थारु समुदायको मादल बनाउने सीप ओझेलमा « Khabarhub

थारु समुदायको मादल बनाउने सीप ओझेलमा


१२ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– दसैँ लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुन्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ । 

थारु समुदायको सांस्कृतिक पहिचानसँग गाँसिएको मादल बनाउने सीप पुस्तान्तरण नहुनु, सामग्री नपाइनु जस्ता कारणले यो मौलिक परम्परा हराउने अवस्थामा पुगेको छ ।

पहिले दसैँ आउनु केही महिना अघि नै गाउँका सीपालुले नयाँ मादल बनाउँथे ।  पुराना मादल मर्मत गर्थे । विजयसालको काठमा बाख्राको छाला राखेर मादल बनाइन्थ्यो ।

‘जति बुढो बाख्राको छाला हुन्छ, मादल त्यति राम्ररी बज्दछ’, युवा समाजसेवी नरेन्द्रप्रसाद चौधरीले भने, ‘छालालाई विजयसालको काठको ढुङग्रोको दुवै पट्टि मोरेर कसेपछि दुवै तर्फको भागमा भातको माडको गम बनाएर बाबियो पोलेर बनाइएको खरानी र खरी मसाला(लोरसिंगा) मिलाएर लगाउने कार्य हुन्थ्यो, त्यसपछि खरी लगाएको भागमा चिप्लोसहित भएको ढुङ्गा वा सिसाको बोतलले घोटेर चम्काइन्थ्यो, यसरी बनेको मादल सखिया नाचमा टाढैबाट बजाएको सुनिन्थ्यो ।’
 
उनका अनुसार अहिले विजयसालको काठ पाउनै मुस्किल छ । ‘वन क्षेत्र प्रवेशमा प्रतिबन्ध भएपछि खरी (लोरसिंगा) पाउन सकिँदैन, सनपाट खेती छाड्दै जाँदा डोरी जुटाउन गाह्रो छ, सामग्री नै नपाएपछि मादल नै नबन्ने भयो’, उनले भने । 
 
चौधरीका अनुसार मादल बनाउन जान्ने थारु गाउँमा केही बुढापाकाहरू मात्रै बाँकी रहेका छन् । ‘हामीलाई सिकाउने बुढापाकाले चासो दिएनन्, युवाले पनि सिक्न खोजेनन्’, थारु अगुवा विनोद चौधरी भन्छन्, ‘पुस्तान्तरण नहुँदा सीप हराउँदै छ र योसँगै संस्कृति पनि संकटमा छ ।’

सखिया नाचका लागि अहिले थारु समुदाय बाहिरबाट मादल खरिद गर्न बाध्य छन् । ‘पुरानो मादल मर्मत गर्न पनि पैसा तिर्नुपर्छ, यस वर्षको सखियामा मादल अपुग हुने भएपछि पुराना मादल दोधारा–चाँदनी पुगेर बादी समुदायसँग मर्मत गराउनु परेको छ’, पिपलाडीका बरघर राजु चौधरी भने ।
 
उनका अनुसार पहिले गाउँमा मादल बनाउन नजान्नेले जान्ने सीपालुलाई अन्न तिरेर बनाइन्थ्यो । पहिले ढकेर समुदाय गाउँमै आएर फलामको काम गर्थे । उनीहरूले छाडेको डढेको फलामबाट खरी पनि बनाउन सकिन्थ्यो । ती चलन अब इतिहास बनेका छन् । 

‘ढकेरले आउन छाडेको वर्षौ बितिसक्यो लोरसिंगा(खरी) पाउनै छाड्यो, वन क्षेत्रमा पाइन्थ्यो त्यहाँ अनुमतिले मात्रै जान पाइन्छ, तर लोरसिंगा ल्याउनै पाइँदैन’, उनले भने । गाउँमै आफ्ना लागि आफैँ बनाइने मादल टिकाउ मात्र नभई बज्नमा पनि उत्कृष्ट हुन्थ्यो । तर, अहिले बाहिरबाट ल्याइने मादल महँगो छ । ‘एउटा मादल किन्न रु तीन हजारदेखि रु छ हजारसम्म तिर्नुपर्छ’, अगुवा गहनु चौधरी बताउँछन्, ‘महँगो मात्र होइन, गाउँमा बनेको जस्तो मीठो ताल पनि आउँदैन ।’

मादल बनाउन मात्र होइन, बजाउन जान्ने युवाको सङ्ख्या पनि घट्दै गएको छ । यसले दसैँमा देखाइने सामूहिक सखिया नाचको आकर्षण घटाएको छ । ‘मादलकै अभावमा सखिया ओझेलमा पर्ला कि भन्ने पिरलो छ’, स्थानीय श्यामलाल डगौरा भन्छन्, ‘पहिला घर घरमै मादल बन्ने हुँदा अगुवा र पछुवा मदारीको सङ्ख्या नै अधिक हुन्थ्यो, एकै नाचमा १० देखि १५ सम्म मदारी हुन्थे, अहिले घटेर चार पाँच जनामै सीमित हुन पुगेका छन् ।’

उनका अनुसार मादल बनाउन आवश्यक काठ, छाला र अन्य सामग्री उपलब्ध गराउने नीति बनाउनुपर्ने आवश्यकता छ । ‘मादल बनाउने सीप पुनः स्थापना गर्न स्थानीय तहले पहल नगरे परम्परा लोप हुने पक्का छ’, उन भने ।

थारु संस्कृतिको जीवन्तता कायम राख्न मादल निर्माणलाई संरक्षण गर्ने मात्र विकल्प देखिएको उनको धारणा छ । उनी भन्छन्, ‘मादलबिना न त दसैँमा सखिया नृत्यमा चमक आउँछ, न त थारु समुदायको मौलिकतालाई जीवन्त राख्न सकिन्छ, त्यसैले थारु संस्कृतिको अभिन्न अङ्गका रूपमा रहेको मादल संरक्षण गर्ने कार्यसँगै निर्माण गर्ने कार्यलाई जीवन्त राख्न राज्य र समाज दुवैले उत्तिकै ध्यान दिनु जरुरी छ ।’ रासस

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  २ : १२ बजे

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत