ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत « Khabarhub

ओलीको भाषण प्रसारण गर्ने अनलाइनलाई स्पष्टीकरण, काउन्सिलकै सदस्यले भने : झ्यालबाट निर्णय छिराउनु गलत


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भाषण प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले ‘मेरो न्युज डटकम’ लगायत अनलाइनलाई २४ घण्टे पत्र काटेको छ ।

काउन्सिलले बाराको सिमरा घटनालाई लिएर ओलीले दिएको एउटा अभिव्यक्तिलाई उत्तेजक भन्दै उक्त सामग्री सामाजिक सञ्जालमार्फत् प्रसारण गरेको आरोपसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

काउन्सिलका अनुगमन अधिकृत सन्तोष अधिकारीद्वारा जारी निर्देशनमा मेरो न्युज डटकमद्वारा सञ्चालित ‘मेरो न्युज फेसबुक पेज र रिल’मार्फत ‘ओली केपी ओली’ शीर्षकमा उत्तेजना फैल्याउने सामग्री प्रसारण भएको स्वअनुगमनबाट देखिएको उल्लेख छ।

काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमले सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्ने दायित्वको स्मरण गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउने, हिंसा वा वैमनश्यता बढाउने सामग्री पत्रकार आचारसंहिता विपरीत हुने चेतावनी दिएको छ। यस्ता सामग्रीलाई कुनै पनि परिस्थितिमा स्थान नदिन काउन्सिलले निर्देश गरेको छ।

निर्देशनमा उक्त सामग्री पत्रकार आचारसंहिता प्रतिकूल भएकाले २४ घण्टाभित्र स्थगित वा सम्पादन गरी काउन्सिललाई जानकारी गराउन मेरो न्युजलाई निर्देशन दिइएको छ । भविष्यमा आचारसंहिता विपरीत हुने सामग्री प्रकाशित/प्रसारण नगर्न सचेत गराइएको छ।

के छ पत्रमा ?

काउन्सिलले काटेको पत्रमा ‘सिमरा घटनाबारे ओली’ शीर्षक दिएर उत्तेजक अभिव्यक्तिसहितको सामग्री फेसबुकबाट सम्प्रेषण भएको स्वअनुगमनबाट भेटिएको भनिएको छ।

‘सामाजिक सञ्जाल (फेसबुक पेज/रिल) बाट सम्प्रेषित आचारसंहिता प्रतिकुलका उक्त उत्तैजक एवम् हिंसालाई बढावा दिने किसिमको सामग्री सम्पादन गरी वा स्थगत गरी २४ घन्टाभित्र काउन्सिललाई जानकारी गराउन निर्देशन दिइन्छ’, काउन्सिलले भनेको छ, ‘यसका साथै आगामी दिनमा आचारसंहिता प्रतिकूल हुने यस्ता सामग्रीलाई स्थान नदिनेतर्फ सजगता अपनाउनसमेत निर्देशानुसार सचेत गराइन्छ ।’

उक्त पत्रमा ओलीले सिमरा घटनाबारे दिएको अभिव्यक्तिको कुन अंश सम्पादन गर्ने खुलाइएको छैन । काउन्सिलका एक अधिकारीले ‘एमालेमाथि हमला हुन्छ भने एमालेले फनक्क फर्केर जवाफ दिन्छ’ भनिएको अंशलाई लिएर काउन्सिलले आपत्तिजनक भन्दै पत्र काटेको हो ।

सदस्यकै आपत्ति

स्पष्टीकरणलाई लिएर काउन्सिलका सदस्य सन्तराम बिडारीले गलत अभ्यास गर्न नहुने बताएका छन् । पेशागत मर्यादा र आचारसंहिताको पूर्ण परिपालना गरेर पत्रकारिता पेशालाई जोगाउनुपर्ने उनको जोड छ ।

‘यसको अर्थ, स्वतन्त्र प्रेसको विश्वव्यापी अवधारणामा कुनै पनि पक्षबाट अलिकति पनि दख्खल हुनु हुँदैन। यी दुईबीचको सन्तुलन र न्यायोचित व्याख्याले मात्र प्रेस काउन्सिल नेपालको गरिमा थप उचो हुन्छ’, उनी भन्छन्, ‘काउन्सिल, समिति र उपसमितिका बैठकहरूमा गम्भीर रूपमा एजेन्डा बनाई छलफल गरी दिइएका नीतिगत निर्देशन र आधिकारिक निर्णयबिनै आफुखुसी चल्ने प्रवृत्ति र त्यसको अपजस सबैले बोकिदिनुपर्ने स्थिति, अवश्य पनि स्वस्थ प्रणाली होइन।’

उनले काउन्सिलको ढोकाबाट नभएर झ्यालबाट निर्णय छिराउनु गलत भएको बताएका छन् । ‘‘लाहुरे भन्दा अघि गुन्टा’ जस्तै व्यवहार, र ढोकाबाट होइन’, उनले भनेका छन्, ‘झ्यालबाट छिराउने जस्ता अभ्यासहरू कुनै पनि हिसाबले स्वीकार्य हुँदैनन्।’

अर्की सदस्य निमा काफ्लेले ओलीको भनाइ अतिरञ्जनपूर्ण नभएको बताउँदै देशका पूर्वप्रधानमन्त्रीको सार्वजनिक मन्तव्यलाई उद्धृत वा प्रसारण गर्नु प्रेसको दायित्व हुने बताएकी छन् ।

जनप्रतिनिधि, सत्ता, नेतृत्व र सार्वजनिक तहमा रहेका व्यक्तिहरूका अभिव्यक्तिहरू स्वतन्त्र रूपमा प्रकाशित–प्रशारित हुनुपर्ने उनको मत छ । यसलाई अनुशासनको मुद्दा बनाउनु प्रेस स्वतन्त्रताको आधारभूत मान्यतासँग मेल नखाने उनको तर्क छ।

उनले मंसिर ९ गते बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा स्वास्थ्य कारणले उपस्थित हुन नसकेको बताउँदै त्यहाँ भएको यस निर्णयबार जानकारी नभएको दाबी गरेकी छन् ।

काउन्सिलले जनतामा राखेको विश्वास जोगिनुपर्ने बताउँदै उनले निर्णयहरू निष्पक्ष, पारदर्शी र प्रक्रियागत रूपमा शुद्ध हुनुपर्नेमा जोड दिएकी छन् ।

आपत्ति

नेकपा एमालेनिकट प्रेस चौतारी नेपालले पूर्वप्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई जस्ताको तस्तै प्रसारण गरेकै कारण सञ्चार माध्यममाथि कारबाही गरिएको भन्दै आपत्ति जनाएको छ ।

चौतारीले काउन्सिलको पत्रलाई प्रेस स्वतन्त्रता माथिको आक्रमण भनेको छ । संगठनका अध्यक्ष गणेश पाण्डेले भनेका छन्, ‘प्रेस काउन्सिल नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भाषण प्रसारण गरेको विषयमा एउटा अनलाइनलाई पत्र काटेको विषयमा प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । सार्वजनिक रूपमा पूर्वप्रधानमन्त्रीले दिएको मन्तव्य प्रकाशन/प्रसारण गर्नु प्रेसको धर्म र दायित्व हो । हामी प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत तत्काल सच्चाउन आग्रह गर्दछौँ ।’

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : ३४ बजे

तस्बिरमा हेर्नुहोस्, सुदूरपश्चिम रोयल्स र लुम्बिनी लान्यसको प्रतिस्पर्धा 

काठमाडौं– नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत खेलमा लुम्बिनी लायन्स

लुम्बिनीविरुद्ध सुदूरपश्चिमका बिनोदको अर्धशतक

काठमाडौं – नेपाली प्रिमियर लिग (एनपीएल) सिजन २ को १३

पूर्वाधार निर्माणको योजनामा वातावरणीय पक्ष समावेश गर्न संयोजक डंगोलको निर्देशन 

काठमाडौं– काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगालले

नेपाली कम्युनिस्ट पार्टी र विभिन्न घटकबीच एकता घोषणा कार्यक्रम शुरू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकिकरण पक्षधर

घोराही–तुलसीपुर खण्डमा चार लेनको सडक निर्माण सुरु

दाङ– लामो प्रतीक्षापछि घोराही–तुलसीपुर चार लेन सडक निर्माण सुरु भएको