आगामी पुसमा बाघ गणना गरिने « Khabarhub

आगामी पुसमा बाघ गणना गरिने


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन- आगामी पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।

बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गर्न लागिएको हो । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि बजेट विनियोजन गरेको छ ।

हरेक चार–चार वर्षमा बाघ गणना गरिँदै आएको छ । विभागका  वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने जनाइएको छ । गैँडा गणना गर्न तीन साता लाग्छ । निर्वाचन हुने भएकाले गैँडा गणनाका विषय भने अन्योल छ । 

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिनेछ ।  बाघ गणनाका लागि चालु आर्थिक वर्षमा विभागले १८ लाख रुपैयाँ विनियोजन गरेको छ । यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने गर्दछ । गैँडा गणनाका लागि पनि विभागले १८ लाख रुपैयाँ नै विनियोजन गरेको छ । गैँडा गणना गर्न दुई करोड रुपैयाँ बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दाताहरूसँग सहयोग मागिने छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने स्थानमा स्वचालित क्यामेराहरु राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ । बाघहरुको फोटो हेरेर तिनीहरुको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए । हरेक बाघको पाटा फरक–फरक हुने गर्दछन् ।

गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना गरिएको थियो । सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए । 

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए । सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिब एक सयको हाराहारीमा झरेको थियो ।

नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ । सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  १२ : ०८ बजे

देशलाई विकास र सुशासन चाहिएको छ : सभापति लामिछाने

गण्डकी– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र

कोशी प्रदेशसभामा थारु आयोगको प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा थारु आयोग, नेपालको सातौँ

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी– लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी चार

वातावरण संरक्षणसँगै पूर्वाधार विकास आवश्यक छ : वनमन्त्री चौलागाईं

काठमाडौं- वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मुलुक समृद्धिका लागि वातावरण