नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ? | Khabarhub Khabarhub

नार्कका वैज्ञानिकलाई प्रश्न : नेपालमा कति जातका धान पाइन्छन् ?



काठमाडौं– जैविक विविधताको दृष्टिकोणले नेपाल विश्वमै धनीमध्येको मुलुक हो । नेपालमा हिमालदेखि तराईसम्मको भू–भाग र चिसोदेखि तातो हावापानीमा धानखेती गरिन्छ । तर, पछिल्लो समयमा कृषि क्षेत्र लक्षित गरेर विश्वव्यापी विकासित प्रविधिसँगै आएको हाइब्रिडका कारण नेपालका रैथाने धानका बिउ लोप हुँदै गएका छन् ।

नेपाल धेरै खाद्यान्न बालीका बिउमा परानिर्भर बन्दै गएको छ । जुन बिउहरूले दोस्रो पुस्ताको लागि बिउ उत्पादन गर्न सक्दैनन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नेपालका कृषि क्षेत्रको विषयमा लामो समयदेखि विभिन्न बिउ बिजनको क्षेत्रमा अनुसन्धान तथा विकासको प्रयत्न गर्दै आएको छ ।

आज असार १५ गते देशैभरी धान रोपाइँको सुरुवात गर्दै धान दिवस मनाइरहँदा नार्कका वैज्ञानिक डा. उज्जलकुमार कुशवाहासँग खबरहबका लागि नारायण अर्यालले कुराकानी गरेका छन् ।

अहिलेसम्म तपाईंहरूको अध्ययनमा नेपालमा कति जातका धानको बिउ पाउनुभएको छ ?

हामीले २५ सय जति स्थानीय जातका धान संकलन गरेर राखेका छौँ । ती खुमलटारमा बिउ बैंकमा सुरक्षित छन् । धानका लागि नेपाल सेन्ट्रल डाइभर्सिटी भएको ठाउँ हो, त्यसैले यहाँ धेरै जाति पाइन्छ ।

ती रैथाने धानको बिउ सुरक्षाको अवस्था कस्तो छ ?

पोखरेली जेठो बुढो, पोखरेली मसिनो जुन पोखरातिर लगाइन्छ, यस्तै तराईतिर बासमती, काला नमक जस्ता केही जातहरू छन्, जो रैथानेमा पनि अलिकति उत्कृष्ट र उत्पादन पनि राम्रो छ, त्यो किसानले थोरै मात्रामा लगाउँदै आएका छन् ।

नार्कले ९९ वटा उन्नत जातका धानको विकास गरेको छ । बहुसंख्यक किसानले रैथाने जातलाई उन्नत सुधारिएको बनाइएको छ, जसलाई हामीले उन्नत जात भन्ने गर्छौं, तिनीहरूको प्रचलन बढी छ । ती बिउ किसानले बढी लगाउने गरेका छन् ।

कहीँ कहीँ किसानले अत्यन्तै थोरै मात्रामा स्थानीय जात पनि लगाउँदै आएका छन् । त्यो देशभरीमा ४/५ प्रतिशत क्षेत्रमा भन्दा पनि कममा भइरहेको होला ।

त्यसोभए धेरै स्थानीय धानका जात लोप पनि भैसके ?

धेरै लोप भइसके । हामीले जति सक्यौँ, त्यति संकलन गरेर राखेका छौं । १५ वर्ष पहिलादेखि यसको संकलन सुरु गरेको हो । ५० वर्ष अगाडि कुनै धान थियो र त्यो मासिइसक्यो भने त्यो हामीसँग संकलनको अवस्थामा छैन ।

दूर्भाग्यपूर्ण कुरा हो की हामी हामीसँग ज्ञान हुँदाहुँदै पनि हामी चुक्यौँ । समयमा ती धानका जातलाई संरक्षण गर्न सकेनौँ ।

यो स्थानीय वा रैथाने जातको धानलाई संरक्षण गर्न आवश्यक छ की छैन ?

यो अति आवश्यक हुन्छ । किनभने स्थानीय जात नभए नयाँ जात बन्न सक्दैन । स्थानीय जातमा केही यस्ता छन्, कसैको चामलको गुणस्तर राम्रो छ, कुनैले सुख्खा सहन सक्छ, कसैले पानी सहन सक्छ ।

अहिले मैले खुमल १८ जात निकालेँ, आइआर ६४ र कालो पातलेको क्रस गराएर । कालो पातले धानमा आइरनको मात्रा धेरै हुन्छ । त्यसैले खुमल १८ मा आइरनको मात्रा धेरै छ ।

स्थानीय जातका धानको गुणको कारण र नयाँ जातका बिउ बनाउनको लागि पनि स्थानीय जात चाहिने हुन्छ । हामीसँग स्थानीय जात छन् भने तीनलाई पनि स्तरीय जात बनाउन सकिन्छ ।

तपाईंहरूले रैथाने वा स्थानीय धानलाई उन्नत बनाएर जुन संरक्षण गर्नुभएको प्रविधि के हो ? त्यो काम कसरी गरिरहनु भएको छ ?

जुन स्थानीय जातका धान हुन्छन्, ती जातलाई अन्य जातसँग क्रस गराउँछौँ, त्यसपछि त्यहाँबाट जुन नयाँ बिउ उत्पादन हुन्छ, त्यसलाई एफ वान भनिन्छ, एफ सेभेनसम्म पुगेपछि त्यसलाई फोरलाइन भनिन्छ । त्यसको लागि सात वर्षसम्म सात मौसममा लगाउन पर्छ । त्यसपछि हामीले विभिन्न किसिमका ट्रायल गरी स्थानीय रूपमा राम्रो फल्ने जातसँग तुलना गर्छौं । त्यसो गर्दा जुन उत्कृष्ट देखिन्छ, त्यो जातलाई हामी अगाडि बढाउँछौँ ।

यसरी एउटा उन्नत जातको बिउ निकाल्नको लागि १२ देखि १४ वर्ष समय लाग्छ । जस्तो हामीले पोखरेली मसिनोलाई आइआर ३६ सँग क्रस गरेर खुमलचार भन्ने एउटा जात निकालेका थियौँ, त्यो धेरै पुरानो भयो । २६ वर्षजतिको भयो । खुमलचार एकदमै पपुलर छ । पोखरेली मसिनोको गुण पनि त्यसमा छ र आइआर ३६ को गुण पनि छ । यसो गर्दा स्थानीय नश्ल नभए पनि स्थानीय जिन चाहिँ त्यसमा रहन्छ ।

अहिले बजारमा भित्रिएका हाइब्रिड बिउ र उन्नत जातको धान उत्पादनमा कुनको फल्ने क्षमता धेरै हुन्छ ?

हाइब्रिड जातको धानभन्दा उन्नत जातको धान धेरै उच्च गुणस्तरका छन् । हाइब्रिडको उत्पादन धेरै हुन्छ । साथै, कुन जातको कुन जातसँग तुलना गर्ने भन्ने कुरामा पनि भर पर्छ ।

रैथाने जातलाई बचाउन नार्कको तर्फबाट के कस्ता पहल भइरहेका छन् ?

मैले विविध जात बनाउने काम गर्छु । हामीसँग जिन बैंक छ, त्यसमा संरक्षणको काम गर्ने गर्छौं । नयाँ–नयाँ जात बनाउने काम पनि हाम्रै हो । देशमा कहाँ कहाँ कुन स्थानीय जात छ भन्ने कुरा पत्ता लगाउँदै त्यसको बिउ ल्याएर संरक्षण गर्ने हो, त्यो काम हामीले गरिरहेका छौं ।

बिउ संरक्षणकै लागि राज्यले जिन बैंकको स्थापना भएको हो । तर, राज्यलाई अनुसन्धान प्रतिष्ठानको मतलब छैन । अनुसन्धान होस्, अनुसन्धानबाट राम्रो कुरा आओस् भन्नेमा राज्यले त्यति लगानी गरेको छैन । यो क्षेत्रमा राज्यको जसरी प्राथमिकता हुनुपर्ने हो त्यो देखिएको छैन ।

भनेपछि देशभित्रका स्थानीय वा रैथाने बिउको संरक्षणमा राज्यको ध्यान पर्याप्त मात्रामा पुगिरहेको छैन ? साथै, धानको प्रविधिमा हामी कहाँनेर छौँ ?

पुगेको छैन । राज्यले जति लगानी गर्नुपर्ने हो त्यो गरिरहेको छैन । यो विषयमा राज्यले जुन सोच बनाउन पर्ने हो, जति अगाडि बढ्नुपर्ने हो त्यो भइरहेको छैन ।

विश्वमा हेर्ने हो भने चीनले वान लाइन सिस्टममा काम गरिरहेको छ । तर, हामीले भर्खरै मात्र दुईवटा हाइब्रिड निकाल्न सकेका छौं । चीन, भारत र बंगलादेश भन्दा नेपाल धेरै पछाडि छ ।

धानमा नेपालको अनुसन्धान र उत्पादनको सिस्टम धेरै पछाडि छ । अन्य मुलुकसँग तुलना नै गर्न सकिँदैन । यहाँका बैज्ञानिकहरू भर्ना भएपछि विदेश जान्छन् । उनीहरूलाई जुन किसिमको लगानी गरेर आउटपुट निकाल्न लगाउनुपर्ने हो सरकार त्यसप्रति अलिक गम्भीर भएन । यो सरकारी जागिरे सरह हुन गयो ।

धानमा हाइब्रिड बिउको निरन्तर प्रयोगले कुनै दिन देश रैथाने वा स्थानीय बिउ शून्य अवस्थामा पनि पुग्न सक्ने खतरा देख्नुहुन्छ ?

अबको १०/१५ वर्षमा नै त्यस्तो अवस्था आउन सक्छ । किनभने यो क्षेत्रमा राज्यले जति मात्रामा गर्नुपर्ने हो त्यो गरेको छैन । लगानी गरेपछि नै त्यसको आउटपुट आउँछ । नत्र नाम मात्रैको लगानी गरेर केही हुँदैन । अरु कुरालाई जसरी प्राथमिकतामा राखिएको छ, यसलाई पनि प्राथमिकतामा राखेपछि न कृषि क्रान्ति हुनसक्छ ।

अनुदान दिँदैमा त कृषि क्रान्ति हुँदैन । अनुसन्धान कृषिको लागि एउटा महत्वपूर्ण चिज हो र अनुसन्धानप्रति राज्यलाई मतलब छैन । यसको राम्रो विकासबाट मात्रै किसानको वृद्धि विकासमा योगदान हुनसक्छ । होइन भने विदेशी बिउ लिएर कहिलेसम्म धान्ने ?

हामीसँग धेरै स्थानीय उन्नत जातहरू छन्, जसलाई नार्कले नै विकास गरेको छ । जसले गर्दा बिउ आयातमा समस्या हुनेबित्तिकै ठूलो समस्या भैहाल्ने अवस्था भने छैन । तर, बिउ आयातमा नाकाबन्दीको अवस्था आयो भने नेपालमा ठूलो असर भने पर्न सक्छ । किनभने किसानहरू आयात गरिएको हाइब्रिड बिउमा निर्भर छन् ।

कतै हाइब्रिड बिउ निर्यातकर्ता नीति निर्माण तहमा हाबी भएर राज्यले अनुसन्धानलाई प्राथमिकता नदिएको त होइन ?

तपाईंले निकै राम्रो प्रश्न सोध्नुभयो, मलाई यो विषयमा धेरै जानकारी त छैन । तर, प्रभाव परेकै होला । तपाइँले यो प्रश्न कृषि क्षेत्रको नीति निर्माण तहमा रहेका व्यक्तिसँग सोध्नुभयो भने राम्रो हुन्छ । म त प्राविधिक मान्छे हो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : २९ बजे

‘ऊनको स्वीटर’ ले ५१ दिन पार गरेपछि खुसीयाली (तस्बिरहरू)

काठमाडौं – नवीन चौहानको डेब्यू निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ले

पूर्वराष्ट्रपति भण्डारीद्वारा धान दिवसको शुभकामना

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रको दिगो विकासमा जोड दिनुपर्ने

सङ्घीय निजामती सेवा विधेयकमा छलफल सुरु

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ मा

नेप्सेमा उच्च अंकको वृद्धि, आइतबार बजार २६ अंकले बढ्यो 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको

सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई जना न्यायाधीशको