निर्देशक र लेखकको खुलासा : ‘होस्टल ३’ कै कलाकारलाई लिएर अर्को फिल्म बनाउछौं ! | Khabarhub Khabarhub

निर्देशक र लेखकको खुलासा : ‘होस्टल ३’ कै कलाकारलाई लिएर अर्को फिल्म बनाउछौं !


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्ने उखान अहिले फिल्म क्षेत्रमा ‘होस्टल ३’ की नायिका हेना नगरकोटीका जति कसका लागि लागू भएको होला र !
कसरी ?

हेना छायांकनमा सहभागी भएको डेब्यू फिल्म ‘खेल’ हो । जुन अहिले प्रदर्शनरत छ । यो फिल्मको प्रदर्शनमा ढिला भएकाले उनले ‘होस्टल ३’मा अभिनय गर्ने अवसर पाइन् । कलाकारको जुन फिल्म पहिला प्रदर्शनमा आउँछ त्यसैलाई डेब्यू मानिन्छ । यस अर्थमा हेनाको डेब्यू फिल्म ‘होस्टल ३’ बन्यो ।

यदि ‘खेल’ पहिला प्रदर्शनमा आएको भए हेनाले ‘होस्टल ३’ मा नायिका बन्ने सम्भावनाको ढोका लगभग बन्द हुन्थ्यो ।
हेना आफैँ भन्छिन्, ‘कलाकारलाई डेब्यू गराउने होस्टल शृङ्खलाको विशेषता हो । ‘खेल’ पहिला प्रदर्शनमा आएको भए मैले होस्टल ३ मा काम गर्न पाउने थिइनँ ।’

नायिका हेना नगरकोटी

यस अर्थमा हेनामा माथिको उखान लागू भएको हो । पहिलो छायाङ्कन भएको फिल्म ढिलो प्रदर्शनमा आउँदा उनको डेब्यू ‘होस्टल’ जस्तो ब्रान्डेड शृङ्खलाबाट भयो ।

डेब्यू फिल्मबाटै हेनाले ५१ दिनको सफलता साट्न पाइन् । पाठकलाई जानकारी दिऔं, यस फिल्मले सोमबार न्युरोडस्थित एक हलमा ५१औँ दिन मनायो । निर्माण पक्षले एक कार्यक्रमको आयोजना गरी यस सफलताको खुसीसमेत साटेको छ ।
‘होस्टल’ शृङ्खला हेनाले भनेजस्तै कलाकारलाई डेब्यू गराउने ब्रान्ड मात्रै होइन । अघिल्ला शृङ्खलाका नायक नायिका फिल्म क्षेत्रमा स्थापित छन् ।

नायकहरू अनमोल केसी, सुशील श्रेष्ठ, नायिका स्वस्तिमा खड्का यही ब्रान्डका उत्पादन हुन् । अर्थात्, ‘होस्टल’ शृङ्खलाले कलाकारलाई फिल्म क्षेत्रमा स्थापित गराउँछ भन्ने मानक छ । कतिले यसलाई यस शृङ्खलाको विशेषता पनि मान्छन् । नमान्नु पर्ने त्यस्तो चोटिलो कारण पनि छैन ।

त्यसो भए ‘होस्टल ३’ ले कलाकारलाई फिल्म क्षेत्रमा स्थापित गराउने छनक देखाएको छ त ? यस फिल्मका मुख्य तीन कलाकार पारस बम, रिहान गिरी र हेना नगरकोटीको व्यस्तताबाट के देखिन्छ त ? ५१औँ दिनको सफलता मनाउन रिहान गिरी उपस्थित भएनन् । उनी ‘आहुती’ फिल्मको छायाङ्कनमा पाँचथरमा रहेको खबर गत साता बाहिरिएको थियो ।

पारसलाई लिएर फिल्म बनाउन मेकरहरू तयार भएको गसिप सुनिन्छ । यो गसिप सत्य हो ? भन्ने प्रश्नमा पारसको जवाफ छ, ‘केही मेकरहरू प्रस्ताव लिएर आउनुभएको चाहिँ सत्य हो ।’

सँगै रहेका फिल्मका निर्देशक सशान कँडेलले यस विषयमा पारसले ‘कुरा चपाएर बोलेको’ फ्याट्ट भनिहाले । पारस मुसुक्क हाँसे । तर, निर्देशकको कुरा होइन भन्न सकेनन् । उनले धेरै प्रस्ताव आएको कुरा मिडियामा भनेर प्रचार गर्न नचाहेको बुझियो । यसपछि भने पासरले आफू होस्टल–३ भन्दा फरक जनराको फिल्मको तयारीमा रहेको बताए ।

उनले थपे, ‘दोस्रो फिल्मलाई मैले चुनौतीका रुपमा लिएको छु । यो मैले आफूलाई निखार्ने समय हो । मिहिनेत गर्दैछु ।’

फिल्म ‘होस्टल-३’का शीर्ष कलाकारहरु

उनको अभिव्यक्तिले पारस अर्को फिल्मको तयारीमा रहेको सङ्केत गर्छ । तर, उनी आफैँले नबोलेसम्म यो शङ्कामै सीमित हुन्छ ।
हेनाका अनुसार उनीसम्म भने अहिल्यै मेकरहरू आइपुगेका छैनन् । तर उनी निकट व्यक्तिहरूसम्म भने मेकर आइपुगेका छन् ।

उनी भन्छिन्, ‘म निकट व्यक्तिहरूलाई मेकहरूले मलाई लिने कुरा चाहिँ गर्नु भएको सुनेको छु । तर उहाँहरूले फिल्म ‘खेल’ मा मेरो अभिनय हेरेर मसँग कुरा गर्ने मनस्थित बनाउनु भएको छ रे ।’

अहिलेको माहोल हेर्दा ‘होस्टल ३’ का डेब्यू कलाकारले अर्को फिल्म चाँडै नै गर्नेजस्तो देखिन्छ । नयाँ कलाकार अन्य फिल्मसँग जोडाउने ‘होस्टल’को लेगेसी ‘होस्टल ३’ ले पनि निरन्तरता दिने देखिन्छ । तर, यी कलाकारहरू सबै फिल्म क्षेत्रमा स्थापित हुन्छन् भनेर किटान गर्न अहिले हतारो हुन्छ । स्थापित हुने वा हराउने उनीहरूको अभिनय क्षमतामा निर्भर हुन्छ ।

निर्देशक सशान कँडेल र लेखक माधव शर्मा

निर्देशक कँडेल र लेखक शर्माको खुलासा

‘होस्टल ३’ का निर्देशक सशान कँडेल र स्क्रिप्ट राइटर माधव शर्मा तीन फिल्ममा सहकार्य गर्ने तयारीमा छन् ।
छिट्टै फिल्मको टाइटल अनाउन्समेन्ट गर्ने तयारीमा रहेको उनीहरूले खबरहबलाई बताए ।

अबको पहिलो फिल्ममा भने उनीहरू ‘होस्टल ३’का कलाकारलाई लिने मनस्थितिमा छैनन् । माधव शर्मा भन्छन्, ‘अब लगत्तै बन्ने फिल्म फरक धारको फिल्म हो । यस फिल्मका पात्रमा ‘होस्टल ३’ का कलाकार फिट हुँदैनन् ।’

निर्देशक कँडेल र लेखक शर्मालाई ‘होस्टल ३’का कलाकारले अब बाहिरी ब्यानरबाट फिल्म खेलून् भन्ने महसुश भएको छ ।

निर्देशक कँडेल भन्छन्, ‘हाम्रो ब्यानर त घरको ब्यानर हो । हामीसँग जहिले जोडिए पनि हुन्छ । उनीहरूले बाहिरी ब्यानरमा फिल्म खेले अर्कै छाप पार्न जान्छ । त्यसैले बाहिरी ब्यानरबाट फिल्म खेलून् भन्ने हाम्रो इच्छा हो ।’ त्यसपछिमात्र ‘होस्टल ३’ का कलाकारलाई लिएर फिल्म बनाउने शर्मा र कँडेल दुवै बताउँछन् ।

कुरा सम्झौताको नजिक पुगेको रहेछ । शर्माकै अगाडि हेनाले कुरा फुत्काइ हालिन्, ‘होस्टल ३ का कलाकारलाई लिएर फिल्म बनाउने तयारीमा उहाँहरू (कँडेल र शर्मा) हुनुहुन्छ । हामीलाई सम्झौता चाँडै गराउँछौँ भन्नुभएको छ ।’ तर, कुन फिल्म हो ? त्यो भने कँडेल र शर्माले गोप्य नै राखे । हेना पनि अनभिज्ञ छिन् । तर, यो फिल्मका लागि चाहिँ करिब ६–आठ महिना कुर्नै पर्ने देखिन्छ ।

५१औँ दिनको खुसी

प्रायः ५१ दिनको सफलता मनाउँदा निर्माण पक्षले ग्रस कलेक्सन सार्वजनिक गर्छन् । यस फिल्मको भने सार्वजनिक भएन ।

खबरहबले ५१ दिनको ग्रस कलेक्सन निर्देशक कँडेललाई सोधेको थियो । तर, निर्देशकले हाँस्दै ‘यो आफ्नो क्षेत्र विषय परेन’ भन्दै टारे । चलचित्र विकास बोर्डका अनुसार चैत अन्तिम सातासम्म यो फिल्मले चार करोड ५ लाखभन्दा बढी व्यापार गरेको थियो । त्यही मितिको ग्रस कलेक्सनका आधारमा यो फिल्मलाई हिट नै मान्न सकिन्छ ।

तर, निर्देशक कँडेलले थोरै कुरा भने चुहाए । फिल्म प्रदर्शनको दोस्रो सातामा नै यो फिल्मको निर्माता सुरक्षित बनेको उनले दाबी गरे । थपे, ‘डिजिटल राइट्स र विदेश प्रदर्शन अधिकार बेच्दा यो फिल्मको निर्माता प्रदर्शनको दोस्रो साता नै सुरक्षित हुनुभएको थियो ।’ यो त व्यावसायिक पाटो हो । वर्षमा औँलामा गन्न सकिने फिल्मले ५१ दिनको सफलता मनाउँछन् । त्यसमा ‘होस्टल ३’ परेको छ । डेब्यू निर्देशक र कलाकारको फिल्मले ५१ दिन मनाउँदा अझ विशेष अर्थ लाग्छ ।

त्यसो भए, के भन्छन् त कलाकार निर्माता र स्क्रिप्ट राइटर ?

स्क्रिप्ट राइटर माधव शर्मालाई भने फिल्मले ५१ दिन मनाउँदा सन्तान हुर्किएजस्तो महसुस भएको छ रे । फिल्मले ५१ दिन मनाउँदा कलाकारहरू अन्य मेकरसामु नोटिस भएकोमा निर्देशक कँडेल सन्तुष्ट छन् । अर्थात्, उनलाई यो असफताले सन्तुष्टि दिएछ ।

उनी भन्छन्, ‘निर्देशकका रुपमा मेरो ठूलो कमाइ भनेको ‘होस्टल ३’ का कलाकार हुन् । उहाँहरूलाई धेरै मेकरहरूले नोटिस गर्नु नै मेरो लागि ठूलो कमाइ हो ।’ फिल्मले ५१ दिन मनाउनु भनेको सफल हुनु हो । नराम्रो फिल्मले यो सफलता पाउँदैनन् । विगत हेर्दा यो अवधिमा फिल्म चल्न कन्टेन्ट र कलाकारको अभिनय राम्रै हुनुपर्छ ।

पारसलाई ‘होस्टल ३’ मा अनुबन्ध गर्दा निर्माण पक्षलाई प्रचारका लागि फिल्ममा लिएको आरोप लागेको थियो । फिल्म सफल भएकाले पारसले यो आरोपको खण्डन गर्नु परेन । फिल्म सफलता नै अरोपको जवाफ बन्यो । १ दिनको सफलतामा पारस भन्छन्, ‘मलाई निर्देशकले विश्वास गर्नुभयो । दर्शकले नायकमा स्वीकार गर्नुभयो । यो नै मेरो लागि खुसीको कुरा हो ।’

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : ४२ बजे

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले

ट्रम्पद्वारा क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि घोषणा

अमेरिका– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानाडाली सामानहरूमा थप १०

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु

दार्चुला– दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको

मन्त्रिपरिषद् विस्तार हुने पक्कापक्की, राष्ट्रपति कार्यालयमा साढे २ बजे तयारी गर्न अनुरोध

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने पक्कापक्की भएको छ

दुर्गा प्रसाईंको दाबी : जेन‍-जी आन्दोलनमा विदेशीको स्वार्थ जोडिँदा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जलाइयो

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक