दुई दाना सुन्तला चोर्नेलाई कति होला सजाय ? | Khabarhub Khabarhub

दुई दाना सुन्तला चोर्नेलाई कति होला सजाय ?


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजावादीको आन्दोलनका क्रममा शुक्रबार कोटेश्वरस्थित भाटभटेनीबाट स्याउ, सुन्तला, लिपस्टिक र रक्सीका बोतल लुटपाट गर्नेमध्ये कतिपयलाई प्रहरीले पक्राउ गरिसकेको छ । उता सामाजिक सञ्जालमा प्रश्न उठिरहेको छ– गोजीमा दुई दाना सुन्तला हालेर हिँड्ने व्यक्तिलाई कति सजाय होला ? के दुई–चार दाना सुन्तला बोकेर हिँडेकै कारण उनले पनि जेल नै जानु पर्ला त ?

अपराध अनुसन्धानमा कार्यरत प्रहरीहरु कानुनले सानो चोर र ठूलो चोरबीच फरक नगरेको बताउँछन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक अंगुर जीसी अर्काको निजी सम्पत्ति लिएर भाग्नु अपराध भएकाले दोषीमाथि कानुनअनुसार कारवाही हुने बताउँछन् ।

‘व्यक्तिको सम्पत्ति उठाउनु भनेको अनधिकृत हो । त्यहाँ प्रवेश गर्ने कसैलाई अधिकार छैन । त्यसरी जानै पाइँदैन,’ प्रवक्ता जीसीले खबरहबसँग भने, ‘बन्द रहेको पसल तोडफोड गरेर प्रवेश गरेका छन् । असल नागरिक त्यसरी तोडफोड गरेको ठाउँमा जाँदै जाँदैन । गए पनि उसले अर्काको सम्पत्ति छुँदैन ।’

संकटको अवस्थामा अर्काको सम्पत्ति संरक्षण गरिदिने नागरिकको कर्तव्य हुने बताउँदै जीसी प्रश्न गर्छन्, ‘आफ्नो कर्तव्य बिर्सेर उल्टै सामान बोकेर हिँड्ने ? भिडले जे पनि गर्न पाइन्छ ? नागरिकको सम्पत्ति तोडफोड गर्न पाइन्छ ? हामी भिड हौँ, भनेर जे पनि गर्न पाइँदैन । सरकारी वा गैरसरकारी कुनै सम्पत्ति क्षति गर्न पाइँदैन । मौकाको फाइदा लिनु भनेकै दुरासय हो । सामान लिएर भाग्नेहरुको मनसाय राम्रो देखिएन ।’

स्थानीयले मौका छोपे, सीसीटीभीले समात्न सजिलो बनायो

भाटभटेनीमा सामान लुटपाट गर्नेहरु पेसेबर चोर भने नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘भाटभटेनीमा लुटपाट गर्नेहरु अधिकांश त्यहीँ वरिपरिका स्थानीयले मौका छोपेको पाइएको छ, प्रहरी प्रवक्ता जोशी भन्छन्, ‘आन्दोलनकारीले जब भाटभटेनी प्रवेश गरेर तोडफोड गर्न थाले, त्यहाँ सामान छरपष्ट हुन थाल्यो । स्थानीय र त्यही वरपर साना पसल राखेर बस्नेहरु पनि मौका छोपेर लुटपाटमा संलग्न रहेको पाइएको छ ।

सामाजिक सञ्जाल र सडकको सीसीटिभी फुटेजबाट उनीहरुलाई पक्राउ गर्न सजिलो भएको प्रवक्ता जीसी बताउँछन् । उनी भन्छन्, ‘सञ्जालमा आएका यत्रतत्र भिडियोहरु मनिटर ग¥यौं । सडकमा जडान गरिएका सीसीटिभी फुटेज पनि नियाल्यौं ।’
प्राप्त भिडियोहरुका आधारमा लुटपाटमा संलग्नहरुलाई समात्ने काम भइरहेको जीसीले खबरहबलाई बताए ।

‘तीनकुने, भाटभटेनी, जडीबुटी लगायतका क्षेत्रहरुमा हामीले टोली परिचालन गरिरहेका छौं,’ उनी भन्छन्, ‘सीसीटीभी फुटेजमा देखिएको व्यक्तिलाई हामीले छिमेकी र आफन्तको सहारा लिएर पहिचान गरिरहेका छौँ । सूचना संयन्त्रका लागि प्रहरी बाहेक साथीभाइ र चिनेका मान्छेहरुबाट पनि सहयोग लिएका छौं ।’

सुरक्षाकर्मीले रोक्न खोज्दा खोज्दै सामान लिएर भागेकाले उनीहरुमाथि कारवाही गर्नैपर्ने जीसीको भनाइ छ । ‘घरभित्रबाट ल्यापटप चोरर हिँड्दै गरेको पनि देखियो । रोक्दा रोक्दै पनि नटेरेर लिएर भागेका छन् ।’

उनी अगाडि भन्छन्, ‘आन्दोलन चोरका लागि सबैभन्दा ठूलो मौका हो । लुटपाट गर्ने अपराधी प्रवित्तिका मानिसलाई भिडभाडले बल दिन्छ । त्यहाँ पकेटमार र चोरहरु पनि हुन्छन् । उनीहरु भिड खोजेर बसिरहेका हुन्छन् र चोर्ने वातावरण खोजिरहेका हुन्छन् । त्यहाँ सबै आन्दोलन नै गर्न आएका हुन्छन् भन्ने हुँदैन । राजा ल्याउने मनस्थिति भएका मात्रै हुन्छन् भन्ने छैन ।’

एसपी जोशीले शुक्रबारको घटनाको विश्लेषण गर्दै भने, ‘त्यहाँ विभिन्न थरीका मानिसहरु थिए । त्यो दिन बन्द जस्तै भयो । कति गाडी चढ्न पाएनन् । गाडीका चालक तथा सहचालक पनि गए होलान् । पसल बन्द गरेर गएका मान्छे पनि भीडमा मिसिए ।’
कति होला सजाय ?

अब चर्चा गरौं, दुईचार दाना सुन्तला बोकेर हिँड्नेलाई कति सजायँ होला ?

यसका लागि हामीले मुलुकी अपराध संहिता पल्टायौं ।

संहिताको २८६ नम्बर दफामा ‘लुटपिट गर्न नहुने’ शीर्षकमा लेखिएको छ, ‘कसैले लुटपिट गर्नु वा गराउनु हुँदैन ।’

उक्त दफाको उपदफा (२) मा भनिएको छ, ‘कसैले आफ्नो हक नपुग्ने वा अन्य कसैको स्वामित्व, जिम्मा वा नियन्त्रणमा रहेको सम्पत्ति चोरी वा ठगी गरेको अवस्थामा बाहेक अरु कुनै किसिमले जबर्जस्ती गरी वा नगरी खोसी, धरपकड वा लछार पछार गरी वा त्यस्तो गर्ने धम्की दिई लैजाने वा हानि, नोक्सानी गर्ने नियतले कुनै काम गरेमा लुटपिट गरेको मानिने छ ।’

त्यस्तै उपदफा (३) ले सजायको व्यवस्था गरेको छ । जसमा भनिएको छ, ‘उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा लुटपिट गरेको बिगोको २५ प्रतिशतसम्म जरिवाना वा दुवै सजाय हुनेछ र लुटपिट भएको सम्पतिको विगो कसूरदारबाट पीडितलाई भराई दिनु पर्नेछ ।’

ऐनको यो प्रावधान हेर्दा ५ दाना सुन्तला गोजीमा हालेर हिँड्नेलाई कति सजाय होला त ? अब यसबारे विचार गरौं ।

मानिलिउँ ५ दाना सुन्तलाको दाम १०० सय रुपैयाँ पर्छ । यसको २५ प्रतिशत जरिवाना भनेको २५ रुपैयाँ हो । अभियुक्तले यो जरिवाना राज्यलाई तिर्नुपर्ने हुन्छ । उसले लुटपिट भएको सम्पत्ति अर्थात् ५ दाना सुन्तला जसको हो, उसलाई फिर्ता गरिदिनुपर्ने हुन्छ । अर्थात्, भोटभटेनीको सुन्तला फिर्ता गर्नुपर्ने हुन्छ । यसो गर्दा सय रुपैयाँको सुन्तला चोर्नेले बिगोसहित १२५ रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ ।

तर, के राज्यलाई २५ रुपैयाँ र सुन्तला धनीलाई एक सय रुपैयाँ तिर्दैमा सुन्तला चोर्ने व्यक्तिले उन्मुक्ति पाउला त ? पाउन सक्दैन । किनभने, उपदफा १ अनुसारको कसूर गर्ने व्यक्तिलाई मुलुकी अपराध संहिताको उपदफा ३ अनुसार तीन महिनासम्म कैद हुन सक्छ । तीन महिनासम्म भनेको अदालतले एक दिनदेखि ६० दिनसम्म कैद गर्न सक्छ भन्ने हो ।

भाटभटेनीबाट सुन्तला उठाएर गोजीमा हाल्ने व्यक्तिले लुट्ने नियतले नभएर पसल अगाडि छरिएको देखेर अन्य बहुमूल्य सामानतिर नलागी फगत केही दाना सुन्तला गोजीमा हालेको रहेछ भने के होला ? फौजदारी न्यायमा ‘मनसाय’ लाई महत्व दिइने भएकाले यस्तोमा अदालतले विवेक प्रयोग गर्न सक्छ । अथवा, प्रहरी आफैंले मुद्दा चलाउँदा त्यसको गम्भीरतालाई हेरेर अभियोजन तयार पार्न सक्ने कानूनका जानकारहरु बताउँछन् ।

फलफूल चोर मात्रै होइन, दुर्गा प्रसाईँ पनि पक्राउ पर्छन् : प्रहरी

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुर्गा प्रसाई कुनै पनि हालतमा पक्राउ पर्ने दाबी गरेको छ । अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक अंगुर जिसीले खबरहबसँग कुरा गर्दै भने, ‘प्रहरी उनको खोजीमा छ लागिरहेको छ, उनी पक्राउ पर्छन् ।’

जिसी भन्छन्, ‘शुक्रबारको प्रर्दशनमा दुर्गा प्रसाईले जसरी निषेधित क्षेत्रमा गाडी लिएर जर्बजस्त प्रवेश गरे, त्योबेला प्रहरीले गोली हानेको भए पनि प्रश्न गर्ने ठाउँ थिएन । किनकि उनले प्रहरीलाई पेलेर गाडी हुँक्याइरहेका थिए ।’

तर, प्रहरीले भोलिका दिनमा जटिलता नआओस् भनेर संयमता अपनाएको प्रवक्ताले जीसीले बताए । उनले खबरहबसँग भने, ‘एकजना मान्छे मूर्ख भयो भन्दैमा प्रहरी संयन्त्र मूर्ख हुने कुरा भएन । प्रहरी एकजनाको पनि ज्यान नजाखोस् र कोही घाइते नहोस् वा कुनै पनि भौतिक क्षति नहोस् भन्नेमा सतर्क छ ।’

उनी भन्छन्, ‘निषेधित क्षेत्र तोड्दा हामीले रोक्ने प्रयास गर्छौं । सम्झाइ बुझाइ गर्दा नभएपछि पानीको फोहोरा हानेर तर्साउने कोसिस गर्छौं । त्यसपछि पनि भएन भने लाठीचार्ज गर्ने हो । त्यतिबाट पनि नभएपछि अश्रुग्यास र त्यसपछि हवाईफायर गरिन्छ । त्यसपछि रबर बुलेटको प्रयोग हुन्छ । यी केहीबाट पनि रोकिने अवस्था आएन भने तत्कालीन जोखिमबाट बच्नुपर्ने स्थिति आएपछि नागरिकलाई बचाउनुपर्ने हुन्छ । प्रहरीले सकेसम्म कम क्षति होस् भन्नेमै लाग्ने हो ।’

जिसी भन्छन्, ‘प्रहरीले निजी तथा सरकारको सम्पत्ति संरक्षण गर्नुपर्ने हुन्छ । प्रहरी आफैँ पनि सुरक्षित हुनुपर्ने हुन्छ । त्योबेला प्रहरीले अन्तिम बल प्रयोग गर्छ ।’

जनता जुनसुकै सिद्धान्त वा विचार लिएर सडकमा आउन पाउने उनीहरुको अधिकार रहेको जिसी बताउँछन् । उनी भन्छन्, ‘सरकारको विरोध गर्न पाउने हक अधिकार जो कोहीलाई छ । ०६२/ ६३ को आन्दोलनमा पनि २०/२५ लाख मान्छे देख्याैँ । तर, त्योबेला यसरी निजी घर जलाएको देखिएन, जुन राजावादीको आन्दोलनमा देखियो । यो प्रवित्तिले कुनै पनि दल समर्थकलाई राम्रो गर्दैन र यस्तो कार्य गर्नेहरु कानुनको दायरामा आउँछन् ।’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : १३ बजे

पार्टीभित्रको आत्मनिन्दा र गुटबन्दीले कांग्रेस कमजोर हुन्छ : प्रकाशशरण महत

रूपन्देही– नीति र सिद्धान्तमा बलियो भए पनि आत्मनिन्दा, गुटबन्दी र

गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल

गण्डकी– गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को नीति

आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

मोरङ– प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेका

म्याग्दे गाउँपालिकाका ६६ श्रमिक मजदुर कोषमा सूचिकृत

दमौली– जिल्लाको म्याग्दे गाउँपालिकाले ६६ श्रमिकलाई मजदुर कोषमा सूचीकृत गरेको

‘खर्बपति’ ट्रम्पसँग भिडेका ‘नीलपति’ मस्क जोगिएलान् ?

शीर्ष धनाढ्यहरूको सूची र सम्पत्ति अध्यावधिक गर्ने गरेको फोर्ब्स म्यागाजिनका