बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो   « Khabarhub

किताबका कुरा

बीपीको त्यो प्रश्न : जसले गिरिजाप्रसादलाई काँग्रेस बनायो  


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला निर्दलीय पञ्चायती व्यवस्था अन्त्यका लागि सुरू भएको ०४६ सालको जनआन्दोलन पछिका दुई दशकसम्म केन्द्रबिन्दुमा रहे ।

वि.सं २००३ सालदेखि राजनीतिक जीवन प्रारम्भ गरेका गिरिजाप्रसादको जहानियाँ राणाशासन, निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य गरेर नेपालमा गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रह्यो ।

उनी जीवनको अन्तिम दिन (२०६६ चैत ७) सम्म राजनीतिक जीवनमा क्रियाशील रहेर पनि आफ्नो मृत्यु चेतनालाई अत्यन्त नजिकबाट देख्ने नेतामध्येमा पर्छन् । राजनीतिक विश्लेषक प्रा. कृष्ण खनालका नजरमा गिरिजाप्रसाद कोइराला कर्मवीर नेता थिए ।

‘हरेस नखाने, निर्णय गरेको कुरा पूरा गर्ने र सिद्धान्तको निश्चित मान्यताभित्र व्यवहारवादी हुने । सायद उहाँको सफलताको रहस्य पनि यही थियो,’ खनालले पत्रकार डा. जगत नेपालद्वारा लिखित पुस्तक ‘आफ्नै कुरा’को दोस्रो संस्करणमा लेखिएको भूमिकामा गिरिजाप्रसादको स्मरण गर्दै लेखेका छन् । 

उनका नजरमा गिरिजाप्रसादलाई प्रजातन्त्रको आधारभूत मान्यताभित्र हरेक सम्भावनाको प्रयोग गर्न र त्यसका लागि कुनै व्यक्ति वा साधनको उपयोग गर्न अलिकति पनि हिचकिचाहट लाग्दैनथ्यो । ‘यस अर्थमा उहाँ एक उपयोगवादी नेता पनि हो,’ प्रा. खनालले भनेका छन् ।

राज्यसत्ताविरूद्ध १० वर्ष सशस्त्र सङ्घर्ष गरेको तत्कालीन विद्रोही नेकपा (माओवादी)लाई मूलधारको राजनीतिमा ल्याएर राजतन्त्रको अन्त्यसँगै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा लैजान गिरिजाप्रसादको भूमिका अहम् मानिन्छ ।

०४८ सालमा सम्पन्न आमनिर्वाचनमा बहुमत प्राप्त गर्न सफल काँग्रेसले गिरिजाप्रसादको नेतृत्वमा सरकार गठन गरेको थियो । तर, उनी प्रधानमन्त्री नियुक्त भएकै २९औँ दिनमा तत्कालीन प्रतिपक्षी नेकपा (एमाले)ले सरकार ढाल्न सडक आन्दोलन सुरू गरेको थियो ।

गिरिजाप्रसाद नेतृत्वको सरकार ढाल्न एमालेले कर्मचारीको आन्दोलन चर्काएको थियो । टेलिफोन बुथहरू जलाउने काम गरेको थियो भने काठमाडौंको रत्नपार्कका रेलिङहरूसमेत भाँचेको थियो । ‘म कम्युनिस्टविरोधीका रूपमा नचिनिएको भए त्यस्ता घटना नहुन पनि सक्थे,’ पहिलोपल्ट प्रधानमन्त्री हुँदा एमालेले सुरू गरेको आन्दोलन स्मरण गर्दै उनले पुस्तकमा भनेका छन् ।

०४६ सालको परिवर्तनपछि सम्पन्न पहिलो आमनिर्वाचन (०४८) बाट शासन सत्ताको स्वाद चाख्‍न पुगेका गिरिजाप्रसाद कोइरालालाई कट्टर कम्युनिस्टविरोधी नेताका रूपमा समेत लिइन्थ्यो । जसका कारण उनले राजनीतिक जीवनमा अत्यन्तै संघर्ष र अवरोध सामना गर्नुपरेको थियो ।

‘आफ्नै कुरा’ पुस्तकमा गिरिजाप्रसादले भनेका छन्, ‘कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै संघर्ष गर्नुपर्‍यो र अवरोधको सामना गर्नुपर्‍यो ।’ तर, उनै गिरिजाप्रसाद जिउ–ज्यानको परवाह नगरी काँग्रेसको सक्रिय राजनीतिमा लाग्नुअघि स्वयम् कम्युनिस्टको दर्शनप्रति आकर्षित थिए ।

गिरिजाप्रसाद बनारस (भारत) अध्ययन क्रममा कम्युनिस्ट विचारधाराप्रति तानिएका थिए । त्यो बेला बनारसबाट कम्युनिस्टहरूको साप्ताहिक पत्रिका प्रकाशित हुन्थ्यो । सबै सदस्यहरूले पत्रिका बेच्नुपर्ने कम्युनिस्टहरूको नियम थियो ।

कम्युनिस्ट विचारप्रति झुकाव राखेका गिरिजाप्रसाद पनि पत्रिका बेच्नु पर्ने नियमले बाँधिएका थिए । पत्रिका बेच्न जाँदा मानिसहरूले आफूलाई थुक्ने गरेको स्मरण उनले ‘आफ्नै कुरा’मा गरेका छन् ।

‘पत्रिका बेच्न जाँदा मानिसहरू मलाई थुक्थे । त्यस्तो घृणा थियो कम्युनिस्टहरुप्रति,’ पुस्तकमा लेखिएका छ, ‘कतिपटक त मैले पत्रिका नबेचेर आफ्नै खल्तीबाट समेत पैसा बुझाएको छु ।’

गिरिजाप्रसाद कम्युनिस्टनिकट हुनुको अर्को कारण थियो – बीपी कोइरालाका साथी, जो बनारसमा गिरिजाप्रसादका स्थानीय अभिभावक थिए । उनको घरमा कम्युनिस्टबारे चर्चा हुन्थ्यो भने मार्क्स र लेनिनका पुस्तकमात्र पढ्ने गरिन्थ्यो ।

‘मेरा अभिभावकका रूपमा सान्दाइका एक जना साथी थिए । उनी कम्युनिस्ट विचारधारा राख्थे । त्यसैले घरमा सधैँ कम्युनिस्टका कुरा मात्र हुन्थे,’ गिरिजाप्रसादको भनाइ उद्धृत गर्दै पुस्तकमा लेखिएको छ, ‘मार्क्स र लेनिनका पुस्तकमात्र पढ्ने गरिन्थ्यो। म कम्युनिस्टनिकट हुनुको यो अर्को कारण थियो ।’

गिरिजाप्रसादले बनारस अध्ययनका क्रममा मनमोहन अधिकारी (पूर्वप्रधानमन्त्री)को संगतले आफू कम्युनिस्टतिर आकर्षित भएको पत्रकार नेपालसँगको कुराकानीका क्रममा खुलाएको पाइन्छ ।

‘पिताजीको मृत्युको खबर पाएपछि म पटना आएँ। सान्दाइ बसेको कालीबाबुको घरमा पुगेँ । लामो समयपछि सान्दाइसँग भेट भएको थियो। कोठामा दुई ओटा खाट लगाइएका थिए । एउटा उहाँका लागि र अर्को मेरा लागि,’ पुस्तकमा लेखिएको छ, ‘राति कुरा गर्दै जाँदा मैले कम्युनिस्टले प्रयोग गर्ने भाषा प्रयोग गरेछु क्यारे, उहाँले थाहा पाइहाल्नुभयो । वास्तवमा बनारसमा पढ्दा मनमोहन अधिकारीहरूको संगतले म फेडेरेसन (कम्युनिस्ट) तिर आकर्षित भएको थिएँ ।’

त्यही राति बीपी कोइरालासँगको कुराकानीले गिरिजाप्रसादको मन कम्युनिस्ट विचारबाट परिवर्तन भएको पाइन्छ । ‘पिताजीको मृत्युपछि पटना गएका बेला बीपीसँग भएको कुराकानी मेरा लागि उपदेश नै भयो भने पनि हुन्छ,’ उनले भनेका छन्, ‘मेरा आँखा खुले अनि कम्युनिस्टप्रति वितृष्णा जागेर आयो । त्यसपछि म कम्युनिस्टविरोधी भएर आएँ ।’

त्यो राति बीपीले गिरिजाप्रसादलाई गान्धीजी (महात्मा गान्धी) कहाँ छन् भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भनेका छन्, ‘जेलमा, अरू कहाँ ?’बीपीले एकपछि अर्को गर्दै सोधेका थिए, ‘ नेहरु (जवाहरलाल नेहरु), जयप्रकाश नि ?’ उनीहरू पनि जेलमा बन्दी बनाइएका गिरिजाप्रसादको जवाफ थियो ।

‘सान्दाइ (बीपी)ले फेरि भन्नुभयो, गान्धी र नेहरूहरू जेलमा छन् । तर तेरा नेताहरू को हुन् र कहाँ छन् ?मैले भनेँ, मेरा नेता श्रीपद अमृतपद डॉगे (नेता, भाकपा मार्क्सवादी) हुन्, उनी बम्बैमा छन्,’ गिरिजाप्रसादले भनेका छन्, ‘सान्दाइले भन्नुभयो, ‘गान्धी, नेहरू, जयप्रकाश जेलमा अनि डाँगे चाहिँ किन बाहिर ? यति भनेपछि उहाँले भन्नुभयो, ‘ल अब सुत। बस के थियो र ? म त रातभरि सुत्न सकिनँ । रातभर सान्दाइले भनेको कुरा मेरो दिमागमा घुमिरह्यो ।’

अनि मोडियो बाटो

पिताजीको मृत्युपछि पटना गएका बेला बीपीसँग भएको कुराकानी मेरा लागि उपदेश नै भयो भने पनि हुन्छ । मेरा आँखा खुले अनि कम्युनिस्टप्रति वितृष्णा जागेर आयो । त्यसपछि म कम्युनिस्टविरोधी भएर आएँ । कम्युनिस्टका बारेमा बुझ्न मार्क्स र लेनिनका थुप्रै पुस्तक पढेँ । बीपीसँग पनि मैले धेरै छलफल गरेँ । उहाँले मलाई रूसमा लेनिनले निर्वाचित संसद्लाई घेरेर शक्ति आफ्नो हातमा लिएको घटना सुनाउनुभयो ।

जसलाई अक्टोबर क्रान्ति भनेर चिनिन्छ। यी सबै कुराले प्रजातान्त्रिक धारप्रति मेरो लगाव बढ्दै गयो । पटनाबाट बनारस फर्किएपछि मैले किसुनजीसँग भनेँ– ल भन्नुस् त किसुनजी, गान्धी, नेहरू र जयप्रकाशजी जेलमा छन्, डाँगे किन बम्बईमा ?हाम्रो कुरा किसुनजीका दाजु गोपालजीले सुनिरहनुभएको रहेछ । उहाँले नै प्रजातन्त्रवादी नेता सम्पूर्णानन्दकहाँ लगेर हामीलाई प्रशिक्षण दिन लगाउनुभयो ।

एकपटक कटन मिल हडताल गर्ने भनेर उनले मलाई पनि लगेका थिए । त्यहाँ ठूलो आक्रमण भयो र उनको टाउकोसमेत फुट्यो । हामी भागेकाले बच्यौँ । यस्ता घट्नै घटनाले मेरो मन प्रजातन्त्रवादी धारतिर आकर्षित भएको हो ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  ७ : ०२ बजे

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा