युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा « Khabarhub

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको चिफ अफ स्टाफको घर र कार्यालयमा छापा


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

कीएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइहरूले छापा मारेको छ । रूसको आक्रमण रोक्ने प्रयास र अमेरिकी सहयोग सुनिश्चित गर्ने प्रक्रियाबीच उत्पन्न भएको यो घटना किएभका अधिकारीहरूका लागि एक अवाञ्छित चुनौतीका रूपमा देखिएको छ ।

युक्रेनमा भ्रष्टाचारविरुद्ध कार्यरत दुई प्रमुख राष्ट्रिय संस्थाहरू राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो र विशेष भ्रष्टाचार विरोधी अभियोजकको कार्यालयले यर्माकको कार्यालयमा खोजतलास गरेको पुष्टि गरेका छन् । यर्माक स्वयंले पनि आफ्नै अपार्टमेन्टमा अनुसन्धानकर्ताहरू आएको स्वीकार गर्दै टेलिग्राममार्फत ‘अनुसन्धानकर्ताहरूले कुनै बाधा पाएका छैनन्, मैले पूर्ण सहयोग गरिरहेको छु र मेरा कानूनी प्रतिनिधिहरू उपस्थित छन्’ भनेका छन् ।

यी दुवै निकाय युक्रेनी उच्च अधिकारीहरू संलग्न रहेको करिब १० करोड अमेरिकी डलर बराबरको ऊर्जा क्षेत्र सम्बन्धी कथित ठूलो भ्रष्टाचार प्रकरणको मुख्य अनुसन्धानकर्ता हुन् । यर्माकका दुई पूर्व सहकर्मी ओलेह टाटारोभ र रोस्टिस्लाभ सुर्मा विभिन्न वित्तीय आरोपका कारण सन् २०२४ मै पदबाट बाहिरिनु परेको थियो । अर्का सहायक एन्ड्री स्मिर्नोभमाथि पनि घुस तथा अन्य अनियमिततासम्बन्धी अनुसन्धान भएको थियो, यद्यपि उनी अहिले पनि यर्माकका लागि काम गरिरहेका छन् ।

युक्रेनले युद्धकालीन आवश्यकताका कारण पश्चिमी मुलुकहरूसँग थप सहायता मागिरहेका बेला उत्पन्न यस काण्डले राष्ट्रपति जेलेन्स्कीमाथि अतिरिक्त राजनीतिक दबाब सिर्जना गरेको छ । युरोपेली सङ्घमा समावेशीकरण प्रक्रिया अघि बढाउन पनि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने भन्दै इयुले जेलेन्स्कीलाई निरन्तर आह्वान गर्दै आएको छ ।

ऊर्जा क्षेत्रसम्बन्धी अनुसन्धान सार्वजनिक भएपछि यसै महिनाको सुरुआतमा जेलेन्स्कीले आफ्नै दलभित्रबाट अभूतपूर्व प्रतिरोध सामना गर्नुपरेको थियो । यर्माकमाथि प्रत्यक्ष कुनै गलत कार्य गरेको आरोप पुष्टि नभए पनि जेलेन्स्की दलका वरिष्ठ सांसदहरूले जनविश्वास पुनर्निर्माण गर्न उनले नै जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिएका छन् । केही सांसदहरूले यर्माकलाई बर्खास्त नगरिए दल नै विभाजित हुनसक्ने चेतावनी समेत दिएका छन्, जसले संसदीय बहुमतमा असर पर्नसक्ने सम्भावना औँल्याएका छन् । तर राष्ट्रपति जेलेन्स्कीले ती मागहरू अस्वीकार गर्दै एकताको आग्रह गरेका छन् ।

जेलेन्स्कीले युक्रेनी जनतालाई ‘राजनीतिक खेलहरू रोक्दै एकजुट हुन’ आव्हान गर्दै हाल अमेरिकाबाट भइरहेका रूससँग सम्झौताको सम्भावित दबाबको सन्दर्भ पनि उल्लेख गरे । एन्ड्री यर्माकले करिब १५ वर्षअघि जेलेन्स्कीसँग भेट गरेका थिए । त्यतिबेला उनी टेलिभिजन उत्पादन क्षेत्रमा प्रवेश गरिरहेका वकिल थिए भने जेलेन्स्की चर्चित हास्य कलाकार थिए । पहिलो राष्ट्रपति टोलीको सदस्यका रूपमा विदेश मामिलासम्बन्धी महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै यर्माक सन् २०२० मा चिफ अफ स्टाफका रूपमा पदोन्नति भएका थिए ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि विदेश यात्रामा अधिकांश समय जेलेन्स्कीका साथमै रहने यर्माक राष्ट्रपतिले अत्यधिक भरोसा राख्ने व्यक्तिका रूपमा चिनिन्छन् । देशभित्र उनलाई ‘राष्ट्रपतिका पहरेदार’ का रूपमा व्याख्या गरिन्छ र प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका महत्त्वपूर्ण पदहरूमा नियुक्ति छनोटमा पनि उनको प्रभाव निर्णयकारी रहेको व्यापक विश्वास छ ।

यर्माक तथा राष्ट्रपति कार्यालयसँग जोडिएका केही व्यक्तिहरू विगतमा पनि विभिन्न अनुसन्धानको दायरामा परिसकेका छन्, जसले वर्तमान छानबिनलाई झनै संवेदनशील बनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ७ : २४ बजे

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र