गण्डकी – कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम आजदेखि सुरु भएका छन् । कार्यक्रमअन्तर्गत आज लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले कवि शिरोमणि लेखनाथका काव्यको परिचर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा उनले गरेकाे योगदानबारे बताएका थिए । लेखनाथका काव्यमा अद्वैत बेदान्त दर्शन शीर्षकमा विद्यावारिधी गर्नुभएका डा बोधराज ढकाल, विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका पूर्वप्राचार्य डा जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथका काव्यबारे चर्चा गरेका थिए ।
लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको काव्य परिचर्चा कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथका कविता सुनाएका थिए । त्रिदिवसीय कार्यक्रमअन्तर्गत यही पुस १४ गते कविशिरोमणि जन्मस्थल अर्घौ अर्चलेमा सरसफाइ गरिनेछ भने पुस १५ गते अर्चलेमा नै मूल समारोह हुने लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले जानकारी दिए ।
कवि शिरोमणि पौड्यालको जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानको संयुुक्त आयोजनामा हुने कार्यक्रमको लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स क्लब, आमा समूह, युवा क्लब, बेगनास ताल बस सञ्चालक समिति सह–आयोजक रहेका छन् । विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय तथा लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिएकी सुरक्षा बराल तृतीय भए ।
राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेलले तृतीय भए । गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेल तृतीय भए ।












प्रतिक्रिया