पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ? | Khabarhub Khabarhub

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही मुलुकमा पूर्वराष्ट्रपतिहरू परामर्शदाताको भूमिकामा सक्रिय रहन्छन्, सामाजिक कार्यमा संलग्न हुन्छन् वा पुनः पार्टी राजनीतिमा फर्कन्छन् ।

नेपालमा भने राष्ट्रपतिको पदलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्ने अपेक्षा गरिन्छ । अहिलेहाल सत्तारुढ एमालेको राजनीतिमा फर्कन खोजिरहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका हकमा पनि एक पक्षले यस्तै अपेक्षा गरिरहेको छ ।

नेतृत्वमा जीवनपर्यन्त अविछिन्न रहनेगरी व्यवस्थापनतिर लागेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नै भण्डारीको पुनरागमनले बिझाउँदैछ । ओलीपक्षीय नेताहरू र पूर्वराष्ट्रपतिको ‘गरिमा’बारे चिन्तित पक्षहरू भण्डारी अब सक्रिय पार्टी राजनीतिमा नफर्किउन्‌ भन्ने चाहन्छन्‌ ।

विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति मात्र नभई एमाले उपाध्यक्ष भइसकेकी अनुभवी नेतृ पनि हुन् । यस्तो अवस्थामा उनी पुनः पार्टी राजनीतिमा फर्कनु स्वाभाविक हो या होइन भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । कतिपयले यसलाई पूर्वराष्ट्रपतिले अपनाउनुपर्ने तटस्थताको सवालसँग जोडेर हेरेका छन् । केहीले लोकतान्त्रिक अभ्यासकै रूपमा लिएका छन् ।

खबरहब डटकममा वेदप्रकाश तिमल्सेना लेख्छन् – पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन नदिने कुनै संवैधानिक वा कानूनी अवरोध छैन । लोकतान्त्रिक व्यवस्थामा नागरिकका सबै अधिकार सुरक्षित हुनुपर्छ, पूर्वराष्ट्रपतिहरू पनि नागरिक नै हुन् । उनीहरूले आफ्ना विचार राख्ने, राजनीतिक क्रियाकलापमा सङ्लग्न हुने र मुलुकको नीति–निर्माणमा योगदान दिन सक्ने वातावरण बन्नु लोकतन्त्रका लागि सकारात्मक पक्ष हो ।

राष्ट्रपतिको पद दलगत राजनीतिभन्दा माथि रहनुपर्छ, तर राष्ट्रपति भइसकेपछि कोही निष्क्रिय हुनैपर्छ भन्ने धारणाले लोकतान्त्रिक अभ्यासलाई सीमित बनाउँछ । विषयमा स्पष्ट मापदण्ड बनाउन नसक्नु हाम्रो कमजोरी हो । विधि लेखिएको हुनैपर्छ भन्ने छैन, तर न्यूनतम मापदण्ड भने अवश्य आवश्यक हुन्छ । जबसम्म मापदण्ड तय हुँदैन, तबसम्म हामी अनावश्यक बहसमा अल्झिरहन्छौं, जसले लोकतान्त्रिक प्रणालीलाई परिपक्व बनाउन सघाउँदैन ।

छिमेकी भारतमा सक्रिय राजनीति गरिरहेका वरिष्ठतम नेतालाई राष्ट्रपतिमा अघि बढाउने चलन छैन । यदि कसैलाई बनाइए पनि ती प्रायः उमेर ढल्किन लागेका र पार्टी नेतृत्वलाई चुनौती दिन नसक्ने व्यक्तिहरू हुन्छन् ।

कांग्रेसदेखि भाजपासम्म, भारतका प्रमुख दलहरूले ‘रबर स्ट्याम्प’ राष्ट्रपतिलाई नै प्राथमिकता दिने गरेका छन् । दलको नीतिमा प्रभाव पार्न नसक्ने वा कार्यकारी निर्णयमा हस्तक्षेप गर्न असमर्थ व्यक्तिहरू नै राष्ट्रपतिको पहिलो रोजाइमा पर्छन् ।

भारतमा राष्ट्रपतिलाई प्रायः सेवानिवृत्त हुने पदको रूपमा लिइन्छ । मध्यमस्तरका नेताहरू राष्ट्रपतिमा पुग्न सक्लान्, तर एकचोटि राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि उनीहरू सक्रिय राजनीतिमा फर्कने सम्भावना लगभग रहँदैन । अर्कोतर्फ, कुनै वरिष्ठ नेताले ७५–८० वर्षको उमेरमा राष्ट्रपतिको जिम्मेवारी पाएपछि उनले प्राप्त गरेको सम्मानले नै राजनीतिक रूपमा निष्क्रिय बनाइदिन्छ । नेपालमा राष्ट्रपति पदलाई राजासँग तुलना गर्ने प्रवृत्ति देखापरेको छ । राष्ट्रपति राजा होइन नि, त्यसैले पूर्वराष्ट्रपतिसँग राजाजस्तो व्यवहार खोज्नु सरासर गलत हो ।

राष्ट्रपति कुनै राजा होइनन्, उनी जनताको प्रतिनिधि हुन्, जसका लागि जनतासँग सम्वाद र सक्रियता आवश्यक छ । पूर्वराष्ट्रपतिले जनताको बीचमा जान पाउनु संविधानसम्मत अधिकार हो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भूमिका स्पष्ट गर्दै ‘पिँजडाको चरा’जस्तो नराख्ने कुरा गर्नाले संविधान र लोकतान्त्रिक प्रक्रियाको सम्मान पनि देखाउँछ ।

तर, यसबारेको बहस नेपालको आन्तरिक राजनीति र विशेषगरी एमालेको नेतृत्वसँग जोडिएको छ । अहिले एमालेमा केपी शर्मा ओलीको एकछत्र वर्चस्व छ, जहाँ पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भइरहेको गुनासो सुनिन्छ । यस स्थितिमा विद्या भण्डारीको सक्रियताले ओलीको नेतृत्वलाई चुनौती दिन सक्छ । त्यसैले ओलीका नजिकका व्यक्तिहरूले भण्डारीको कदमलाई पार्टीको एकता र स्थिरतामा गम्भीर असर पुर्‍याउने प्रयासको रूपमा लिएका छन् ।

यसले पार्टीमा नयाँ शक्ति समीकरणको सङ्केत दिन सक्छ, जसले ओलीको नेतृत्वमा अनिश्चितता र दबाब ल्याउने सम्भावना छ । तर, यस समयका राजनीतिक घटनाक्रमहरूले स्पष्ट गर्दछ कि राष्ट्रपतिको गरिमा जोगाउनभन्दा पार्टीको आन्तरिक सङ्घर्षलाई नै बढी महत्व दिइएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमालेमा पुनः सक्रिय हुने विषयलाई संवैधानिक दृष्टिले हेरिनुपर्छ । संविधानले पूर्वराष्ट्रपतिलाई राजनीतिक दलमा फर्किन कुनै रोक लगाएको छैन, न त कुनै कानूनी प्रावधानले नै निषेध गरेको छ । त्यसैले, यदि उनले पुनः सक्रिय राजनीतिमा फर्कन चाहन्छिन् भने त्यसलाई अनावश्यक विवादको रूपमा उभ्याउनुपर्ने कारण देखिँदैन ।

अधिवक्ता राजुप्रसाद चापागाईं ईकान्तिपुर डटकममा लेख्छन्– पूर्वराष्ट्रपतिलाई संविधानले दलीय राजनीति गर्न छेकेको छैन भन्ने तर्क गर्नेहरू पनि छन् । तर संविधानलाई कसरी पढ्ने र बुझ्ने भन्ने कुराले ठूलो अर्थ राख्दछ ।

संविधानका अक्षरभित्र अन्तरनिहित मूल्यमान्यता, सिद्धान्त र दर्शनलाई भौतिक आँखाको सहाराले मात्रै देखिँदैन । तेस्रो आँखाको सहारा लिनुपर्ने हुन्छ । त्यो भनेको सद्विवेकको आँखा हो । त्यो नउघार्दासम्म संवैधानिक नैतिकताको भेउ पाउन सकिँदैन । अहिले सर्वत्र राजनीतिमा तेस्रो आँखाको खडेरी छ । त्यसलाई जगाउनका लागि दलीय आग्रह र पूर्वाग्रह, व्यक्तिगत, गुटगत राजनीतिक महत्त्वाकांक्षा र स्वार्थबाट माथि उठ्न सक्नुपर्छ । एक खालको आध्यात्मिक चेत र क्षमता चाहिन्छ ।

संविधानको समष्टिगत बुझाइ र यसले अङ्गीकार गरेका मूल्य मान्यता र दर्शनको मिहिन विश्लेषण गर्ने क्षमता चाहिन्छ । सर्वोच्च पदको गरिमालाई जगेर्ना गर्ने जिम्मेवारी पद बाहिर रहँदा पनि अखण्डित र अविच्छिन्न रहन्छ भन्ने मनन गर्न सक्नुपर्दछ । दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्तिलाई पुनः दलीय राजनीतिमार्फत सांसद, मन्त्री वा प्रधानमन्त्री जस्ता पदमा आउने बाटो खुला छ भन्ने सोच्न र अर्थ लगाउन संवैधानिक नैतिकताले दिँदैन ।

त्यसो गर्न छुट हुँदा विगतमा राष्ट्रपतिको हैसियतमा गरेका निर्णयहरूको वैधतामा समेत ग्रहण लाग्छ । ती स्वतन्त्र तथा निष्पक्ष रूपमा गरिएका थिएनन्, कुनै न कुनै रूपमा दलीय आग्रह र पूर्वाग्रहबाट प्रेरित थिए भन्ने सार्वजनिक धारणामा बल पुग्छ ।

त्यति मात्रै होइन, राष्ट्रपतिका निर्णय उसको भविष्यको राजनीतिक महत्त्वाकांक्षा वा लालचाबाट प्रभावित हुने खतरा बढ्दछ । संविधानले अपेक्षा गरेको गैरदलीय, निष्पक्ष र तटस्थ भूमिका खेल्न सक्ने स्थिति बन्दैन । निष्पक्ष भूमिका खेले पनि तदनुरूपको सार्वजनिक धारणा बन्दैन । त्यसैले दलीय राजनीतिमा फर्कन संविधानका अव्यक्त सीमाहरूले रोक्दछ, संवैधानिक नैतिकताअनुकूल हुँदैन भन्ने पूर्व, वर्तमान वा राष्ट्रपतिका आकांक्षीहरूले ख्याल गर्न जरुरी छ । पुनः दलीय राजनीतिको महत्त्वाकांक्षा राख्ने हो भने त्यस्तो व्यक्ति सुरुमै त्यस्तो पदको प्रस्तावमा राजी हुनु हुँदैन । त्यसलाई अस्वीकार गर्नु श्रेयष्कर हुन्छ ।

विश्वव्यापी रूपमा स्थापित असल अभ्यासहरूले पनि पूर्वराष्ट्रपतिको दलीय राजनीतिक यात्रालाई समर्थन गर्दैनन् । अपवादलाई खोजी–खोजी पछ्याउने कुरा किमार्थ उपयुक्त हुँदैन । तसर्थ उल्टो यात्रालाई पूर्वराष्ट्रपति भण्डारीले पूर्णविराम लगाउनु नै उपयुक्त हुन्छ । दलभित्रका नेता/कार्यकर्ताको सदाशयता आफ्नो ठाउँमा होला । त्यसैका आधारमा दलीय राजनीतिमा पुनरागमनको औचित्य स्थापित गर्न सकिँदैन ।

संविधान र कानुनले देखिने गरी निषेध नगरेको काम जेसुकै गर्दा हुन्छ भन्ने मान्यता राख्न राष्ट्राध्यक्षको जिम्मेवारी बहन गरिसकेको व्यक्तिका लागि शोभनीय पनि हुँदैन । दलीय राजनीति बाहिर नै सक्रियताको स्थान खोज्नु श्रेयष्कर हुन्छ ।

रातोपाटी डटकममा शिव लम्साल लेख्छन्,– लोकतन्त्रवादीका दृष्टिले हेर्दा राष्ट्रको उच्च भूमिकामा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु शोभनीय किमार्थ होइन । देश, जनता र दलका लागि नभई नहुने पात्र भएको भए बेग्लै कुरा, तत्तत् दलमा नेतृत्वको संकट समेत नपरेका बेला विद्या र नन्दबहादुरको राजनीतिक पुनरागमन उदेकलाग्दो मात्र होइन एक हदसम्म अपाच्य गतिविधि हो, बारम्बार पद ओगटिसकेका पात्रहरूको पद मोहको निरन्तरता मात्र हो, लोभको पराकाष्ठा हो ।

छिमेकी मुलुक भारतकै उदाहरण हेरौँ । पूर्वराष्ट्रपतिहरू कोही पनि राजनीतिमा फर्किएका छैनन् । भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले पनि दुई कार्यकाल पूरा गरेका थिए । अवकाशपछि उनी पटनाको सदाकत आश्रममा बसेर पुस्तक लेख्न थाले । पूर्वराष्ट्रपति राधाकृष्णनन् कार्यकाल पूरा भएपछि आफ्नै निजी निवासमा पुस्तक लेखन, प्राध्यापन र सेमिनारहरूमा कार्यपत्र प्रस्तुतिमा व्यस्त रहे । यसै गरी पूर्वराष्ट्रपति भीभी गिरीले कार्यकालपछिको जीवन मद्रासस्थित आफ्नै निवासमा निकै शान्त र एकान्तमा बिताए ।

अर्का पूर्वराष्ट्रपति नीलम सञ्जीव रेड्डीले पनि रिटायरपछिको जीवन लेखपढ र निजी फार्महाउसका गतिविधिमा बिताए । उनले राष्ट्रपतिबाट हटेपछि लेखेको पुस्तक ‘विदआउट फियर अर फेभर : रिमिनिसेन्सेज एन्ड रिफ्लेक्सन्स अफ अ प्रेसिडेन्ट’ चर्चित छ ।

राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि नै आर वेंकटरमणले ‘माई प्रेसिडेन्सियल इयर्स’ र अन्य दुई चर्चित पुस्तक लेखे । अर्का पूर्वराष्ट्रपति केआर नारायणले आफ्नो पैतृक सम्पत्ति कुनै आश्रमलाई दान दिए भने सामाजिक अभियानहरूमा सक्रिय रहे, तर राजनीतिमा फर्किएनन् । एपीजे अब्दुल कलामले राष्ट्रपतिको कार्यकालपछि बेस्ट सेलर पुस्तक नै लेखे । उनी कलेजहरूमा पढाउन जान्थे । सिलाङस्थित आईआईएममा लेक्चर दिइरहेकै बेला उनी बेहोस भएर ढलेका थिए, अस्पतालमा उनको निधन भयो । प्रणव मुखर्जीले पनि राष्ट्रपतिबाट अवकाश भएपछि पुस्तकहरू लेखे ।

विद्या र नन्दबहादुरले अबको समय पुस्तक लेखन, सामाजिक सक्रियता र अन्य रचनात्मक काममा बिताउन सक्छन् । नेपालकै प्रथम महिला राष्ट्रपति बन्दाको गौरवलाई पुस्तकमा समेटेर भावी पुस्ताका लागि परिवर्तनको गौरव गाथा उनले दर्शाउन सक्छिन् । नन्दबहादुरले पनि सशस्त्र विद्रोहको डेपुटी कमान्डरदेखि उपराष्ट्रपति बन्दासम्मको अनुभवलाई समेटेर सुन्दर पुस्तक तयार गर्न सक्छन्, जसले उनी आबद्ध पार्टीले भन्ने गरेको ‘क्रान्ति गौरव’ अझ उचो बनाओस् ।

खबरहबसँगको कुराकानीमा राजनीतिक विश्लेषक प्रा.डा. टङ्कप्रसाद न्यौपाने पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन असुहाउँदिलो हुने बताउँछन् । ‘भ्रमणमा निस्कनु, कताकता घुम्नु त ठीकै हो, राजनीतिमा आउने र नेतृत्व लिने विषय सुहाउँदैन ।’ उनको तर्क छ ।

अर्का विश्लेषक डा. बद्रीविशाल पोखरेलको यसमा फरक मत छ । उनी विद्या भण्डारीलाई जबज (जनताको बहुदलीय जनवाद) को ‘जिन’का रूपमा अथ्र्याउँछन् ।

विद्या भण्डारीजत्तिको व्यक्तित्व राजनीतिमा आउँदा राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि देशको प्रभाव अग्लो हुने प्रा.डा. पोखेरेलको मत छ । एमालेमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीपछि पूर्वराष्ट्रपति भण्डारीका अलावा पार्टीलाई प्रभावशाली बनाउने व्यक्तित्व अरू नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १ : ४४ बजे

प्रज्ञा, चेतना र सिर्जनाको लालमोहर ‘चोमोलुङमा’

सन् २०१६ मा हङकङ आएका रोशन यक्सो  स्तरीय कविता लेख्ने

चुरेका नाङ्गा डाँडामा हरियाली अभियान

सिरहा– जिल्लास्थित चुरे क्षेत्रका नाङ्गा डाँडाहरू हरियालीमा बदलिने भएका छन्

पूर्वराष्ट्रपतिको कुरै नसुनी ओलीले भने – तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

सिस्नो ‘ब्राण्डिङ’ गर्दै बडिमालिकाका महिला

धनगडि- सिस्नु खेतीका लागि सुदूरपश्चिमको पहाडी भूगोल उर्वर भूमि हो

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा