धनगडि- सिस्नु खेतीका लागि सुदूरपश्चिमको पहाडी भूगोल उर्वर भूमि हो । त्यसैमा बाजुरामा झनै सम्भावना बढी देखिन्छ । खेतबारीको डिलहरू र सडकबाटोको छेउछाउ सबैतिर सिस्नोका झरीहरू भेटिन्छन् । ती झरीहरू बीउ नछरेरै उम्रिएका हुन् । मेहनत नगरेर आफै बढेका हुन् । लगानी बिनै सिस्नो उम्रिने गर्छ ।
यहाँका जंगलमा सिस्नोका फाँटहरू नै छन् । तर त्यो सिस्नो केवल थोरै मात्रामा भैँसी र गाई गोरुका लागि प्रयोग गरिन्छ । नभए उम्रिन्छ, बोटमै सुक्छ । सिस्नु यहाँका स्थानीयका लागि महत्वविहीन छ । हेलाको रुपमा हेरिन्छ । सिस्नु पनि खान्छन्, त भन्ने मान्यता नै छ । तर त्यही सिस्नुलाई बडीमालिका नगरपालिकाले अब ब्राण्डीङ गर्ने भएको छ ।
सिस्नोको पाउडर नै बनाएर बजारमा बिक्रीका लागि पठाउने तयारी थालेको नगर प्रमुख अमर खड्काले जानकारी दिए । सिस्नु मात्रै सदुपयोग गर्न सके ठूलो मात्रामा आम्दानी हुने विश्वास उनको छ । विगतमा केही सहकारीले सिस्नोको पाउडर बनाएपनि त्यसको व्यवसायीक उत्पादन थालिएक छैन ।
ज्ञान सीपको अभाव र कम महत्वको वनस्पति ठानेर यहाँका स्थानीयको नजर बाहिर थियो । हिउँदको समयमा सिस्नोका टुपाहरु खाएपनि, पाउडर बनाउने, र आम्दानी गर्न सकिन्छ, सिस्नोको माग धेरै छ भन्ने धेरैलाई लागेकै थिएन । तर बडीमालिका नगरपालिका उद्यम विकास शाखाले त्यसको बजारीकरण र ब्राण्डीङका लागि सीपमुलक तालिम नै सञ्चालन गरेको छ ।
पालिका भित्रमा २७ जनालाई तालिम दिएको छ । असार ७ देखि तालिम सञ्चालन गरिएको उद्यम विकास शाखा प्रमुख रञ्जिता शाहीले बताइन् । तालिमको असार १४ गते औपचारिक समापन गरिएको छ । उद्यम विकाससँग जोडेर आयमूलक काममा महिलाको सहभागिता बढाउने र विना लगानीको सिस्नोको पाउडर बनाएर राम्रो आम्दानी हुने विश्वासमा सहभागि छन् ।

खेती नै गर्न पर्ने अवस्था नै छैन्, जताततै पाउने गरेको छ । जंगलमा समेत जतिपनि भेटिन्छ । गर्न सके धेरै राम्रो रैछ, सहभागि बताउँछन् । तालिम कमला सुवेदीले दिइरहनु भएको छ । सुवेदी आफ्नै उद्यम सीप मार्फत देशव्यापी परिचित अनुहार हुन् । उनको उद्यम विकास संस्था मार्फत ५५ बढी उत्पादन र उद्यम सीप दिइने गरेको छ । देश विदेश सबैतिर भ्रमण गरिसकेकी सुवेदीले उद्यम विकासमा पुर्याएको योगदान वापत सरकारले नै सम्मान गरिसकेको छ ।
नामी प्रशिक्षकबाटै तालिम दिन लगाएको र सहभागिले पनि राम्रो ज्ञान आर्जन गरेको बडीमालिकाका उपप्रमुख नन्दा कुमारी थापाले बताइन् । अचारको तालिम गर्यौं, अब सिस्नोको सकियो, हाम्रो उदेश्य भनेकै महिलालाई उद्यममा जोड्ने र आम्दानी बढाउने हो, थापाले थपिन् । अचारको तालिम नेकपा एमाले नेतृ शान्ता चौधरीले दिएकी हुन् ।
बडीमालिका नगरपालिकाले सबैलाई सीपयुक्त बनाउने र उद्यम, उत्पादन र कृषि खेतीमा जोड्ने नीति नै लिएको छ ।
‘सम्भावना नै धेरै रैछ, बडीमालिकामा मात्रै नभई बाजुराले सिस्नोको पाउडर बनाएर नै धेरै आम्दानी गर्न सक्ने भन्छिन्, ‘ प्रशिक्षण कमला सुवेदी ।
‘बर्षेनी त्यत्तिकै खेर गइरहेको छ । त्यसको सदुपयोग पनि हुने, बाजुराको उत्पादन विश्व बजारमा पनि पुग्ने, पैसा पनि आउने सुवेदीले भनिन् ।’
पाउडर बनाउने तरिका, प्रशोधन, प्याकेजिङ र बजारिकरण बारे सीप सिकाएको छ । उसोत सिस्नोको पाउडर व्यापारिक दृष्टिले मात्रै राम्रो नभई स्वास्थ्यका लागि पनि अत्यन्तै लाभदायिक छ । सिस्नोलाई केबल वनमा पाइने झारका रुपमा मात्र लिने गरिएकोमा अब त्यसको केही सुधार हुने विश्वास आयोजकको छ ।
‘तालिम दिने र उत्पादनबारे सीप सिकाउने कुरा त यसअघि पनि भएकै हुन्, तर सिक्नेहरुले नै सिरियस भएर काम गरिदिएनन्, त्यो समस्या भयो, अब त्यसो हुन दिन हुन्न, जसरी पनि आम्दानीसँग महिलालाई जोड्नै पर्छ,’ प्रशिक्षक सुवेदीले भनिन्।
सिस्नु पाउडरले ग्यास्टिक लगायतका करिब ४० वटा रोगहरुको निर्मूल गर्ने दाबी स्वास्थ्य बिशषेज्ञको छ । प्रशिक्षक सुवेदी स्वयमले सबैभन्दा स्वास्थ्यका लागि जंगली वनस्पतीमा सिस्नो नै भएको बताइन् ।
‘यसको महिमा बुझ्दा जीवन पनि स्वस्थ हुने, आम्दानी पनि गर्न पाइने, उनले भनिन् यो काम व्यवसायीक रुपमै गरिनु पर्छ ।’
नेपालका ठूला शहरमै सिस्नोको माग अत्याधिक छ । लगानी नगरेरै राम्रो आम्दानी गर्न सकिने व्यवसाय नै सिस्नुको पाउडर बनाउने भएको दाबी उनको छ । तर सिस्नो तत्कालका लागि जताततै पाएपनि पछि व्यवसायीक खेती गर्न सकिने सुझाव प्राविधिकहरुको छ ।
पाउडरको माग र मूल्य दुबै राम्रो छ । पाउडरको प्रतिकेजी मूल्य नै ५ सय भन्दा बढी पर्ने गरेको व्यापारी बताउँछन् । सिस्नोको पाउडर नेपाली खानाको प्रमुख परिकारको रुपमा पनि लिने गरिन्छ । बडीमालिका नगरपालिकाको उद्यम विकास नीतिले आत्मनिर्भरताका लागि दिर्घकालिन फाइदा पुग्ने विश्वास गरिएको छ ।













प्रतिक्रिया