सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया « Khabarhub

सुदूरपश्चिम लगानी सम्मेलनबारे सरोकारवालासँग उद्योग मन्त्रालयमा अन्तरक्रिया


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पन्न भएको छ ।

उद्योग मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेशका मन्त्री बहादुरसिंह थापा, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाली, प्रदेश सांसदहरू, राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठसहित सरकारी तथा निजी क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।

अन्तरक्रियामा मन्त्री भण्डारीले लगानी, उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालकै बजार पर्याप्त ठूलो रहेको बताए । करिब ३ करोड जनसंख्या भएको नेपाललाई लक्षित गरेर छिमेकी मुलुकहरूले उद्योग स्थापना गरिरहेको उल्लेख गर्दै उनले नेपाली उद्योगीले पनि घरेलु माग पूरा गर्ने वस्तु उत्पादन बढाउनुपर्नेमा जोड दिए ।

भारत र चीनले आफ्नो उत्पादन सजिलै नेपाल भित्र्याउने पूर्वाधार तयार गरेकाले त्यसको फाइदा उठाउँदै निर्यात बढाउन सकिने उनको भनाइ छ ।

मन्त्री भण्डारीले भने, ‘हाम्रो पहिलो बजार घरेलु बजार हो, आवश्यक सबै सामग्री हामी आफैँ उत्पादन गर्नुपर्छ । नेपाली बजार सुरक्षित गर्न सके देशको जीडीपी बढ्छ, त्यसका लागि सबैभन्दा पहिले आयात प्रतिस्थापन गर्नुपर्छ ।’ 

साथै, अन्य देशबाट नेपाल भित्रिने सामानमा नेपाल गुणस्तर अनिवार्य गर्ने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गरिने पनि उनले जानकारी दिए ।

कार्यक्रममा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी आकर्षित गर्न सडक पूर्वाधार विकास, कानुनी तथा संस्थागत सुधार, छुट–सुविधा र सहुलियत व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन् । 

उनीहरूले कतिपय कानुन केन्द्रीय सरकारले बनाए पनि प्रदेश स्तरमा अधुरै रहेका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको बताएका छन् । लगानीकर्ताका लागि उपयुक्त प्रस्तावना र विस्तृत परियोजना प्रतिवेदन उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

मुख्यमन्त्री शाहले विगतको तुलनामा सुदूरपश्चिम प्रदेशमा भौतिक विकास भएको उल्लेख गर्दै प्रदेश भारत निर्यातको प्रमुख गन्तव्य बन्न सक्ने बताए । भारतको उत्तराखण्ड र दिल्ली नजिक भएकाले सुदूरपश्चिमबाट निर्यात सहज हुने बताउँदै उनले लगानीकर्तालाई मंसिर १ र २ गते हुने सम्मेलनमा सहभागी हुन आग्रह गरे  ।

सरोकारवालाहरूले सुदूरपश्चिममा रहेका जडीबुटी, हर्बल, रेसाजन्य कच्चापदार्थको प्रशोधन, खानीजन्य सम्पदाको उपयोग तथा धार्मिक पर्यटनको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ५ : ३२ बजे

बीपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

बनेपा– लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार