कांग्रेस शीर्ष नेताकै वडामा सदस्यता नवीकरणमा कार्यकर्ताको अरुचि | Khabarhub Khabarhub

कांग्रेस शीर्ष नेताकै वडामा सदस्यता नवीकरणमा कार्यकर्ताको अरुचि

देउवाको वडाका ४० जनाद्वारा पार्टी परित्याग


१५ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि मातहतलाई दिएको समयावधि सोमबार (वैशाख १५) सकिँदैछ । गत चैत मसान्तभित्र गरिसक्नुपर्ने नवीकरणको कामले पूर्णता नपाएपछि कांग्रेसले वैशाख १५ सम्मका लागि समयावधि थप गरेको थियो । 

केन्द्रदेखि वडासम्म विस्तारित कांग्रेसका विभिन्न तहका कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ । कांग्रेसले क्रियाशील सदस्यहरूबाटै महाधिवेशन प्रतिनिधि छनोट गर्दछ । तिनै महाधिवेशन प्रतिनिधिले मतदान गरेर पार्टीको नयाँ नेतृत्व चयन गर्छन् ।

१४औँ महाधिवेशनमा कांग्रेसको झण्डै साढे आठ लाख क्रियाशील सदस्य पुगेका थिए । कांग्रेसले १३ औँ महाधिवेशनको क्रियाशील सदस्य संख्यालाई दोब्बर बनाउने भन्दै झण्डै साढे आठ लाख पुर्‍याएको थियो । 

जसमध्ये झण्डै चार लाख ४२ हजार क्रियाशील सदस्यहरू नयाँ थिए । १४ औँ महाधिवेशनको संघारमा झण्डै ७० हजारले क्रियाशील सदस्यले सदस्यता नवीकरण गरेका थिएनन् । 

१३ औँ महाधिवेशनमा कांग्रेसका चार लाख ७० हजार क्रियाशील सदस्य थिए । जसमध्ये १४ औँ महाधिवेशनका लागि पुराना चार लाख तीन हजार ९१३ जनाले मात्रै सदस्यता नवीकरण गरेका थिए । 

यसपल्ट पनि कांग्रेसका शीर्ष तहका नेताहरूको क्रियाशील सदस्यता रहेका वडाहरूमा क्रियाशील सदस्यहरूले सदस्यता नवीकरणमा अरुचि देखाएको पाइएको छ । सभापति शेरबहादुर देउवाको क्रियाशील सदस्यता रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा ७९ जनाले नवीकरणमा अनिच्छा देखाएका छन् । 

गन्यापधुरा–१ का कांग्रेस वडा सचिव मीनराज जोशीकाअनुसार कुल १८४ मध्ये ११५ जनाले मात्रै क्रियाशील सदस्यता नवीकरण गरेका छन् । सभापति देउवाको वडाका ४० जना क्रियाशील सदस्यहरू पार्टी परित्याग गरेर नेपाली कांग्रेस (बीपी) मा गएका छन् । 

‘हामो वडामा १८४ जना क्रियाशील हुन् । त्यसमध्ये ४० जना करुवा (कांग्रेस बीपीको चुनाव चिन्ह) तिर गए । १० जनाको निधन भयो,’ वडा सचिव जोशीले खबरहबसँग भने, ‘केही देश बाहिर छन् । केही यतै पनि छन् । खबर गर्दा पनि आएनन् ।’

सभापति देउवाको वडामा जस्तै महाधिवेशनमा उनीसँगै सभापतिका लागि प्रतिस्पर्धा गरेका डा. शेखर कोइरालाको वडामा पनि कांग्रेसका क्रियाशील सदस्यहरू घटेका छन् । कोइरालाको सदस्यता रहेको मोरङको विराटनगर महानगरपालिका–७ मा पनि देउवाको वडाकै हाराहारीमा (७३ जना) क्रियाशील सदस्यहरूले नवीकरण नगरेको पाइएको छ । 

नेता कोइरालाको वडाका पार्टी सभापति अशोकराज विष्टले अघिल्लो महाधिवेशनका ५१० मध्ये ४३७ जनाले मात्रै क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिए । ‘हाम्रो वडामा ५१० जना क्रियाशील हो । अहिले ४३७ जनाले नवीकरण गरेका छन्,’ उनले खबरहबसँग भने, ‘४३७ देखि ४५० जनासम्म सदस्यथता नवीकरण हुन्छ ।’

वडा सभापति विष्टले केहीको मृत्यु भएको, केही विदेशमा रहेकाले नवीकरण गर्ने क्रियाशील सदस्यहरूको संख्या केही कम भएको प्रतिक्रिया दिए । ‘क्रियाशील सदस्यता रहेका केहीको मृत्यु भयो । केही कामको सिलसिलामा विदेश हुनुहुन्छ,’ उनले भने, ‘विदेश भएकाहरू तत्काल स्वदेश नफर्किने भएपछि हामीले रिन्यू नगरेका हौँ ।’

उपसभापति पूर्णबहादुर खड्काको क्रियाशील सदस्यता सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ८ मा छ । उनको वडामा पनि चार जनाले पार्टीको क्रियाशील सदस्यता नवीकरण नगरेको पाइएको छ । खड्काको वडाका सभापति किरण विकले यसपल्ट नवीकरण नगर्ने क्रियाशील सदस्यको संख्या चार रहेको जानकारी दिए । 

उपसभापति खड्को क्रियाशील सदस्यता रहेको वडामा यसअघि ८३ जना क्रियाशील सदस्य थिए । जसमध्ये अहिले ७९ जनाले सदस्यता नवीकरण गरेका छन् । नवीकरण नगरेकाहरू कोही घरमा नभएका र कोही पार्टीसँग नजिक नरहेका वडा सभापति विकको भनाइ छ । 

अर्का उपसभापति धनराज गुरुङको क्रियाशील सदस्यता रहेको वडामा भने शतप्रतिशत सदस्यहरूले नवीकरण गराएका छन् । स्याङ्जाको अर्जुन–चौपारी गाउँपालिका–२ मा १११ जनाको सदस्यता नवीकरण भएको वडा सभापति गगन गुरुङले खबरहबलाई जानकारी दिए । 

कांग्रेस महामन्त्री गगनकुमार थापाको क्रियाशील सदस्यता काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा छ । उनको वडामा पनि सभापति देउवाको वडाको झण्डै हाराहारीमा कांग्रेस कार्यकर्ताहरूले नवीकरण नगरेको भेटिएको छ । 

काठमाडौं–३० का वडाध्यक्षसमेत रहेका वडा सभापति दलबहादुर कार्कीका अनुसार पुराना ३०५ मध्ये ६९ जनाले क्रियाशील सदस्यता नवीकरण गराएका छैनन् । उनले २३६ जनाको नवीकरण र नयाँ ५४ गरी काठमाडौं–३० बाट २९० जना क्रियाशील सदस्यहरूको नामावली टुंग्याइएको जानकारी दिए । 

‘पहिला ३०५ थियो । जसमध्ये मरेको ३–४ जना छ । झण्डै २५–३० जना त विदेशमा हुनुहुन्छ,’ वडा सभापति कार्कीले खबरहबसँग भने, ‘अहिले नवीकरण र नयाँ गरेर २९० जति भएको छ । हामीले ५४ जना नयाँलाई सदस्यता दिएर पार्टीमा बुझाइसकेका छौँ ।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माको क्रियाशील सदस्यता झापाको मेचीनगर नगरपालिका वडा नम्बर ९ बाट छ । उक्त वडामा रहेका ६२७ क्रियाशील सदस्यमध्ये ४४० जनाको मात्रै नवीकरणको काम सम्पन्न भएको वडा सभापति उद्धव बानियाँले जानकारी दिए ।

उनले १४औँ महाधिवेशनमा क्रियाशील सदस्य रहेका मध्ये २० जनाको मृत्यु भएको, १९ जना शिक्षक रहेका र १५ जनाले कांग्रेस परित्याग गरेको बताए । ‘पुरानामा २० जनाको मृत्यु भइसक्यो । १९ जना शिक्षक भएकाले रिन्यू गरेनौँ,’ वडा सभापति बानियाँले खबरहबसँग भने, ‘१५ जना पार्टी परित्याग गरेर गए ।’

उनले १२० जनाले आर्थिक अवस्थाका कारण पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्न नसकेको बताए । ‘अरु जिल्लामा दुई सय, तीन सय छ । हाम्रो जिल्लाले सदस्यता नवीकरणको शुल्क नै सात सय तोकेको छ,’ बानियाँले भने, ‘सबै कार्यकर्ताको आर्थिक हैसियत एउटै हुन्न । आर्थिक समस्याले १२० जनाले रिन्यू गर्न सक्नुभएको छैन ।’

वडा सभापति बानियाँले बाँकी रहेका अन्य क्रियाशील सदस्यको सदस्यता नवीकरणका लागि प्रयास गरिरहेको पनि बताए । ‘दैनिक रूपमा मजदुरी गर्दै आउनुभएकोहरू पनि हुनुहुन्छ । त्यसले गर्दा थोरै गाह्रो छ,’ उनले भने, ‘हामी त्यसलाई म्यानेज गरेर लगभग–लगभग सबै नै नवीकरण गर्न सकिन्छ कि भनेर अभियानमा छौँ ।’   

झापाकै भद्रपुर नगरपालिका वडा नम्बर २ मा क्रियाशील सदस्यता रहेका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको वडामा पनि ४९ जनाले सदस्यता नवीकरण नगरेको पाइएको छ । वडा सभापति राजु गिरीका अनुसार वडा नम्बर २ मा २५१ जना क्रियाशील सदस्यहरू थिए । 

जसमध्ये २०२ जनाले सदस्यता नवीकरण गरेका छन् । ‘हामी २५१ जना थियौँ । त्यसमा कोहीको मृत्यु भयो । कोही के–के भयो, त्यस्तै भयो,’ वडा सभापति गिरीले भने, ‘२०२ जना सदस्यहरूको नवीकरण भयो ।’  

कांग्रेसको विधानले पार्टीभित्र दुई किसिमका सदस्यता व्यवस्था गरेको छ । पहिलो – कांग्रेस सदस्य र दोस्रो– कांग्रेस क्रियाशील सदस्य ।

सामान्यतः कांग्रेसले १८ वर्ष पूरा भएको, पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको र प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएकालाई पहिलो प्रकृतिको सदस्यता दिने गरेको छ ।

पहिलो प्रकृतिको सदस्यता अर्थात् ‘नेपाली कांग्रेसको सदस्य’का रूपमा सदस्यता लिएको एक वर्ष भइसकेपछि क्रियाशील सदस्यता लिन योग्य मानिन्छ ।

कांग्रेस विधानको धारा ४ मा लेखिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमिति कार्यालयमार्फत तोकिएबमोजिमको शुल्कसहित आवेदन गर्न सक्नेछ ।’

कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक वर्ष आफू सदस्य रहेको वडा कार्यसमितिमा नवीकरणका लागि तोकिएबमोजिमको आवेदन दिनुपर्ने र वडा कार्यसमितिले सदस्यता नवीकरण गर्ने विधानको धारा ६ मा ‘नेपाली कांग्रेसको सदस्यता नवीकरण गर्ने कार्यविधि’ अन्तर्गत व्यवस्था छ ।

कांग्रेसको विधानको धारा ७ (क) अनुसार क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ । त्यसका लागि क्रियाशील सदस्यले वडा कार्यसमितिमा तोकिएबमोजिमको आवेदन दिनुपर्छ ।

क्रियाशील सदस्यता नवीकरण गर्न चाहने कांग्रेस कार्यकर्ताले नवीकरण गर्दा योग्यता पुगेको प्रमाणसहित आफैँ वडा कार्यसमितिको कार्यालयमा उपस्थित भएर आवेदन दिनुपर्ने विधानमा उल्लेख छ ।

वडा कार्यसमितिले योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिका–नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनुपर्ने वैधानिक व्यवस्था छ ।

त्यसपछि गाउँपालिका–नगरपालिका कार्यसमितिले प्राप्त नवीकरणसम्बन्धी सबै आवेदनमा आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्छ ।

जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र रायसमेतको आधारमा आवेदनमाथि बढीमा एक महिनाभित्र निर्णय गरेर आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनुपर्ने कांग्रेसमा व्यवस्था छ ।

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउने विधानमा भनिएको छ ।

विभिन्न तहका कार्यसमितिले राय व्यक्त गर्दा क्रियाशील सदस्यता नवीकरणका लागि विधानबमोजिम योग्यता पुगे(नपुगेको हेर्नुका साथै पछिल्लो स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आवेदकको भूमिका र अन्य जिम्मेवारी पूरा गरे–नगरेको समेत हेर्ने गर्छन् ।

जसका लागि आवश्यक परे विभिन्न तहका निर्वाचनका उम्मेदवारको राय लिन सक्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।

‘डेडलाइन’ चैत मसान्त : कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको सम्भावना छैन

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार  ६ : २४ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ