भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय « Khabarhub

भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा शेख हसिनालाई २१ वर्षको जेल सजाय


११ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको एक विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्रसँग सम्बन्धित तीनवटा धोखाधडीका मुद्दामा २१ वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेका हुन् ।

बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोग (एसिसी) ले गत जनवरीमा शेख हसिना र उनको परिवारका सदस्यहरू विरुद्ध ढाकाको पूर्वाचल क्षेत्रमा सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको गरेको आरोपमा छ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । बाँकी तीन मुद्दाको फैसला आउँदो डिसेम्बर १ मा सुनाइनेछ ।

अदालतले शेख हसिनाका छोरा सजीब वाजेद जोयलाई पाँच वर्षको कैद र एक लाख टाका जरिवाना तोकेको छ । त्यस्तै, छोरी साइमा वाजेद पुतुललाई पनि पाँच वर्षको जेल सजाय सुनाइएको छ ।

यसअघि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले शेख हसिनालाई सन् २०२४ जुलाईमा सरकार विरोधी आन्दोलन दमनको क्रममा मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइसकेको छ । ती घटनामा मानव अधिकार उल्लङ्घन भएको भन्दै आइसिटीले थप कडा कारबाही गरेको थियो ।

शेख हसिना र उनका परिवारका सदस्यहरू फरार अवस्थामा रहेकाले मुद्दाहरूमा उनीहरूका तर्फबाट वकिल उपस्थित थिएनन् । तथापि, शेख हसिना र उनका निकटस्थहरूले विभिन्न भाषण र सार्वजनिक अभिव्यक्तिहरूमार्फत आफूहरू कुनै प्रकारको भ्रष्टाचारमा संलग्न नरहेको दाबी गर्दै आएका छन् ।

उता, मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएकी शेख हसिनाको सुपुर्दगीका लागि बङ्गलादेशको अन्तरिम सरकारले भारतलाई गरेको अनुरोधबारे नयाँदिल्लीले हाल अध्ययन र मूल्यांकन गरिरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

साप्ताहिक मिडिया ब्रिफिङमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ढाकाबाट औपचारिक सञ्चार प्राप्त भएको जानकारी दिँदै भारतले बङ्गलादेशको शान्ति, लोकतन्त्र, समावेशीकरण र स्थिरताप्रतिको प्रतिबद्धता कायम राख्दै सबै पक्षसँग आवश्यक संवाद जारी राख्ने बताए।

सन् २०२४ जुलाईमा तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्यार्थी नेतृत्वको व्यापक विद्रोह भड्किएको थियो । निरन्तर दबाबपछि उनी सन् २०२४ अगस्ट ५ मा देश छाडेर भारतमा शरण लिन पुगेका थिए । त्यसपछि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो, जसले हालसम्मका कानूनी तथा राजनीतिक प्रक्रियाहरू अघि बढाइरहेको छ ।
 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार  १ : ५३ बजे

बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु

काठमाडौं- बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा

विराटनगरमा औद्योगिक प्रदर्शनी स्थल निर्माणका लागि सरकारसँग पहल गर्न उद्योगीको आग्रह

विराटनगर- सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी तथा व्यवसायीहरूले विराटनगर महानगरपालिका–३ मा

समुदाय-प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित

धरान– सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ ।

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको