेन्सीका अनुसार सुरक्षा जाँच र भेरिफिकेशन प्रणाली पुनःसमीक्षा गरिँदैछ । समीक्षा सनकिएसम्म कुनै अफगान नागरिकले आप्रवासन प्रक्रिया अगाडि बढाउन पाउने छैनन्।
ट्रम्पले यसो भने
अमेरिकी न्याय विभागले घटनालाई आतंकवादी हमलाका रूपमा अनुसन्धान गरिरहेको छ। घटनापछि राष्ट्रपति ट्रम्पले वासिङ्टन डीसीमा सुरक्षा कडा बनाउन ५०० अतिरिक्त नेशनल गार्ड पठाउन निर्देशन दिए।
ट्रम्पले सीएनएन र अन्य सञ्चारमाध्यमसँग कुरा गर्दै सन्दिग्धलाई ‘जनावर’ सम्बोधन गर्दै कडा कारबाही गर्ने बताएका छन्।
उनले ट्रुथ सोसलमा लेखे,‘हाम्रो महान नेशनल गार्ड र सुरक्षा बलमाथि गर्व छ। यो राष्ट्रविरुद्धको अपराध हो, मानवताविरुद्धको अपराध हो।’
ट्रम्पले भिडियो सन्देश जारी गर्दै भने, ‘सन्दिग्ध एउटा विदेशी हो, जो अफगानिस्तान जस्तो नरकसरह स्थानबाट यहाँ आएको हो।’
उनले अघिल्लो सरकारको समयमा अमेरिका आएका सबै अफगान नागरिकको पुनः जाँच गरिने बताएका छन् ।
ट्रम्पले बाइडेन प्रशासनमा २ करोड जति विदेशी बिनाउचित जाँच अमेरिका आएको दाबी गर्दै यसलाई राष्ट्र सुरक्षा जोखिम भने।
आरोपीको उद्देश्य अझै अस्पष्ट
रिपोर्टका अनुसार, लाकनवाल ‘अपरिसन एलाइज वेलकम’ कार्यक्रमअन्तर्गत अमेरिका आएको थिए। उनलाई वासिङ्टनको बेलिङह्याममा बसोबास गराइएको थियो। अहिलेसम्म उनले एक्लै नेशनल गार्डमाथि गोली चलाएको देखिएको छ । तर किन त्यसरी आक्रमण गरे खुलेको छैन।
ट्रम्पले बाइडेन प्रशासनमाथि आरोप लगाउँदै हमलावरलाई यही प्रशासनका कारण अमेरिका ल्याइएको बताए।
न्यूयोर्क पोस्टका अनुसार घाइतेमध्ये एक जवानको पहिचान एन्ड्र्यू वोल्फका रूपमा भएको छ। उनी अहिले सर्जरीमा छन् र अवस्था गम्भीर छ।
जहाँ महिला गार्डलाई छाती र टाउकोमा गोली लागेको थियो, उनको पहिचान सार्वजनिक गरिएको छैन।













प्रतिक्रिया