रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म « Khabarhub

रवि-बालेन सम्झौताले सामाजिक सञ्जालमा तरङ्ग : पुरानालाई सबकदेखि विदेशी चलखेलको आरोपसम्म



काठमाडौं– तारन्तारको छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बालेन्द्र साह ‘बालेन’ले शनिबार राति ७ बुँदे सहमति गरेका छन् । विशेषगरी आगामी निर्वाचनपछिको प्रधानमन्त्री बालेनलाई दिनेगरी गरिएको सो सहमतिले सामाजिक सञ्जालमा तरङ्ग नै सिर्जना गरेको देखिएको छ ।

रास्वपा र बालेनबीच भएको सहमतिलाई लिएर राजनीतिक दलका नेता तथा कार्यकर्ता साथै लेखक, पत्रकारलगायत आम सर्वसाधारण अधिकांशले परिवर्तनको सुरु भएको टिप्पणी गरेका छन् । त्यसैगरी उत्तिकै सङ्ख्यामा आलोचना पनि भइरहेको छ । पुराना दलका नेताहरुले रवि र बालेनको सहमति विदेशीको इसारामा भएको आरोप लगाएका छन् । फेरि कसैले उनीहरुको एकता पुराना दलहरुको लागि पनि सिकाई भएको बताएका छन् ।

वार्तामा डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, डीपी अर्याल, असीम शाह र आसिफ शाह थिए । त्यसैगरी, बालेनको तर्फबाट कुमार व्यञ्जनकार, भूपदेव शाह, सुदीप ढकाल र सुनिल लम्साल सहभागी थिए । वार्ता साक्षीका रूपमा चलचित्र निर्देशक निश्चल बस्नेत र सामाजिक अभियन्ता केपी खनालको पनि उपस्थिति रहेकोले नयाँ भन्नेहरु पनि पितृसत्ताकै भुक्तभोगी रहेको आरोप आएका छन् ।

अर्कोथरी कुलमान घिसिङलाई पनि सहकार्यमा ल्याउनुपर्ने र ल्याउन नहुने दुवैखालका तर्कहरु आएका छन् । साामजिक सञ्जाल र मिडिया पुरै उनीहरुको सहमतिलाई लिएर तातेको छ । उनीहरुको एकतालाई लिएर सकारात्मक तथा नकारात्मक दुवै किसिमको धारणाहरु बनेका छन् । खबरहबले केहीका विचारहरुलाई समेट्ने प्रयास गरेको छ ।

ठाडो भाषा र शब्दको प्रयोग गर्ने धरान उपमहानगरमा मेयर हर्क साम्पाङले रवि र बालेनलाई विदेशी दलालको संज्ञा दिएका छन् । साथै, साम्पाङले सिंहदरबार जलाउने र जेन–जी युवाका हत्याराहरुले देशको प्रधानमन्त्री बन्ने सपना नदेख्न चेतावनी दिएका छन् ।

रवि र बालेन सहमतिलाई खिसीटिउरी गर्दै साम्पाङ लेख्छन् – ‘हाहा….जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ? फटाहाहरू । सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे ?’

अर्को लेख्छन् –‘देश सिध्याउँछन् यी विदेशी दलालहरुले । सिंहदरबार जलाउँछु भन्ने र जलाएरै देखाउने देखि सावधान ।

नेपाली कांग्रेस नेता चन्द्र भण्डारी लेख्छन् – ‘रवि जी र बालेनजीको मिलनले यो सन्देश दिन्छ । अब अरुले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ । यहि सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ ।’

एमाले नेता महेश बस्नेतले स्वतन्त्र छवि बनाएका बालेनले रविसँग मिलेर आफ्नो छवि धमिलाएको टिप्पणी गरेका छन् । साथै उनले भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रकारीको उपमा दिएका छन् ।

बस्नेत लेख्छन् – ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैँ आशाको रूपमा बेचिन्छ। गगन आए, जवर्जस्ती बासी बनाइए । काण्डै–काण्डका नाइके रवि आए,उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए । तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ। अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ ।

बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रबि जस्तो बिबादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीब्र गतिमा घट्ने देखिन्छ । ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजन आधारित नहुँदा जनतासंगको दूरी झन् बढ्दै जाने र जनमत झन कमजोर हुँदै जाने निश्चितै छ ।

भाद्र २३ गतेको शान्तिपूर्ण प्रदर्शन योजनाबद्ध मुठभेडमा परिणत गराइयो र केही युवाले ज्यान गुमाए। त्यसको भोलिपल्ट भाद्र २४ गते राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो । यी घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण हुन् । यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु, साथै माओवादी र राजावादी धाराहरूको समर्थन देखिनु गम्भीर विषय हो ।

त्यसैगरी उनी थप लेख्छन्, ‘अबको चुनावको मुख्य प्रश्न, सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिनेहरु जलाउने धारको नेतृत्व बालेन–रविहरुले गरेकै हुन् । संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ ।

समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो। नयाँ दल खोल्नु समाधान होइन, पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नु हो। रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन । यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ । नत्र नयाँ बोत्तलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौँ ।’

रास्वपा नेता तोसिमा कार्कीले अबको आशा रास्वपा हुने दाबी गरेकी छिन् । लेख्छिन् – ‘रिर्फमेसन, अब क्रमश पुरा देश नै घण्टीमय हुँदै जानेछ घण्टी । देशले काँचुली फेर्नेछ । फेरी पनि सम्पूर्ण राष्ट्रप्रेमी नागरिक तथा वैकल्पिक शक्तिहरुलाई घण्टीमा गोलबद्द हुन आवहान गर्दछु । आउनुस् शान्त भद्र ‘निलो क्रान्ति’ मार्फत समुन्नत समृद्द नेपाल निर्माण गरौँ ।

नेकपा एमाले नेता गोकुल बाँस्कोटा लेख्छन् – ‘रवि र वालेन मिलेछन् । अब कुलमान र प्रचण्ड बाँकी रहे जस्तो देखियो । त्यो पनि होला झै लाग्छ ।’

समाजशास्त्री निर्मला ढकालले सिंहदरबार जलाउनेहरुले लायकको नेता पाएको भन्दै व्यङग्य गरेकी छिन् । लेख्छिन्– ‘सिंहदरवार जलाउने भिडलाई व्यहोरा सुहाउँदो नेता मिलेछ, रमाइलो त अब पो हुने भो । यो पटक आफु भोट हालिन्न, ढुक्कले रमिता हेरिन्छ ।’

जेन–जी आन्दोलन सर्मथक लेखक तथा अधिवक्ता सरिता तिवारी परिवर्तनका संवाहक युवाहरुमा समेत पुरुषहरुकै वर्चस्व भएको आरोप लगाएकी छिन् । रवि र बालेनको सहमतिपछि खिचिएको तस्विरमा एक महिला सहभागी छैनन् । लेख्छिन्– ‘राजनीतिमा म्यान र बाहुबलीको भाष्य नै स्थापित गर्ने भए युवा जन्ताले पनि । युवा जन्ता पनि पुरुष वर्चस्वकै मनोविज्ञानले बनेका छन् । स्ट्यान्डर्ड पोलिटिकल एक्टर भनेको सट–पयेंट लाउने, दार्‍ही जुँआ भुको मुन्छे नै हो नि, हैन युवा जन्ताहरू ?’

पत्रकार स्मृति मल्लले उनीहरुको गठबन्धन भावनामाथिको खेलवाड भएको बताएकी छिन् । लेख्छिन्–‘यदि तपाई खतरनाक राजनीतिक दाउ खेल्दै हुनुहुन्छ भने जे वा जो सँग तपाईलाई खतरा छ । उसको दिमागमा ‘द फिलिङ अफ रिलेटिभ डेप्रिभेसन’ अर्थात तुलनात्मक रुपमा वञ्चित हुनसक्ने भावनामा खेल्दिनुस् । खेल खतम । जीत तपाईको । अहिलेलाई यत्ति भनौं ।’

सामाजिक सञ्जाल प्रयोगकर्ता दीपक शर्माले रवि र बालेनको एकता माओवादी जनयुद्धको जस्तो हुने दाबी गरेका छन् ।जनयुद्धले देश पछाडि धकेलियो । अब यिनीहरुको एकता दुरुस्तै हुने उनको तर्क छ । लेख्छन् – ‘एउटा राष्ट्रिय ठग र अर्को धुन्दकारीको मिलन जनताले के पाउछ मलाइ थाहा छैन । तर देश चै अस्थिरताको भुमरीमा फसेर २० बर्षपछि धकेलिनेमा कुनै शंका छैन । नोट–माओबादि जनयुद्दमा जनता यस्तै उद्देलित भए सारा ध्वस्त पार्यो आखिर के हात लाग्यो ? देशलाई नयाँ दल र सेलिब्रेटि चाहिएको होइन स्थिर शासन प्रणाली र स्थिर सरकार हो । त्यो यि टाल्टुले जोडेकाबाट सम्भव छैन ।’

त्यसैगरी नवीन रिजाल लेख्छन् – ‘फागुन २१ सम्मको चुनावको नतिजापछि पनि रहिरहने वाला सहमती हो मेयर साव ? कुनै पदको लागि मात्र त होइन ? साँच्चै देशप्रति बफादार हुँदै काम गर्नको लागि हो भने शुभकामना । अब सिंहदरबार जलाइदिन्छु भन्ने अभिव्यक्ति चाइ दिनु भएन है ।’

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  ५ : ०७ बजे

अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

गण्डकी– पर्यटकीय राजधानी पोखरामा आधुनिक बसपार्क बनाउने योजना ५० वर्षदेखि

फिर्के खोलाको अतिक्रमण थालियो हटाउन, मेयर आफैँ खटिए

पोखरा– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

क्यान्सरको औषधि अभाव हुन नदिन दैनिक विवरण उपलब्ध गराउन विभागको आग्रह

काठमाडौं– बजारमा क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा

समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे

पाल्हीनन्दन– छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माणका

तनहुँका व्यवसायी पसल बन्द गरेर आन्दोलनमा 

काठमाडौं– दमौली स्थित सफा सडक क्षेत्रमा आजदेखि लागू गरिएको पार्किङ