काठमाडौं– सुशासन र न्यायको पक्षधरका रुपमा खरो मिजासको पहिचान बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले नै वर्षौँदेखि सार्वजनिक जग्गा मिचेको भेटिएको छ।
जेन–जी विद्रोहका बलमा गत भदौ २७ गते अन्तरिम सरकारको नेतृत्वमा आएकी कार्कीले टोखा नगरपालिका–४ धापासीस्थित भोसिङडोलमा रहेको आफ्नो घरसँगैको सार्वजनिक जग्गा मिचेको भेटिएको हो ।
सार्वजनिक जग्गा मिचेको प्रकरणमा योहो टेलिभिजनले बुधबार भिडियो रिपोर्ट नै प्रसारण गरिसकेको छ । प्रधानमन्त्री कार्कीको परिवारले सुरक्षकर्मी राख्ने नाममा सार्वजनिक जग्गा मिचेर उपभोग गरेको तथ्य बाहिरिएसँगै उनको भ्रष्टाचारविरोधी छविमै प्रश्न उठेको छ ।
योहोले प्रसारण गरेको उक्त रिपोर्टमा प्रधानमन्त्री कार्कीले बनाएको घरले चर्चेको जग्गाको कित्ता, क्षेत्रफल र सार्वजनिक जग्गा मिचिएको विवरण पनि देखाइएको छ ।
उक्त रिर्पोट प्रसारणपछि खबरहब संवाददाताले बिहीबार स्थलगत रूपमा रिर्पोटिङ गर्दा कार्कीको घर टोखा नगरपालिका–४ स्थित भिरालो भोसिङडोल टोलमा भेटिएको छ ।
योहोको भिडियो रिपोर्ट
उत्तिसको रुखलाई नेपाल भाषामा भोसिङ भनिने गरिन्छ । त्यही उत्तिसको रुख पाइने ठाउँ भएकाले कार्कीले घर बनाएको ठाउँलाई भोसिङडोल भन्ने गरिएको वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले बताए ।
भोसिङडोलमा रहेको प्रधानमन्त्री कार्कीको घर भने उनका श्रीमान् दुर्गाप्रसाद सुवेदीको नाममा छ । भिरालो जग्गामा रहेको कार्कीको घरसम्म सार्वजनिक पाखो जोडिएको देखिन्छ ।
कार्कीको घरभन्दा तल अर्को घर छ, जुन घर तलतिरको समथर भागसम्म जोडिएको छ । तर, प्रधानमन्त्री कार्कीको घरबाट समथर भागसम्म जोड्ने बीचको भिरालो टुक्रो भने सार्वजनिक जग्गा हो । जुन जग्गामा पर्खाल उठाएर कार्कीको परिवारले प्रयोग गरेको स्थलगत रिर्पोटिङका क्रममा देखिएको छ । मिचिएको त्यो सार्वजनिक जग्गामा टिनले छाएको घर पनि कार्की परिवारले बनाएको छ ।
सरकारी तथ्यांकअनुसार कित्ता नम्बर ८ रहेको कार्कीको जग्गाको क्षेत्रफल ६ आना १ पैसा २ दाम हो । तर, प्रधानमन्त्रीको परिवारले ९ आना १ पैसा क्षेत्रफल चर्चेर उपभोग गरेको योहो टेलिभिजनले प्रसारण गरेको रिपोर्टमा उल्लेख छ ।
अरुले पनि मिचे
टोखा नगरपालिका–४ नम्बर वडाका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले प्रधानमन्त्रीसहित अन्य परिवारले पनि भोसिङडोलको सार्वजनिक जग्गा मिचेको बताए ।
प्रधानमन्त्री कार्कीको परिवारबाहेक अरु स्थानीयले पनि अतिक्रमण गरेर उक्त सार्वजनिक जग्गा प्रयोग गर्दै आएको खबरहबलाई बताए ।
‘त्यहाँ ३२ रोपनीको सार्वजनिक प्लट छ, उत्तिसका रुखहरू भएको सबै क्षेत्र ३२ रोपनीको हो । त्यहाँ पार्क बनाउन नगरपालिकाले डीपीआर तयार गर्दैछौँ, त्यसका लागि अहिले नगरपालिकाको तर्फबाट केही बजेट छुट्याएका छौं’, उनले भने, ‘तर त्यो ३२ रोपनीमध्येको केही जग्गामा (सुशीला कार्की) घरवालाले गाई गोठ बनाएको छ, उहाँले मात्रै मिचेको भन्ने होइन, उहाँसहित अन्य स्थानीयले पनि धेरै–थोरै सार्वजनिक जग्गा मिचेका छन् ।’
वडाध्यक्ष श्रेष्ठले प्रधानमन्त्री कार्कीले नै सार्वजनिक जग्गा अतिक्रमण गरेको स्वीकारेको बताएका छन् । प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश भएदेखि नै सार्वजनिक जग्गा अतिक्रमण गरेर भोगचलन गर्दै आएको श्रेष्ठले बताएका छन् ।
‘उहाँ नेपालको पहिलो प्रधानन्याधीस बन्नुभयो नि, त्यतिबेला देखि नै केही सार्वजनिक जग्गा भोगचलन गर्दै आएको हो’, श्रेष्ठ भन्छन्, ‘उहाँ प्रधानन्यायाधीश हुँदा नै उहाँका लागि खटिएका सुरक्षाकर्मीहरू बस्नका लागि क्वाटर नै बनाएर त्यो जग्गा अतिक्रमण गरेको पाइएको छ ।’
प्रधानमन्त्री कार्कीका पति दुर्गाप्रसाद सुवेदीले सार्वजनिक जग्गामा पहिला सेनाले टहरा बनाएर बसेको स्वीकारेका छन् । अहिले पनि त्यही टहरामा प्रहरी बसेको प्रतिक्रिया उनले दिएका छन् । तर, मूलघरले भने सार्वजनिक जग्गा नमिचेको स्पष्टीकरण उनले दिएका छन् ।
नमाने बल प्रयोग गर्ने नगरको रणनीति
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जेन–जी आन्दोलनको केही समयअघि मात्रै प्रधानमन्त्री कार्कीले सार्वजनिक जग्गा मिचेर भोगचलन गरेको थाहा पाएको बताएका छन्।
उनले संवादको प्रक्रियाबाट फिर्ता गर्न पहल गरिने बताउँदै त्यसो गर्दा नसकेमा बल प्रयोग गर्ने उल्लेख गरेका छन् ।
‘सम्मानित प्रधानमन्त्री सुशीला कार्कीको जमिनमा पनि ३२ रोपनीबाट केही पसेको छ भन्ने कुरा जेन–जी आन्दोलनको केही समयअघि थाहा पाएका हौँ’, उनले भने, ‘त्यसपछि के रणनीति अपनाएका छौँ भने पहिले संवाद गरौँ, यदि संवादबाट छोड्न नचाहे त्यसपछि नगरपालिकाबाट प्रचार गरौँ, प्रचार गरेर पनि उहाँहरूले छोड्नु नभए बल प्रयोग गरेर लिने रणनीति कायम छ, जुन हिजो पनि थियो ।’
टोखा नगरपालिकामा प्रमुख अधिकारीको यो दोस्रो कार्यकाल हो । उनले आफ्नो दोस्रो कार्यकालको यो अवधिसम्म १४ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको बताएका छन् ।
तस्बिरमा हेर्नुहोस् कार्की परिवारले चर्चेको सार्वजनिक जग्गा

















प्रतिक्रिया