झापा – इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन् । तीमध्ये लागुऔषध मुद्दाका ३५ जना छन् । प्रहरी सक्रियता बढेपछि लागुऔषध कारोबारीले हिरासत भरिन थालेका हुन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार कार्कीले प्रहरीले सीमानाकामा निगरानी बढाएसँगै लागुऔषध कारोबारीको सङ्ख्या बढ्दै गएको जानकारी दिए। यस कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक राजन लामा हुन् । योसँगै इलाका प्रहरी कार्यालय दमक ‘क’ श्रेणीका प्रहरी कार्यालय हुन् ।
प्रहरी कार्यालय दमकको नेतृत्वमा प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिना छन् । यसमा एक महिलासहित २३ जना थुनुवा छन् । तीमध्ये लागुऔषध मुद्दाका १४ जना थुनुवा रहेका जनाइएको छ । प्रहरी सक्रियताका कारण यो प्रहरी कार्यालयले पनि दैनिकजसो लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरी मुद्दा दर्ता गर्दै आएको छ ।
इलाका प्रहरी कार्यालय, अनारमनीको नेतृत्व प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सम्हाल्नुभएको छ । यहाँ पाँच महिलासहित ३० जना थुनुवा रहेकामा लागुऔषधसम्बन्धी २२ वटा मुद्दा दर्ता भएका कार्यालयका प्रनाउ श्रेष्ठले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमा दुई महिलासहित ४२ जना थुनुवा छन् । त्यसमध्ये २२ वटा मुद्दा लागुऔषधसम्बन्धी रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयसहित अन्य तीनवटा इलाका कार्यालयमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दर्ता भएका मुद्दामध्ये अधिकांश लागुऔषधका छन् । प्रहरीले दिनहुँजसो लागुऔषध कारोबारीलाई पक्राउ गर्दै मुद्दा दर्ता गरेकाले यो सङ्ख्या दिनहुँ बढ्दै गएको हो ।
झापा लागुऔषध प्रयोगकर्ता र कारोबारको ‘हव’बन्दै गएपछि त्यसलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ । कार्यलयका प्रहरी उपरीक्षक राजन लिम्बूले लागुऔषध दुव्र्यसन रोक्न ‘एक्सन’ लिएसँगै झापाका हिरासत कक्ष अहिले लागुऔषध कारोबारीले भरिभराउ भएका बताए । उनका अनुसार २४ विदेशीसहित चार सय ११ जना लागुऔषध मुद्दाका कारोबारी प्रहरी नियन्त्रणमा छन् ।
पक्राउ परेकामाथि लागुऔषधसम्बन्धी मुद्दा दर्ता गर्दै कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा दुई सय ७१ वटा मुद्दा दर्ता हुँदा चार सय ११ जना पक्राउ परेका जनाउँदै दुई जना सझै फरार रहेका उनले बताए ।
प्रहरीले यो अवधिमा एक हजार ६४९ किलो गाँजासहित चरेस तथा ब्राउन सुगरसहित अन्य लागुऔषध बरामद गरेको छ ।
लागुऔषधको अखडा सिमसार क्षेत्र
लागुऔषधका काराबारीका लागि सिमसार क्षेत्र अखडाका रूपमा रहेका अनुसन्धानका क्रममा पाइएको प्रहरीले जनाएको छ । अधिकांश मानिस मनोरञ्जनका लागि सिमसार क्षेत्र जाने भएकाले पनि कारोबारीले यस क्षेत्रलाई प्रयोग गर्ने गरेका पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लिम्बूले उल्लेख गरे।
उनका अनुसार मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वन क्षेत्र (सिमसार क्षेत्र) भित्रबाट प्रहरीले मङ्गलबार एकै दिन ४३ जनालाई पक्राउ गरेपछि सिमसार क्षेत्रभित्रमा हुने लागुऔषध बारोबारको वास्तविकता बाहिरिएको हो ।
मङ्गलबार साँझ मेचीनगर–११ कालिका सामुदायिक वनमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी, प्रहरीचौकी चारआलीबाट प्रहरी नायब निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विजय चौहान र लाुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेसन टोलीले एकै साथ ४३ जनालाई पक्राउ गरेको थियो । पक्राउपर्नेमध्ये अधिकांश सेवनकर्ता पुरुष रहेका प्रहरीले जनाएको छ ।
“कारोबारी लागुऔषध बेच्न आएपछि उनीहरू किन्न भेला भएका थिए । पक्राउ पर्ने सबै सेवनकर्ता हुन् । उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ । तीमध्ये २७ जनालाई विभिन्न पुनःस्थपना केन्द्र पठाइएको हो”, प्रउ लिम्बूले भने ।
प्रहरीले उनीबाट १४ थान मोटरसाइकल, एउटा अटो र एउटा मारुतीभ्यान बरामद भएको जनाएको छ । साथै लागुऔषध बिक्री गर्ने मेचीनगर–११ का १८ वर्षीय शनिल मेचे, मेचीनगर–१२ का २५ वर्षीय अजय मेचेलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्रहरीले निजहरूबाट ब्राउन सुगर दुई दशमलव ८९ ग्राम, ट्रामाडोल १६ ट्याब्लेट, एन्टिकोफ १५ ट्याब्लेट, स्पास्पिन १५ ट्याब्लेट रु १८ हजार चार सय नगद र रेडमी ब्राण्डको मोबाइल एक थान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
प्रतिक्रिया