मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा « Khabarhub

मन्त्री घिसिङ पनि फिल्डमा खटेर रातारात पुरिँदै सडकका खाल्डा



काठमाडौं- काठमाडौंका साघुँरा सडकमा असङ्ख्य सवारीसाधनको ठेलमठेल । त्यसैमाथि सडकको बीचबीचमा छल्नुपर्ने खाल्डाखुल्डी ।

यस्ता खाल्डाखुल्डी देशको राजधानी रहेको काठमाडौं उपत्यकाका सवारीचालकको टाउको दुखाईको कारण बनेका छन् । त्यतिमात्रै होइन, महिनौसम्म नपुरिने सडकका खाल्डाखुल्डी उपत्यकामा हुने दुर्घटनाको एक मुख्य कारण पनि बनेका छन् ।

तर, अन्तरिम सरकार भने सडकमा रहेका यस्ता खाल्डाखुल्डी तत्कालै पुर्ने अभियानमा लागेको छ । अन्तरिम सरकारका ऊर्जा तथा जलस्रोत, शहरी विकास र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ रातदिन नभनी फिल्डमै खटिएर काम गरिरहेका छन् । कुशल प्रशासकको छवि बनाएर मन्त्री बन्न सफल घिसिङको पहलमा रातारात सडकका खाल्डा पुर्न थालिएको छ ।

गत भदौदेखि उपत्यकामा राइड सेयरिङ गर्दै आएका समिर भट्टराई भन्छन्, ‘म रातको १०/११ बजेसम्म सडकमा नै हुन्छु । मजदुरले धमाधम सडकका खाल्डा पुर्ने काम गरिरहेको देख्छु । लामो समयसम्म पनि सडकका बीचमा भएका ठूल्ठूला खाल्डा नपुर्दा जीवननै धरापमा पारेर काम गर्नुपर्ने अवस्था हुन्छ । सरकारको यो कदम स्वागतयोग्य छ ।’

यस्तै जागिरका लागि दिनहुँ ललितपुरको झम्सीखेलदेखि रत्नपार्कसम्म स्कुटरमा यात्रा गर्ने कविता श्रेष्ठ पनि सरकारले सडक सुरक्षाबारे तीव्र गतिमा काम गर्नु सकारात्मक रहेको बताउँछिन् । ‘कार्यालयबाट साँझ घर फर्किदा छलेका ठूलाठूला खाल्डा भोलिपल्ट पुरिएका भेटिन्छन् । यसले सडक सुरक्षासँगै शहरको सौन्दर्यता कायम गर्न मद्दत पुगेको छ,’ उनी भन्छिन् ।

ललितपुरको थापाथली क्षेत्रको सडकको बीच भागमा रहेको खाल्डाकै कारण दुर्घटना समेत भोग्नुपरेको उनी सम्झिन्छिन् ।

‘म प्रायजसो सामान्य गतिमा नै स्कुटर चलाइरहेकी हुन्छु । एकपटक थापाथली नजिकैको एउटा खाल्डोमा परे । हात मर्कियो । यो हात अहिलेसम्म पनि बेलाबेला दुख्ने गरेको छ’ श्रेष्ठले भनिन् ।

नागरिकका यिनै समस्या सुल्झाउन केही दिनदेखि मन्त्री घिसिङ सडकमै पुगेर खाल्डा पुर्ने कामलाई तीव्रता दिएका छन् । उसो त यो काम सडक विभागले विगतमा पनि गर्दै आएको थियो । तर, नागरिकको जीउधनको सुरक्षासँग प्रत्यक्ष जोडिएको सामान्य लाग्ने यस विषयमा समेत मन्त्री स्वयं फिल्डमा उत्रिएर काम गरेको विषय नागरिकका लागि नौलो हो ।

हाल राति ११ बजेदेखि बिहान ४ बजेसम्म काम भइरहेको छ । गत सोमबार राति करिब ११ बजे खाल्डाखुल्डी पुर्ने काम भइरहेकै बेला मन्त्री घिसिङ भइरहेको कामको निरीक्षणका लागि फिल्डमै उत्रिएका थिए । त्यसको तीन दिनपछि उनी पुनः त्यसका लागि आवश्यक पर्ने सामाग्रीसहितको पूर्वाधार एम्बुलेन्सनै लिएर सडकमा पुगेका थिए ।

सडक डिभिजनमार्फत नेपालमा पहिलोपटक सुरु गरिएको यो सेवासँगै उनले सडकमा खाल्डाखुल्डी देखिए नागरिकले सुझाव दिने मोबाइल एपको समेत विकास गर्ने सन्देश दिए ।

‘पहिलो चरणमा डिभिजन कार्यालय काठमाडौं मातहतका सडकमा परिक्षणका रुपमा सुरु गरिएको यो सेवा क्रमश देशभर विस्तार गर्नेछौँ,’ कार्यक्रममा उनले भने ।

यसबारे सडक विभागका प्रवक्ता ई. श्यामबहादुर खड्का भन्छन्, ‘हामीले बाह्रै महिना देशभरका सडकमा रहेका पटहोल पुर्ने काम गरिरहेका हुन्छौँ । जुन सामान्य गतिमा चल्ने काम हो । यसबारे मन्त्रीज्यूको चासो बढेसँगै पटहोल मर्मतको काम छिटो गर्न सडक डिभिजन कार्यालय काठमाडौंले त्यसका लागि आवश्यक पर्ने सबै सामाग्रीसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ । यो नौलो र पहिलो अभ्यास हो ।’

देशभरका सडकका खाल्डाखुल्डी मर्मतका लागि सडक बोर्डबाट १ अर्ब २५ करोड रुपैँया बराबर बजेट सुनिश्चितता भइसकेकाले आर्थिक समस्या नरहने उनको भनाइ छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ५ : ३६ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा