जेनजी आन्दोलन : नेतालाई दण्ड र अबको बाटो « Khabarhub

जेनजी आन्दोलन : नेतालाई दण्ड र अबको बाटो



अब हामी फागुन २१ लाई निर्वाचनको अभियान बनाएर अगाडि जान, मन वचन र कर्मले लाग्नु पर्छ। त्यसको विकल्प छैन। उहिले राणा शासन कालमा यस्तो नियम रहेछ कि ‘राणालाई राणा शासन कालमा दण्ड जरिवाना तिर्नु कहीँ कानुन शासन हुन्छ ?’ यो त अनर्थ भयो महाराजा भनी एक चाकरीवाजले चाकरी बजाएछ। त्यो कुरा राणा शासकले सुने छन्। उसो भए तुरुन्त नै सनद जारी गरी प्रमाणित गरेछन्। ‘यदि राणा हाकिम रहेछन् भने ती हाकिमका नाममा रहेको, लागेको, दण्ड जरिवाना बाँकी, बक्यौता उ भन्दा मुनिको गैर राणाले तिर्न भन्ने थियो’ भन्दै साथीले सुनाउँथे। यसमा तर्क, विवेक, मान्यता छैन।

नेपालमा नेता र हाकिमले कहाँ कहाँबाट घुस खान्थे भन्ने सामाजिक सञ्जालमा आएको विवरण सत्य देखिन्छ। हामीले जीवनमा भोगे, जानेको त्यही हो। आफ्नो नातालाई प्रयोग गरी काम बनाएर उनीहरुले भ्रष्टाचार गर्दथे। त्यसैले नातावाद र कृपावाद भ्रष्टाचार गर्ने तरिका भित्र पर्दछ। त्यसैले सुशासनवादीले नातावाद, कृपावाद र भ्रष्टाचार बढाउदछ भन्ने तर्क पेश गर्दछन्। ‘नेतालाई छानीछानी भ्रष्टाचारको मुद्दामा फसाउने षडयन्त्र हुन सक्दछ’, प्रचण्डले भर्खरै भनेका छन्।

नेताले भ्रष्टाचार गर्ने अनि कानुनी कारवाही चाहिाँ अरुलाई गर्नुपर्ने हो ? नेतालाई चाहिँ छुट दिनुपर्ने हो ? नेता मध्येमा अहिलेको युवालाई विचारले, योजनाले कार्यकमले आफ्नो दलमा ल्याउन सक्नु पर्दछ। हिम्मत गर, नेताजी तिम्लाई कस्ले रोकेको छ ? त्यसरी ल्याइएको विचारमा समाहित भाइबहिनीलाई सधैं असल, आदर्श सफा निष्कलंक, अनुशासित पार्टी छ भन्ने बनाउनु पर्दछ।

त्यस्तो बनाउन कसले रोकेको छ ? व्यक्ति जो पार्टीको नेतृत्व तहमा गयो, त्यो पार्टीको नेतृत्वमा बसिरहने अनि खराव काम पनि गर्न तयार हुने परम्परै बनेको छ। आफ्नो पालामा खराबी असीमित रुपमा बढाएका छन्। विद्रोह भयो भने त्यसको जिम्मेवारी पनि पार्टीले लिनुपर्ने हुन्छ। यदि त्यो पार्टी नैतिकतामा आधारित छ भने। पार्टीमा नैतिकता आर्थिक र भौतिक अवस्था भन्दा बढी महत्त्वपूर्ण मानिन्छ।

तिमीले भन्दा सिद्धान्तमा हामीले सयौं गुणा बढी अध्ययन चिन्तन मनन पनि गरेका छौं। त्यसमा तिमीरुलाई बहस गर्न चुनौती दिन्छौ। खबरदार, अब पनि आम युवाको भाग्य र भविष्यमा खेलवाड नगर। खेलवाड गरे यस्ता दुर्गति तिमीहरुले बाचुन्जेल व्यहोर्नु पर्ने छ।

उदाहरणको लागि एक चिया पसलेले हरेक दिन, हरेक रात चिया बनाएर आपनो ग्राहकलाई सेवा दिइरहेको हुन्छ। उसले जति धेरै धन कमाए पनि उसलाई प्रश्न उठाइँदैन। तरकारीवालाले साना व्यापारीले यस्ता कर्म गरे पनि उनीहरुलाई प्रश्न उठाइँदैन। तर प्रधानमन्त्री, मन्त्री, न्यायाधीश र राज्यका पदाधिकारीले धेरै धेरै धन कमाएर राखे भने त्यसलाई उनीहरुले अकुत सम्पत्ति कमाएर राखेको नै हुन भन्ने जनताले व्यापक प्रश्न गर्दछन्।

अहिले जनताले धेरै आस गरेका थिए। व्यापारीले पनि नाजायज तरिकाले व्यापार गरे भने त्यसलाई जनताले नजिकबाट नियालिरहेको हुन्छ। त्यसलाई अहिलेको विद्रोहको घटनावलीले त्यसलाई पुष्टि गरेको देखिन्छ। त्यो घटनावली कानुनसम्मत तरिकाले हुनुपर्दथ्यो भन्नेमा हामी पनि सहमति राख्छौं।

भारत वा जापानमा जस्तो अख्तियारको प्रहरी अनुसन्धान अधिकृतको टोली गएर उनीले नै अनुसन्धान गरेपछि मुचुल्का बनाएर आम नेपाली जनतालाई सुसूचित गर्न पाएको भए, त्यो सबैभन्दा राम्रो हुन्थ्यो। तर गर्न सकिएन। किन सकिएन ? तीनवटा ठूला दल मध्येमा दुईवटा मिल्नासाथ सरकार बनाउने र भत्काउने काम ती दलले गरेका छन्। त्यो पीडा हामीले भोग्यौं।

सरकारमा जो रह्यो, उसको आदेश मान्ने प्रहरी, सेना, प्रशासन अड्डा अदालत र संगठन पनि सवै उनीको आदेशमा परिचालित देखिन्थ्यो। कानुनको उल्लंघन हुन्थ्यो अनि कसरी कारवाही हुन्छ ? त्यही कारणले गर्दा छानेरै विरोधीलाई तर्साउने र बार्गेनिङ गर्ने संयन्त्रको रुपमा यस्ता सरकारी संरचनाको दुरुपयोग गरिएको थियो। हामीले त्यही भोगेका छौं।

त्यो राजनीतिक दलमा शीर्ष नेताको दुष्कर्मको कारणले अहिले नेपालले ठूलो पीडा व्यहोर्नु परेको देखिन्छ। यसमा हामीले सीमाभन्दा बढी सहानुभूति राख्न पर्दैन। “जैसी करनी वैसी भरनी” हुन्छ नै।

जेनजीले के गर्नु हुँदैनथ्यो ?
युवा पुस्ताले वर्तमान र वर्तमानका काम लाग्ने सम्पत्ति जोगाउनु पर्दथ्यो। युवाको जोस र ज्येष्ठ नागरिक होस मिलाएर नै नेपालको विकासमा फड्को मार्ने मोडल हामीले विकास गर्ने हो।

आगजनी गर्नु हुँदैनथ्यो। ज्येष्ठ नागरिक नेतालाई कुटपिट हातपात गर्नु गलत हो। आगो लगाएर सम्पत्ति तहसनहस गर्नु हुँदैनथ्यो। सरकारी सम्पत्ति जलाउनु अझ ठुलो भुल भयो। उनीहरुले भ्रटाचार गरेको ठहरिएपछि त त्यो सम्पत्ति त राज्यले जफत गर्थ्र्यो र राज्यको सम्पत्ति हुन्थ्यो। हामीले पनि त्यसको लाभ हिस्सा पाउने थियौं।

आगो लगाएर त्यहाँको माल सामान, पैसा र सुन हात हातमा लिएर हिँडने मान्छे पनि नेपाली नै थिए होइन र ? त्यसो गर्नु कानुन विपरीत नै हो। हिजो कानुन विपरीत गरेर आगलागी भइरहँदा जो जसको साथमा सेना, प्रहरी दमकल थिए, तिनीहरुले गएर नियन्त्रण गर्नु पर्दथ्यो तर गरिएन। आज ती कर्तव्य पथमा चुकेका छन्। आम नेपाली जनताले उनीहरुको मूल्याङ्कन गरिरहेका छन्। त्यसरी हामीले वुद्धि र विवेकले यस्तो अवस्थामा संयम भएर काम गरी राज्यको असल नागरिक बन्ने प्रयास गर्नुपर्छ।

भर्खर नेपालमा भएको जेन्जी विद्रोहमा ठूलो धनजनको विनास भयो । त्यो विद्रोहको कारणरुपी मागमा “भ्रष्टाचारको अन्त्य र सुशासनको थालनी, रोजगारीमूलक विकास उनीहरुले चाहेका माग थिए। यी विश्वभरका नेपाली, देशभक्त र राष्ट्रवादीको सहमति थियो। यसमा उनीहरुको प्राविधिक युवा समूहले विश्लेषणसहितको तयारी गरेको देखिन्छ। जसमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने उनीहरुको चाहना भएको पाइन्छ।

यो तातिएको परिस्थितिमा नेपालभित्रका शक्ति समूह सक्रिय भए। जेलमा थुनिएर नख्खु कारागारमा रहेका नेता रवि लामिछानेलाई निस्कने हतारो भयो। सत्ताबाट बाहिरिएपछि छटपटीमा रहेको माओवादीका नेता प्रचण्डले घुपैठ गराए। अर्को थरीमा दुर्गा प्रसाईंको भडकाउवादी चरित्रमा राजावादीको धमिलो पानीमा माछा मार्ने दाउ पाए। यो समयमा जेनजी सचेत हुन सकेनन्।

विदेशी शक्तिमा पनि भारतको रिसर्च एण्ड वीङ्गको नेपाल तहसनहस गर्ने दाउ, विगतको निवर्तमान प्रधानमन्त्री केपी ओलीले बेइजिङ्गमा आयोजित भेलामा चीनका राष्ट्रपति सी चिनफिङसँग् कालापानी र लिपुलेकको भूभागको बारेमा उठाएको सवाल महत्त्वपूर्ण देखिन्छन्। नेपाललाई नसोधी ठूला दुई छिमेकीले गरेको व्यापारिक सन्धिको बारेमा नेपालले कूटनीतिक विरोध गर्नु गलत होइन तर यो विषयमा भारतले गम्भीर असन्तुष्टि देखायो।

नेपाल र विदेशमा प्रकाशित पत्रपत्रिका, मिडिया, घटनाको समीक्षा गर्दा भारतको असन्तुष्टि देखिन्छ। जेनजी समूहको उद्देश्य पवित्र र स्वच्छ भएकोमा कुनै आशंका छैन। तर घुसपैठ रहेको भन्ने सत्य प्रमाणित हुन्छ।

सविधानमा राष्ट्रपतिले नेपाली सेनाको समन्वय र विज्ञको राय सल्लाह बमोजिम अहिलेको संकट टार्न निकास दिनुभयो। केही दिनका लागि शान्ति आयो तर पनि अहिलेको अवस्थामा के हो ? अबको नेपालका लागि राजनीतिको बाटो सहज छ ? भन्ने प्रश्नको उत्तर सजिलो छैन। यसको समाधान हामीले राजनीति र सवैधानिक बाटोबाट नै गर्नुपर्ने देखिन्छ।

संविधानको वैधानिक धरातलमा टेकेर आगामी दिनमा काम गर्नुपर्ने छ। धरातल मात्र नबिर्सिएमा निकास अवस्य प्राप्त हुन्छ। भारतमा सन् १९४९ को २६ नोभेम्बर निर्मित भएर २६ जनवरी १९५० मा लागू भएको संविधान अहिले पनि सर्वमान्य छ। त्यही संविधानलाई १०६ औं पटक संशोधन गरिएको छ। त्यही संविधानले अहिलेसम्म राज्य व्यवस्थामा प्रभावकारी ढङ्गले चलिरहेको पाइन्छ।

नेपाल जस्तो सानो देशमा नचल्ने कुरै आउँदैन। तर नेता इमान्दार बन्नुपर्छ। असल गुरु भएन भने विद्यार्थीले जसरी कक्षाबाटै शिक्षकलाई लखेट्छन् त्यसैगरी असल नेता भएनन् भने अब राज्यबाट पनि युवाले लखेट्न थालेका छन् भन्ने पाठ जेन्जी विद्रोहबाट सबैले लिन पर्ने देखिन्छ।

नेपालको अबको बाटो कस्तो हुनुपर्छ ?

सबै दलले निर्वाचनलाई मुख्य केन्द्र बनाएर अगाडि जानुपर्ने देखिन्छ। त्यसो भएमा राजनीतिक निकासको लागि बनेको सरकारलाई शान्ति कायम गर्न सजिलो हुन्छ। अबको निकासका लागि संसद पुनबहाली विद्रोहको मर्म र भावना विपरीत हुन्छ। यो पुराना दलको स्वार्थ र उद्देश्य हुनसक्छ। तर विद्रोही समूहले त्यसलाई स्वीकार गर्नु हुँदैन। विगतमा केपीले संसद विघठन गर्दा पनि संसदको पुनर्वहाली भएको घटना हाम्रो अगाडि देखिन्छ। तर सो समाधान बन्न सकेन बरु समस्या अझै विकारलरुपले बदलाको भावमा बल्झिएर गयो।

मूलकुरा संविधानको पालना र राज्यको विकासमा नेपालका ठूला दल र नेता गम्भीर बन्न सकेनन्। देशमाथि नेताबाट गम्भीर गल्ती मात्र भएन अक्षम्य अपराध भयो। प्रमुख दलले चुनावदेखि सत्तासम्म गठबन्धन गरेर सार्वभौम जनताको राजनीतिक स्वतन्त्रताको अधिकारमा बार बन्देज लगाए। मनले नचाहेको दलमा भोट हाल्न बाध्य बनाइयो। त्यो गर्नु गलत हो। त्यसको उद्देश्यले देश बनाउने नभएर सत्तामा गएर राज्यकोषको दुरुपयोग गर्दै धनसम्पत्ति बटुलेर मोज गर्ने नियत रहेछ। यो कुकर्मले यिनीहरुलाई, जीवनभर लखेट्छ।

चुनावी गठबन्धन कायम नरहनु भनेको मतदातामाथि विश्वास घात र धोखा थियो। पछिल्लो गठबन्धनले सविधान सशोधनको मुद्दालाई नजरअन्दाज गरी ओझेलमा राख्यो। यस्ता घटनाक्रमले आम युवामा व्यापक आक्रोश बढेको हो। त्यसको परिणाम नै जेनजी आन्दोलन हो।

एउटा विराउने शाखा पिराउने गरी निर्दोष र मिहिनेती पात्रका पनि सम्पत्तिसमेत खरानी बनेका छन्। अब पनि सजिलो छैन। आम युवाले धर्म नछोडी, सत्याग्रह गर्दै धर्ना दिएर, निर्वाचन नगरेसम्म यो सरकारलाई साथ दिनुपर्ने देखिन्छ। सरकारले प्रमुख काम निर्वाचनसँगै अपराधीलाई कानुनको कठघरामा ल्याएर सजाय दिने हो। सरकारले सफलतापूर्वक यी काम गर्न सके युवाको बलिदानको सम्मान हुनेछ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ७ : ३७ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर