भाइरल भयो हर्क साम्पाङ र वीपीका रजिष्ट्रारको भनाभन | Khabarhub Khabarhub

भाइरल भयो हर्क साम्पाङ र वीपीका रजिष्ट्रारको भनाभन

तपाई जानोस् ! कर्मचारीको गफ गर्ने हैसियत छैन : मेयर साम्पाङ


१६ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्यप्रसाद संग्रौलाबीच तरकारी बजारको विषयमा भनाभन भएको छ ।

वीपी प्रतिष्ठानले ग्रिनबेल्टका रुपमा छाडेको आफ्नो स्वामित्वको जग्गामा धरान उपमहानगरपालिकाले तरकारी बजार लगाउने तयारी गरेपछि विवाद शुरु भएको थियो । साम्पाङले बिहीबार धरान–१८ मा शिलान्यास गरेको तरकारी बजार निर्माणस्थलमै भनाभन भएको हो । तरकारी बजार शिलान्यास नहुँदै विवादित बनेको छ ।

वीपी प्रतिष्ठानका रजिष्ट्रार संग्रौलाले आपसी छलफल र सहमतिविनै मेयर साम्पाङले भौतिक संरचना बनाउन शिलान्यास गरेको आरोप लगाएका छन् ।

बिहीबार शिलान्यास भइरहेका बेला प्रतिष्ठानका रजिष्ट्रार प्राडा सूर्य प्रसाद संग्रौला आफैं फिल्डमा पुगेर निर्माण कार्य रोक्न आग्रह गरेका थिए ।

मेयर साम्पाङले कम्पाउण्ड बाहिरको जग्गामा प्रतिष्ठानले दाबी गर्न नमिल्ने र उक्त जग्गा धरान नगरकै भएको जिकिर गरेर संग्रौलालाई फर्काएका थिए ।

मेयर साम्पाङले जनप्रतिधिसँग कर्मचारीको वात गर्ने हैसियत नभएको भन्दै स्वास्थ्यमन्त्रीसँग मात्रै कुरा गर्ने भनेर रजिष्ट्रार संगौलालाई फर्काएका हुन् ।

भनाभन भाइरल

तरकारी बजारको पूर्वाधार तयारीका लागि शिलान्यास भइरहेका बेला मेयर साम्पाङ र रजिष्ट्रार संग्रौलाबीच भनाभन भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

धरान–१८ मा पर्ने वीपी प्रतिष्ठानको कम्पाउण्ड भन्दा बाहिरको जग्गामा तरकारी बजार पूर्वाधार तयारीका लागि मेयर भिजन कोषबाट खर्च हुनेगरी ६५ लाख ७० हजार रुपैयाँको १२ कोठे भवनको शिलान्यास हुनै लाग्दा रजिष्ट्रार संग्रौला फिल्डमा पुग्छन् र उक्त जग्गा वीपी प्रतिष्ठान स्वामित्वको रहेको र ग्रिनबेल्टका लागि छाडिएको कुरा राख्छन् । तर, मेयर राईले उल्टै थर्काएर तपाई जानुस् भनेर फकाईदिन्छन् ।

मेयर र रजिष्ट्रारको संवाद यस्तो सुनिन्छ –


मेयर साम्पाङ : धरानभित्र वीपी अस्पताल छ कि वीपी अस्पतालभित्र धरान छ ?

रजिष्ट्रार संग्रौला : होइन, ठिकै छ त । मैले एकचोटि अनुरोध गरें ।

मेयर साम्पाङ : हुँदैन, यो हाम्रो बजेटभित्रको कार्यक्रम हो । हैन ?

रजिष्ट्रार संग्रौला : मैले हिजो एउटा अनुरोध गरें । हाम्रा कानूनले…..(वीचैमा मेयरले रोक्छन्)

मेयर साम्पाङ : वीपी अस्पताल धरानभित्र छ है, धरानभित्र ।

रजिष्ट्रार संग्रौला : (अलि जंगिँदै) मलाई अलिकति बोल्नु दिनु न मेयर साव ।

मेयर साम्पाङ : कानूनमा जानु न तपाई, भैगो त ।

रजिष्ट्रार संग्रौला : कानूनमै जाने हो ?

मेयर साम्पाङ : त्यै हो ।

रजिष्ट्रार संग्रौला : ल ठीक छ । थ्याङक यु । (यति भनेर हिँड्न खोज्छन्)

मेयर साम्पाङ : तपाईहरुको अस्पताल धरानभित्र छ ।

रजिष्ट्रार संग्रौला : ( फेरि मेयरतिर अलिकति फर्केर) मेरो अस्पताल होइन । हजुरको अस्पताल हो । मेरो अस्पताल होइन ।

मेयर साम्पाङ : हो, अनि । स्थानीय सरकारसँग कर्मचारी भएर कुन हैसियतमा बात मारेको ?

रजिष्ट्रार संग्रौला : कर्मचारी…..कर्मचारी …. ।

मेयर साम्पाङ : कर्मचारी बात मारेर हुँदैन है । तपाईको केरे, स्वास्थ्यमन्त्रीसँग बात मार्छु । ल ।

रजिष्ट्रार संग्रौला : ल ल । ल हजुरहरु गर्नुहोस् । बाँकी सवाल, बाँकी कुरो मैले हिजो निवेदन ……..।

मेयर साम्पाङ : अनुरोध… तपाईको कुरा गर्ने हो भने यो अगाडि बजार बन्दा तपाईले किन बोल्नुभएन ?

रजिष्ट्रार संग्रौला : त्यतिखेर म थिइन । तर, अहिले मैले डकुमेन्टेसन ….यो कम्पाउण्ड …

मेयर साम्पाङ : यो कम्पाउण्डभित्र तपाईको हो भने बोल्नुस् । तपाई मसँग नबोल्नु । तपाईको हैसियत छैन । जनप्रतिनिधिसँग सिर्फ जनप्रतिनिधि बोल्छ । स्वास्थ्यमन्त्रीसँग मात्रै बोल्छु ।

रजिष्ट्रार संग्रौला : हस् हस् ।

मेयर साम्पाङ : तपाई जानुस् । तपाई जानुस् ।

रजिष्ट्रार संग्रौला : मैले एउटा के छ भने प्रतिष्ठानको हैसियतले प्रशासनमा बसेको मान्छेले आफ्नो कुरो हजुरलाई जानकारी गराएँ।

मेयर साम्पाङ : यता सुन्नु न । तपाई भनेको जनप्रतिनिधि हो ? कर्मचारीको हैसियत हुँदैन । जानुस् ।

रजिष्ट्रार संग्रौला : (शिलान्यासस्थलबाट हिँड्दै) मैले आफ्नो कुरो राखिदिएको हो ।

जसरी पनि तरकारी बजार बनाइन्छ : साम्पाङ

शिलान्यास स्थलबाट प्राडा संग्रौला हिँडिसकेपछि मेयर साम्पाङले पालिकाको व्यवस्थित तरकारी बजार स्थल निर्माण गरेर बजारलाई विकेन्द्रीकरण गर्न खोजेको बताए ।

विगतमा पनि वीपी प्रतिष्ठान अगाडि नै वीपी सुन्दर बजार बनेको र व्यायामशालासमेत बनिसकेको उदाहरण देखाउँदै उनले कम्पाउण्ड बाहिरको जग्गालाई प्रतिष्ठानले आफ्नो दाबी गर्न नसक्ने बताए । उनले भने, ‘वीपीको जग्गा हो भन्नुहुन्छ, तर हामी जसरी पनि बनाउँछौं ।’

वीपी प्रतिष्ठान भन्छ– कम्पाउण्ड बाहिरको जग्गा पनि हाम्रै हो

वीपी प्रतिष्ठानका रजिष्ट्रार प्राडा संग्रौलाले धरानका लब्धप्रतिष्ठित समाजसेवी, बुद्धिजीबी, नागरिक अगुवा, राजनैतिक दल र सरोकारवालालाई सम्बोधन गर्दै अपील जारी गरेका छन् ।

अपिलमा भनिएको छ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूलगेट भन्दा पश्चिमतर्फको बाटोको छेउमा रहेको प्रतिष्ठानको ग्रिनबेल्ट क्षेत्रमा श्रीमान नगरप्रमुख ज्यूबाट संरचना निर्माण गर्ने विषयवस्तु सार्वजनिक रुपमा युटयुवमा प्रशारण भएको प्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ ।’

अपीलमा अगाडि भनिएको छ, ‘प्रतिष्ठानका रजिष्ट्रारले श्रीमान नगरप्रमुखज्यु, धरान उपमहानगरपालिकासँग ०८१ फागुन १४ गते टेलिफोन सम्वाद गरी प्रतिष्ठानसँग छलफल एवं अन्तक्र्रिया गरी सहमति पश्चातमात्र प्रक्रिया गर्न अनुरोध गरेको र प्रतिष्ठानको च.नं. ५१७६/०८१/०८२ को पत्रबाट सोही व्यहोरा उल्लेख गर्दै वीपी प्रतिष्ठान र धरान उपमहानगरपालिका दुवै सार्वजनिक संस्था भएको हुँदा दुवै संस्थाले आपसी छलफल र सहमतिमा जनहितको कार्य गर्दा उचित हुने व्यहोरा अनुरोध गरी पत्राचार गरिएको समेत सबैको जानकारीका लागि अनुरोध छ ।’

वीपी प्रतिष्ठानले आफ्नो सीमाना र त्यसभित्र रहेका १ देखि ११ कित्ताका २८२ विघा ९ कट्ठा ३ धुर र धरान अस्पतालको नाममा रहेको कित्ता २४ को १ विघा ४ कट्ठा १३ धुर जग्गा सबै वीपी प्रतिष्ठानका नाममा नामसारी भएको समेत जानकारी दिएको छ ।

प्रतिष्ठानले आफ्नो बाउण्ड्री वाल निर्माण गर्दा पेरिफेरल रोड, ड्रेन र ग्रिनबेल्टको क्षेत्रलाई छाडेर मात्रै अस्पतालको बाउण्ड्री वाल तयार गरेको जनाउँदै अपीलमा भनिएको छ, ‘यसको कारण प्रतिष्ठानमा भविष्यमा हुने निर्माण, अस्पताल क्षेत्र वरिपरि राख्नुपर्ने हरित वातावरणीय अवस्था तथा भैपरी आउन सक्ने विपत्ति, प्रकोप तथा आपत विपतको अवस्थामा रहनुपर्ने आवश्यक खुल्ला क्षेत्रको मापदण्डलाई मध्यनजर गरी उक्त क्षेत्रमा प्रतिष्ठानले हालसम्म कुनै पनि संरचना निर्माण नगरेको समेत सवैलाई जानकारी गराइन्छ ।’

प्रतिष्ठानमा ४ सय शैयाको मातृशिशु स्याहार केन्द्र (एमसीएच) भवन निर्माण सम्पन्न हुँदै गरेको र तरकारी बजारसँगै रहने एमसीएच भवनमा सुत्केरी आमा र नवजात शिशुको संवेदनशील उपचार सेवा सञ्चालन हुदा उक्त क्षेत्र वरपर खुला, सफा तथा हरित वातावरण हुन अत्यावश्यक हुन जाने पनि अपिलमार्फत जानकारी गराइएको छ ।

सोही क्षेत्रमा नेपाल सरकारकै पूर्ण अनुदान सहयोगमा २ सय शैयाको मुटुरोग उपचार केन्द्र (कार्डियोलोजी) र २ सय शैयाको क्यान्सर रोग उपचार केन्द्र (अंकोलोजी) का भवन निर्माणको कार्ययोजना पारित भइसकेकाले चाँडै निर्माण कार्य सुरु हुने अवस्थामा रहेको पनि प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ६ : ३४ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट