राजा फेर्ने इजिप्टका पानी हेरालुदेखि काठमाडौँका लिच्छविसम्मको कृषि सम्बन्ध | Khabarhub Khabarhub

सन्दर्भ : राष्ट्रिय धान दिवस

राजा फेर्ने इजिप्टका पानी हेरालुदेखि काठमाडौँका लिच्छविसम्मको कृषि सम्बन्ध

कृषि नै थियो पात्रो, श्राद्ध, पुनःजन्म र पिरामिड लगायतको आधार



काठमाडौँ – आज १५ असार ! नेपाली किसानहरूले धान रोप्दै दहीच्यूरा खाने दिन ! अनि नेपाल सरकारले मनाउने २१औँ राष्ट्रिय धान दिवस !

संसारका झण्डै आधा मानिसहरूको मुख्य खाना धान उत्पादनले नेपालको वार्षिक आर्थिक वृद्धिदरलाई नै प्रभावित पारिदिन्छ । भलै कृषिप्रधान देश भइकन नेपालले चालु आर्थिक वर्षका ११ महिनामा करिब ४० अर्ब रुपैयाँ बराबरको धानजन्य उत्पादन आयात गरिसकेको छ ।

रोप्दादेखि भित्र्याउँदासम्म नाचगानको उत्साह देखिने धान उत्पादन अर्थतन्त्रसहित विभिन्न पक्षसँग सम्बन्धित छ । मानवशास्त्र अध्ययनअन्तर्गत सामाजिक–सांस्कृतिक उपसमूहमा घोत्लिँदा धान लगायत खेती फगत एक खाद्य उत्पादनमात्र नभइ संसारमा शक्ति आर्जन र सन्तुलनसम्म विकास भएको देखिन्छ ।

सामाजिक–सांस्कृतिक मानवशास्त्रमा सभ्यता विकास क्रममा मानिसले कुनसमयमा कस्ता वस्तु सृजना गर्‍यो ? त्यसलाई कसरी उपयोग गर्‍यो ? कस्ता कस्ता विचार, ज्ञान, सीप र बुद्धि ग्रहण गर्‍यो ? कुन कुन समयमा फरक–फरक समाजमा त्यस्ता ज्ञान, सीप, बुद्धि, विवेक अथवा अभौतिक वस्तुहरूको सृजना गर्‍यो भन्नेबारे चर्चा हुन्छ । मानिसले विकास गरेका सामाजिक सम्बन्ध र त्यसको प्रभाव तथा दुबै प्रकारका संस्कृतिहरू (भौतिक र अभौतिक) बारे पनि मानवशास्त्रको यो विधाले बोध गराउँछ ।

नेपालीहरूले झमझम पानीमा छुपुछुपु धान रोपिरहँदा यो सामग्रीमा आज हामी कृषि र सत्ता सम्बन्धको नालीबेली बुझ्नेछौँ ।

सभ्यता विकास हुँदै गर्दा उनीहरूलाई करेसाबारी आवश्यक भयो । महत्वपूर्ण वनस्पतिका रुख, बिरुवा, पात र जराहरूले मानिसको जीवनमा औषधीय लगायत कारणले महत्व राख्न थाल्यो । विशेष गुणकै कारण तुलसी लगायत वनस्पतिहरूलाई देवताकै अंशका रूपमा लिने चलन वैदिक हिन्दु समाजमा छँदैछ ।

मानिसहरूले यस्ता बढी लाभदायक वनस्पति पहिचान, उपयोग र संरक्षण गर्दैगदौ उनीहरूले पशुपालन पनि थालिसकेका थिए भनिन्छ । तर, खेतीपातीतर्फ मानव समाज खासै अग्रसर भइसकेको थिएन ।

बढ्दो कबिला, कबिलामा बढिरहेका सदस्यहरू र आहारा व्यवस्थापनमा थपिँदो चुनौती ! अब मानिसले आहारा निमित पशुबाहेक पनि विकल्प सोच्नुपर्ने भयो । त्यसपछि नै कृषि समाज विकास भयो र वर्षभर पुग्ने खाद्यान्न उत्पादनतर्फ मानिसहरू सक्रिय हुन थाले । यो तथ्यबाटै के प्रष्ट हुन्छ भने कृषिको जगमै सभ्यता विकास र विस्तार भएको थियो । अतः मानव संस्कृति पनि कृषिमै आधारित हुन थाल्यो ।

अब खेतीपाती गर्न राखिएको पानी हेरालुले कसरी सत्ता र शासक नै परिवर्तन गर्ने शक्ति अजमाए भन्नेबारे चर्चा गरौँ ।

संसारमा पहिलोपटक कृषि समाज (अग्रिकल्चर बेस्ड सोसाइटी) इसापूर्व ६०० मा (करिब २६०० वर्षअघि) इजिप्टमा विकास भएको देखिन्छ । त्यसैले कृषिलाई प्राचीन पेशा (प्रिमिटिभ अकुपेशन) पनि भनिएको हो ।

नाइल नदीले दुःख दिन थालेपछि इजिप्सियनहरूले नदी किनारभन्दा अलि परपर खेती गर्न थाले । किनकि नदीको किनारमै खेती गर्दा बाढी आएर पुरिदिने र बगाइदिने समस्या भयो । तर, खेतीपातीमा पानी पुगेन ।

उनीहरूले कुलोको अवधारणा विकास गरे । कुलो बनाएर त्यहाँसम्म पानी पुर्‍याइ खेती गर्न थाले । अब मानिसहरूले बाढी कहिले आउँछ भन्ने थाहा पाउनुपर्ने भयो । रोपाइँ कहिले गर्ने भन्ने पनि थाहा हुनुपर्‍यो ।

त्यसपछि त्यहाँका जनता र राजाहरू मिलेर एउटा मानिसलाई पानी कहिले पर्छ, रोपाइँ कहिले गर्दा हुन्छ भन्ने हेर्न जिम्मा लगाए । उक्त व्यक्तिले चन्द्रमाको गतिविधि हेर्‍यो । उसले कति दिनमा चन्द्रमा सानो हुन्छ र कति दिनमा पूर्ण हुन्छ भन्ने गन्न थाल्यो ।

यतिपटक यो चन्द्रमा सानो भयो र यतिपटक यो चन्द्रमा ठूलो भयो भने पानी पर्छ, अब रोपाइँ गर भन्यो । लुनार क्यालेन्डर (चन्द्र पात्रो) को विकास भयो । त्यसैलाई हामी अहिलेहाल वर्ष भन्छौँ । वर्षको अर्थ बर्खा हो, जो पानीसँग सम्बन्धित छ । किनकि बर्खामा पानी पर्छ ।

पानी कहिले पर्छ भनी थाहा पाउने सो व्यक्तिलाई राजाले ‘प्रिस्ट’ अर्थात् पण्डित/पूजारीको दर्जा दिए । चन्द्रमाबारे ऊ जानकार छँदैथियो । अब उसले तारा पनि गन्न थाल्यो । हामीले अहिले जो नक्षत्र, ग्रह भन्छौँ : त्यो इजिप्सियनहरूले नै पत्ता लगाएका हुन् ।

यति समयपछि यो तारा आकाशमा देखिन्छ, त्यो तारा देखिएका बेला फलानो मानिसको जन्म भयो, यो नाम राखे हुन्छ भन्ने कुरा उनीहरूले नै विकास गरेका हुन् ।

अब राजा प्रिष्टकै भरमा टिक्ने भयो । राजाभन्दा ठूलो गुरु हुन्छ भन्न थालियो । किनकि राजालाई निर्देश गर्ने त उही गुरु थियो । चीनमा त अझ गुरुले गल्ती गर्‍यो या पानी पर्दैन भनेका बेला पानी पर्‍यो भने राजा नै फेर्ने चलन थियो । त्यसैले समाजमा प्रिष्टको महत्व बढ्यो ।

ती प्रिष्टले अग्लो ठाउँमा बसेर चन्द्रमा र ताराको गतिविधि हेर्नुपर्ने थियो । उनीहरूले सोही आधारमा लुनार क्यालेण्डर विकास गरेका थिए । ती प्रिष्टहरूले सामान्य नागरिकलाई आफ्ना सन्तान आफूकहाँ पठाउन र ज्ञान लिन भने । आफू नभएपनि आफूबाट तालिम लिएका व्यक्तिले यो जिम्मेवारी धान्छन् भन्ने भयो । त्यस क्रममा नै स्कूलिङ अर्थात् पढ्न/पढाउन थालियो ।

अहिले हामी तिथि हेरेर काम गर्ने भन्छौँ । किनकि, लुनार क्यालेण्डर अनुसार हिसाब गर्दा ग्रहण लगायत घटनाको मिति ठ्याक्कै पत्ता लगाउन सकिन्छ । अहिले हामीले प्रयोग गर्ने विक्रम सम्वत् सूर्यको चालमा आधारित हो । यसलाई जुलियन गेग्रोरियन क्यालेन्डर पनि भनिन्छ । पहिले गेग्रोरियन क्यालेन्डर भनिन्थ्यो । जुलियनले गेग्रोरियन पात्रोलाई जिसस क्राइष्टको जन्मसँग जोडेर चलाएका थिए । हामीले प्रयोग गर्ने इस्वीसम्बत सोलारमा आधारित छ ।

हाम्रा लागि प्रकृतिमा चन्द्रमा र सूर्य दुबैको चालको हिसाब महत्वपूर्ण छ । त्यसैले हामी तिथिअनुसार काम गर्छाैँ, सूर्यअनुसारको क्यालेन्डर प्रयोग गर्छौँ । लुनार पात्रो प्रयोग गर्दा चार वर्षमा एक महिना बढी हुन्छ । त्यसलाई हामी पुरुषोत्तम महिना भन्छौँ ।

पश्चिमाहरूले लिप इएर भन्छन् । नेपालमा चन्द्रशमसेरले एक महिनाको खर्च बचाउनका लागि सूर्य क्यालेन्डर राख्न थालेका थिए । नत्र, पहिले कर्मचारीहरूलाई १३ महिनाको तलब दिनुपर्थ्यो । नेपालमा विक्रम सम्वत चन्द्रशमशेरकै पालादेखि लागू भएको हो ।

यसरी इजिप्सियनहरूले सभ्यता विकास गरे । पिरामिड बनाए, देवताका अवधारणा आए, मृत्युपछि पुनःजन्मका कल्पनासम्म गर्न थाले । मानिस मरेपछि कहाँकहाँ जान्छ भनी लेखेर राख्न थाले ।

पिरामिड

पिरामिड विशेषगरी राजाहरूका लागि बनाइयो । राजा मरेपछि अर्को लोकमा पुगेर पनि ऊ राजा नै हुन्छ भन्ने अवधारणा थियो ।

समाजले राजा देवताको छोरा हो र उसले पुण्य काम गरेको छ भन्ने विश्वासका कारण राजाको अर्थी (शव) राख्न विशेष पिरामिड विकास गर्‍यो ।

इजिप्सियनहरूले लासलाई नसड्ने/नगल्ने बनाउने प्रविधि विकास पनि गरे । त्यो विश्वकै लागि आश्चर्य भयो ।

राजालाई त गाड्यो, तर स्वर्गमा राजालाई रानी पनि चाहिन्छ भनेर विष खुवाएर मार्न मार्‍यो । रानीको शवलाई पनि राजाको शवको छेवैमा गाडिदियो र राजासँगै पठाएको विश्वास गर्‍यो । राजालाई घोडा चाहियो, त्यसैले घोडालाई पनि विष खुवाएर मारिदियो र राजाकै छेउमा गाडिदियो । दासदासी, सैनिक, अङ्गरक्षक सबैलाई मारेर राजाकै छेउमा समाधिस्थ गरिदियो ।

समाजले एक वर्षमा पितृलाई सम्झिने भनेर फलफूल आदि दान गर्न थाल्यो । अहिले हामी जुन श्राद्ध गर्छौँ – त्यो हामीले पुर्खा (एनसेस्टर) लाई नै सम्झिएका हौँ ।

इजिप्सियनहरूले हरेक देवीदेवतालाई सवारीसाधन/वाहन (भेहीकल) दिएका छन् । हाम्रो पनि देवतालाई भेहीकल दिइएको छ । मुसा, साँढे, गोही आदि हामीले पनि दिएका छौँ । हामी मानिसलाई भेहीकल नभएपनि देवतालाई भेहीकल दिइयो । त्यो पनि हाम्रो कन्सेप्टमा आयो । सभ्यतामा यो सबै इम्प्याक्ट हामीलाई इजिप्सियनहरूबाटै परेको हो ।

श्राद्ध

टिग्रिस र युफरटेस (पर्सियन खाडीमा मिसिने पश्चिम एसियाको सबैभन्दा ठूलो नदी प्रणाली) बीचको मेसोपोटामिया (हालको मध्यपूर्व) मा अर्को एउटा सभ्यता विकास भयो । त्यसलाई सुमेरियन या बेबिलोनियन सभ्यता पनि भनिन्छ । बेबिलोनियन सभ्यताको ह्याङ्गिङ गार्डेन अहिले पनि संसारकै आश्चर्य हो ।

उता इजिप्सियनको सभ्यता छँदैथियो, यता मेसोपोटामियामा बेबोलोनियन सभ्यता पनि विकास भयो । यसलाई ‘मिडिल किङडम’ या ‘न्यू किङडम’ भनिन्छ । पूर्वतर्फको टिग्रिस पश्चिमतर्फको युफरटेस नदी बीचको भागलाई नै मेसोपोटामिया भनिन्छ ।

सिन्धु नदी किनारमा पनि करिब ३००० बीसीमा इन्डस भ्याली सिभिलाइजेसन (सिन्धु घाटी सभ्यता) विकास भयो । त्यो सभ्यतामा शहर योजना (टाउन प्लानिङ) नै विकास भएको देखिन्छ । उत्खनन् क्रममा करिब ५० फिटको मुख्य सडक, २५ फिटको गल्ली, हरेक गल्लीमा नाला, ट्वाइलेट, बाथरुम बनाइएको शहरको भग्नावशेष भेटिएको छ ।

पानीसँग सम्बन्धित कोठाहरूमा उनीहरूले चिप्लो खालको इँटहरू ओछ्याएका छन् । हरेक घर एउटा निश्चित दूरीमा बनाइएको छ र कम्पाउन्ड वाल छ । सिन्धुका मानिसहरूले स्वीमिङ पूल र कपडा फेर्ने कोठाहरू बनाए । तातो र चिसोपानी आउने कोठाहरू बनाए । यो ६ हजार वर्ष पहिलेको कुरा हो ।

अब कृषि, व्यापार र वास्तुकलाबारे केही चर्चा गरौँ ।

हामीले १०० वर्षयता केही विकास देख्यौँ । तर, इन्डस भ्याली सिभिलाइजेसनमा त्यतिखेर नै टाउनप्लानिङ र प्लान्टेसन (कहाँ खेती गर्ने, कहाँ के के रोप्ने भन्ने) थियो । उनीहरूले त्यतिखेरै संरचना बनाउन पकाएका र विशेष किसिमका इँटाहरू प्रयोग गरे ।

सिन्धु उपत्यकामा त्यसभन्दा अघिको सभ्यताका प्रभावहरू परेको थियो । त्यहाँका मानिसहरू कृषिमा निर्भर थिए । उनीहरूले आफ्नो कृषि उत्पादनहरू मेसोपोटामियाको क्षेत्रमा लगेर बेच्थे । मेसोपोटामियाका मानिसहरूले त्यहाँको उत्पादन इन्डस (सिन्धु नदी वरपर) ल्याएर बेच्थे । यसरी इन्डस भ्यालीको व्यापार इजिप्टसम्म फैलियो ।

कपिलबस्तुमा उत्खनन् गर्दा नेपाल र भारतमा नपाइने पत्थरहरू फेला परेका छन् । ती किमती पत्थरहरूको व्यापार इजिप्ट र मेसापोटामियामा हुने गरेको थियो । इन्डसको शील मेसोपोटामिया र इजिप्टमा पाइन्छ । भू–सम्बन्धका कारण पनि यस्ता सामानको एक्सचेञ्ज सम्भव भयो ।

यी तीन सभ्यताबीच आपसमा सम्बन्ध भएकैले संस्कृतिहरू पनि विस्तारित भए । त्यसैले देवीदेवतामा पनि सिन्धु, इजिप्सियन र मेसोपोटामियाबीच धेरै समानता पाइन्छ । नाममात्रै आ–आफ्नो भाषामा राखिएको छ । सूर्यपूजा तीनै सभ्यतामा हुने गरेको छ ।

उनीहरू पनि पुर्खा सम्झन्छन्, हामी पनि सम्झन्छौँ । उनीहरू पनि स्फिनिक्स (घोडा, भेडाको अनुहार भएको, जीउ अन्य जीवजन्तुको भएको) चित्र या मूर्ति बनाउँछन्, हामी पनि बनाउँछौँ । यो सबै इजिप्सियन प्रभाव हो । भक्तपुरका कतिपय सम्पदाहरूमा इजिप्सियनहरूले जस्तै टाउको चराको र ज्यान मानिसको भएका मूर्तिहरू पाइन्छ । सिन्धु नदीको सभ्यताको प्रभाव भारतीय उपमहाद्विप हुँदै पश्चिम बङ्गालसम्म परेको छ ।

विकास क्रममा पर्सियनहरूले इजिप्टको तल्लो भाग, मेडिटेरियनन सी (भूमध्य सागर) को छेउछाउ, प्यालेस्टाइन र मध्यपूर्वसमेत कब्जा गरे । त्यतिखेर पर्सियन किङडम निकै बलियो थियो । साम्राज्यवाद उनीहरूबाट नै सुरु भएको हो ।

कुनै ठाउँको प्रशासन स्थानीय सरकारले गर्ने, तर आफ्नो सेना राखेर आर्थिक लाभ लिन थाले । उसले स्थानीय संस्कृतिलाई बाधा गरेन । राजनीति गर्न दिएन र सबैलाई राजाको अधिनमा राख्यो । जितेका ठाउँमा आर्मी राख्यो । बाटो बनायो । सेनालाई तत्काल अघि बढाउनका लागि आवश्यक लामा लामा बाटोहरू उनीहरूले नै बनाए । लामो बाटोमा हिँड्दा ठाउँठाउँमा बस्न र खानका लागि होटल र लजको कन्सेप्ट विकास भयो । त्यसैको सिको गर्दै हामीकहाँ पनि धर्मशाला बनाइयो ।

चीनको ह्वाङ हो नदीको किनारमा ६००० बीसीमा ह्वाङ हो नदी सभ्यता विकास भयो । तर कहिले आक्रमण हुने, कहिले राजा फेरिने आदि कारणले उनीहरू बार्बेरियन (कुनै पनि ठूला सभ्यतासँग सम्पर्क नभएको) अवस्थामा थिए ।

पछि इशापूर्व तेस्रो र दोस्रो शताब्दी बीचमा चीनियाँहरूले बाटो निर्माण गरे । सेन्ट्रल चाइना (बेइजिङ) बाट गएको बाटो मङ्गोलिया हुँदै गोबी मरुभूमि, बामियान हुँदै अफगानिस्तानमा आएर जोडियो । त्यो बाटो मध्यपूर्वसम्म विस्तार भयो । सिल्क रुट (रेशमी मार्ग) त्यही हो ।

चीनमा रेशम (सिल्क) को उत्पादन अत्यधिक हुन्थ्यो । चिया उत्पादन धेरै हुने हुनाले भारतको बङ्गालसम्म व्यापारिक मार्ग विस्तार गर्‍यो । भुटानबाट बङ्गालसम्म टी हर्स रोड विकास भयो । त्यसैले चिनियाँहरूले त्यसलाई सिल्क रुटकै सब–वे भनेका छन् । हाल मुस्ताङको तलबाट कालिगण्डकी नदीको किनार भएर लुम्बिनीसम्म उनीहरूले सिल्क रोडको वेन बेल्ट कार्यक्रममै राखेका छन् । नेपाल पनि त्यसको एउटा सदस्य हो । नेपालबाट पनि त्यहाँ मानिसहरू गएका छन् । त्यसैले सिल्क रुट हुँदै तिब्बततिरबाट पनि मानिसहरू माइग्रेट भए ।

भक्तपुरका सम्पदामा इजिप्सियन र बेबोलोनियन सिभिलाइजेसनका अवशेषहरू पाइन्छन् । भक्तपुरमा सिभिलाइजेसनको प्राचीन स्वरूपहरू भेटिने हुनाले पर्यटकको आकर्षणको केन्द्र भयो । लिच्छविकाल र मध्यकालमा ती सम्पदा बने पनि इजिप्सियन र मेसोपोटामियन सभ्यताकै अवधारणा भएको मूर्तिकलाविद्हरूले बताउने गरेका छन् ।

नेपालको जनसङ्ख्यालाई दुई प्रकारमा विभाजन गरी हेर्ने गरिन्छ । सिन्धु घाटीमा मङ्गोलियाबाट चङ्गेज खाँजस्ता राजाहरू आए । जसको पालामा त्यहाँ अत्यधिक विकास भयो । तर, त्यसअघि नै मङ्गोलियाका मानिसहरू आएर अफगानिस्तानमा व्यापार गरेको भेटिन्छ ।

इन्डसको माटोमा उर्बराशक्ति घटेपछि, माटोमा नुनको मात्रा बढेपछि, उनीहरूसँगै इन्डसका मानिस मिसिएर पहाडको बाटो पूर्वतिर लागे । इन्डसका मानिस को हुन्, के हुन् भन्ने आजसम्म पत्तो लागेको छैन । उनीहरूले लेखेको अक्षर पत्ता लागेको छ, तर पढ्न सकिएको छैन ।

इन्डसको माथिल्लो भागबाट पहाडकै बाटो आएको एउटा समूह काठमाडौँ उपत्यका हुँदै पूर्वतिर गयो । अर्को समूह उत्तरापथबाट नेपालभित्र छिर्‍यो । यसरी यहाँ दुई नश्ल (टु टाइप्स अफ रेस) का मानिस आइपुगे – एउटा मङ्गोलियन रेस र अर्को आर्यन रेस ।

पूर्वमा बर्मा, बङ्गालदेशको माथिल्लो भाग र हङकङ लगायत पूर्वको पुछारमा पनि स्थानीय सभ्यता विकास भयो, तर उनीहरूको सभ्यताको सम्बन्ध तिब्बतसँग भयो । तिब्बत र त्यहाँको सम्बन्धको कारणले एकाथरी मानिसहरू पूर्वबाट पश्चिमतर्फ आएको देखिन्छ । जसलाई हामी राई, लिम्बू र किरात भनेर चिन्छौँ । गुफामा बस्ने, खेतीपाती गर्ने, शिकार गर्ने र हर्टिकल्चर भएकाहरू किराती हुन् । यद्यपि सभ्यता विकास थप आधुनिक हुँदै गर्दा किरातीहरूको जीवनयापन शैली पनि फेरिइसकेको छ ।

हिमालयबाट प्रमुख दुई नदी निस्कन्छन् : इन्डस (सिन्धु) र गङ्गा । सिन्धु नदी अरेबियन सी मा झर्छ । गङ्गा नदी प्रयागमा पुगेपछि पूर्वतिर हानिन्छ । पूर्व हुँदै बङ्गालको गाडी झर्छ । यही गङ्गाको बेल्ट समातेर एउटा सभ्यता विकास भयो । इन्डसको सभ्यता कोल्याप्स भएपछि त्यहीँका केही मानिसहरू आएर गङ्गालाई मेन बेस माने । हामीकहाँ पनि हिमालबाट निस्केका सबै नदीहरू गङ्गामा गएर मिल्छ । त्यसैले विदेशीहरूले यस क्षेत्रका मानिसलाई गङ्गा मैदानको सभ्यताका मानिस भन्छन् ।

अब काठमाडौँ उपत्यकाको तालबाट जलप्रवाह र कृषिबारे कुरा गरौँ ।

परापूर्वकालमा काठमाडौँ उपत्यकामा दुईवटा ताल थियो । एउटा चोभारभन्दा उता दक्षिणकालीको भेगमा र अर्को काठमाडौँ उपत्यकामै ।

कटुवालदह फुटेपछि काठमाडौँ उपत्यकाको पानी बगेर गयो । दक्षिणकालीको तल्लो भाग खुल्यो । त्यो तालको अवशेष अहिले पनि टौदहको रूपमा बाँकी छ ।

उतापट्टि पानीको घनत्व घटेपछि यतातिर सबैभन्दा कमजोर चोभारको डाँडो थियो । यो डाँडो चुनढुङ्गाले बनेको हो । त्यसैले त्यहाँ पञ्चायतकालमा चोभार सिमेन्ट उद्योग पनि खोलिएको थियो ।

यता कमजोर चुनढुङ्गाको पहाड भएको र उतापट्टि पानीको दबाब पनि नभएकाले उपत्यकाको पानीले दबाब दिएपछि चोभारको गल्छी भएको स्थानबाट विस्तारै सिपेज भएर पानी बाहिर निस्किन थाल्यो । त्यहाँबाट पानी गएपछि काठमाडौँ उपत्यकामा थप जमिन देखिन थाल्यो । किनकि यहाँ लाखौँ वर्षसम्म पानी जमेको थियो ।

स्याटेलाइटबाट हेर्दा काठमाडौँ उपत्यका कचौराजस्तो देखिन्छ । चोभार नकाटिएको भए यहाँको पानी निस्कँदैनथ्यो । पानी निस्किएपछि यहाँको जमिनमा हरियाली छायो । कुहिएका पातपतिङ्गर यहाँको माटोमा लाखौँ वर्षसम्म कुहिएर मल बनेकै थियो ।

नेपालको इतिहास हेर्दा गोपाल पहिले आए । त्यसपछि महिषपाल आए । त्यसपछि किरात आए । गोपालहरू यहाँ सबैभन्दा पहिले आउनुको कारण यहाँको उब्जाउ जमिन र पोषक घाँस नै हो । किनकि उनीहरूले गाई पाल्थे । महिषपाल भनेका भैंसी पाल्नेहरू हुन् । उनीहरूले पनि काठमाडौँमा प्रभुत्व स्थापित गरे ।

नेपालको इतिहास हेर्दा काठमाडौँको बुढानीलकण्ठमा स्टोन टुल्स पाइएको छ । यसबाट यहाँ ढुंगेयुगमै मानिसहरू थिए भन्न सकिन्छ । भोजपुर, चुरे, सर्लाहीमा पनि पाइएको छ । त्यसैले नेपालमा ढुङ्गेयुगदेखि नै संस्कृतिको विकास भएको हो भन्न सकिन्छ ।

अब काठमाडौँ उपत्यकासँग जोडिएका केही कथातिर जाऔँ ।

चोभारको डाँडोका सन्दर्भमा उत्तरतिरबाट मञ्जुश्री र दक्षिणबाट कृष्ण आएर काटेको भन्ने छ । त्यसरी डाँडो काटेर पानी बाहिर पठाएपछि काठमाडौँ उपत्यका बस्न योग्य भयो । उनीहरूसँगै आएका मनिसहरू यहाँ बसोबास गर्न थाले भनिन्छ ।

बाघभैरवको कथा पनि गाई पाल्नेहरूसँग मिल्छ । सीतापाइलादेखि कीर्तिपुर, चोभारदेखि दक्षिणकालीसम्म पशुपालन गर्ने मानिसहरू पहिलेदेखि नै बसोबास गर्ने गरेको पाइन्छ । यसलाई वंशावली र लिखतजस्ता सामग्रीले पनि पुष्टि गरेको छ ।

यहाँ शिकार संस्कृति पहिले नै थियो । अब पशुपालन संस्कृति पनि विकास भयो । यसकारण यहाँ गौचरणहरू बन्यो । काठमाडौँमा गौचरनहरू धेरै थिए । अहिले ती गौचरनहरूमा कहीँ विमानस्थल त कहीँ आवास क्षेत्र छ ।

यसरी हेर्दा पशुपालन हाम्रो संस्कृतिसँगै जोडिएको छ । नेपालमा गाईदेखि साँढेसम्मको पूजा हुने गरेको छ । विभिन्न पशुसँग सम्बन्धित पूजापाठ हुनेगर्छ । गाई पाल्नेलाई दूग्ध उद्योगसँग सम्बन्धित उत्पादनमा भैँसी पाल्नेले जित्यो । गोपालमाथि महिषपालको जीत कृषि र पशुपालनकै अर्थतन्त्रसँग सम्बन्धित थियो ।

काठमाडौँ उपत्यकामा संस्कृतिको जग गोपाल र महिषपालले नै हाले । त्यसपछि नेपाली संस्कृति व्यापक भयो । यसमा इँटा थप्ने काम किरातहरूले गरे । नेपाली सभ्यता र संस्कृतिमा राज्यव्यवस्था किरातहरूले नै कायम गरिदिए । नेपाललाई देशको रूपमा भारत, चीन र तिब्बतमा प्रचारप्रसार उनीहरूले नै गरे । उनीहरूले प्रशासन, मन्दिर र नेपाली सांस्कृतिक परम्परामा इँटा थप्ने काम गरे ।

किरातपछि लिच्छविहरू आए । उनीहरूले यहाँ ९०० वर्ष शासन गरे । उनीहरूको शासन इस्वीको पहिलो शताब्दीदेखि नवौँ शताब्दीसम्म कायम रह्यो ।

किरातहरूले पशुपालन सुरु गरेकै थिए । पछि लिच्छविहरूले नेपाललाई कृषि मुलुक (एग्रिकल्चर कन्ट्री)को रूपमा विकास गरे । यतिखेरसम्म गोपाल, महिषपाल, किरात र लिच्छवि संस्कृतिका मानिसहरू यहाँ घुलमिल भएर बसे । लिच्छवीहरूले गङ्गाको किनारमा पटनानजिक वैशालीमा शासन गर्थे । उनीहरू कृषिमा आधारित समाजबाटै नेपालमा आएका थिए ।

नेपाल पस्नुअघि उनीहरू गङ्गाको किनारमा खेतीपाती गर्थे । त्यतिखेरको नेपालका लागि वैशालीका लिच्छविहरू अमेरिकी या बेलायतीहरूजत्तिकै विकसित थिए । नेपालमा आएर शासन गरेपछि कृषिको क्षेत्रमा लिच्छविहरूले केही काम गरे ।

किरातकालसम्म खेतीपाती बर्खामा निर्भर थियो । अब लिच्छविहरूले कुलो बनाएर यहाँ खेतीपाती गर्न थाले । त्यसैलाई अहिलेसम्म राजकुलो भनिन्छ । कुलोबाटै पानी ल्याएर ढुङ्गेधारा (हिटी) बनाउने विकास अभ्यास पनि उनीहरूले नै थाले ।

काठमाडौँमा शहरीकरणको विकास भएकै लिच्छविकालमा हो । किनकि त्यसअघि डाँडाकाँडामा पानीका मूल जहाँ हुन्थ्यो, मानिसहरू त्यहीँ बस्थे । कुलो बनाएर शहर बसाएपछि मानिसहरू तल्लो भागमा बस्न थाले । तल्लो र गहिरो खाल्डो भागलाई डोल भनिन्छ ।

लिच्छविहरूले ल्याइदिएको त्यही पानी काठमाडौँबासीले १९ सय वर्षसम्म पिए । नेपालमा खानेपानी संस्थान बनेको मुस्किलले १०० वर्ष भएको छ । कुलो प्रविधि ल्याएर नेपाललाई कृषिप्रधान देशका रूपान्तरण लिच्छविहरूले नै गरेका हुन् ।

लिच्छविहरूले तिब्बतसँग सम्बन्ध कायम गरे । तिब्बतसँग सम्बन्ध भएपछि सिल्क रुटबाट व्यापार गर्न थाले । व्यापार निकै फैलियो । पुरुषहरू व्यापार गर्न जाने हुनाले महिलाहरूले कृषि हेर्न थाले । कृषि उत्पादनमा महिला सहभागीता वृद्धि भयो । कृषि उपजको उपयोगमा पनि उनीहरूकै निर्णय लागू भयो ।

लिच्छविकालमै उद्योग स्थापना भयो । घरघरमा कपडा, तामा, रङ्ग, काठ, पोल्ट्री फार्म, फिसरी उद्योगहरू खोले । राज्यको संरक्षणमा उद्योग खुल्यो र ग्राम पाञ्चालीले त्यसलाई परिचालन गर्‍यो । त्यसैले ९०० वर्ष तन्किएको लिच्छविहरूको शासन अवधिलाई नेपालको स्वर्ण अवधि मानिन्छ । पशुपालन र कृषिसँग सम्बन्धित जति पनि जात्राहरू छन् – यी सबै लिच्छविकालमै विकास भयो ।

संस्कृति बनाउँछु भनेर बन्दैन, क्रमविकास हुनुपर्छ । मानिसहरूले विभिन्न पक्षलाई अपनाइरहेका हुन्छन्, पछि त्यो संस्कृतिका रूपमा विकास हुन्छ । नेपाली समाज धार्मिकभन्दा बढी सांस्कृतिक समाज (कल्चरल सोसाइटी) हो । हामी सांस्कृतिक समूहको समाज निर्माण गर्ने मानिसहरू हौँ ।

स्टोन एज, हन्टिङ एण्ड ग्यादरिङ कल्चर, हर्टिकल्चर, एग्रिकल्चर हुँदै हाम्रो संस्कृति अहिले यीनै चारवटा दिशानिर्देशमा छन् । नेपाली संस्कृतिको आधार यिनै हुन् । हाम्रो आवश्यकताअनुसार नै हाम्रो संस्कृति विकास भएको छ । समय सापेक्षताले गर्दा संस्कृति एकै स्वरूपमा हुँदैन । आधुनिकता र विश्वव्यापीकरणलाई पनि हामीले अपनाएका हुन्छौँ ।

जति आधुनिक जीवनशैली पछ्याउन खोजे पनि नेपालको संस्कृति कृषिमै आधारित हो । परम्परागत कृषि ग्रामीण परिवेशसँग सम्बन्धित हुन्छ । त्यसैले नेपालमा अझै गाउँले संस्कृतिको बाहुल्यता छ, भलै पछिल्लो समय रोजगारी र अवसरको खोजीमा गाउँ रित्तिन थालेका होउन् ।

कृषि पेशा गर्न गाउँ बनाइएको हो र हामी ग्रामीण सभ्यताका हौँ । नेपालको सभ्यता शहरी होइन । शहरीकरण त यातायात र सञ्चार सहज भएपछि विकास भएको हो । नेपालका अधिकांश मानिसहरू गाउँमै हुर्के बढेका छन् । काठमाडौँमा पनि गाउँमै बसेका मानिस धेरै छन् ।

सुरुमा पाटन, काठमाडौँ र भक्तपुर शहर वरपर दरबारलाई चाहिने मानिसहरू मात्रै बसेका हुन् । छैमलेदेखि बूढानीलकण्ठसम्म कृषि पेशा नै गरेर बसेका हुन्, जुन क्षेत्रमा अहिले पनि कृषककै बाहुल्यता छ ।

कृषिकै चाडपर्व

नेपाल कृषिमा आधारित समाज भएकाले हाम्रा चाडपर्व उत्सवहरू कृषि र पशुपालनमा आधारित छ । धान रोप्दा, काट्दा या भित्र्याउँदा विभिन्न किसिमका गीत गाउने, रमाइलो गर्ने र चाड मनाउने चलन छ । हामीले तीन किसिमका चाडपर्वहरू सेलिब्रेट गर्छौं ।

१) उत्सव : बुद्धपूर्णिमा, कृष्णा जन्माष्टमी, रामनवमीजस्ता पर्वहरू उत्सवमा पर्छन् । यी पर्वहरूलाई हामीले सांस्कृतिक जीवनको अङ्ग बनाएका छौँ ।
२) जात्रा : जात्रा भनेको प्रोसेसन हो । देवीदेवतालाई रथमा राख्ने र नगर परिक्रमा गराउने चलन हामीकहाँ छ । जाइजात्रा, मछिन्द्रनाथको जात्रा, इन्द्रजात्रा, कुमारीजात्रा आदि नेपालका प्रमुख प्रमुख जात्राहरू हुन् । वर्षाको देवताको रूपमा इन्द्रलाई सम्मान गर्न इन्द्रजात्रा मनाइन्छ । इन्द्रले पानी पार्छन् र हाम्रो खेतीपाती राम्रो हुन्छ । मछिन्द्रनाथलाई पनि वर्षा र सहकालको देवता मानिन्छ । कृषिसँग सम्बन्धित देवीदेवताहरूलाई समयसमयमा आह्वान गर्ने चलन छ ।

३) चाडपर्व : नेपालमा दशैँ र तिहारजस्ता ठूला पर्व मनाइन्छ । यी चाडपर्वमा मीठो खाने र राम्रो लगाउने गरिन्छ । दशैँको उदाहरण दिँदा यो पर्व पर्ने समयमा बर्षा र कृषिकर्म सकिन्छ । कृषिकर्म सकिएपछि मानिसले फुर्सद पाएको हुन्छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ०६ बजे

सङ्खुवा खोलामा बेलिब्रिज जडान

सङ्खुवासभा – सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ मांतेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२

दही व्यवसायीलाई चटारो, तीन दिनदेखि भ्याइनभ्याइ

भक्तपुर – आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

बाँकेमा चट्याङ लागेर महिलाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर आज एक महिलाको

सुदूरपश्चिम प्रदेशसभाः राजस्व र व्ययको अनुमानमाथि छलफल

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभामा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३

अत्यधिक शरणार्थी फिर्ता हुँदा अफगानिस्तानको स्थायित्वमा असर पर्ने जोखिम

काबुल – अफगान शरणार्थीहरू ठूलो संख्यामा छिमेकी मुलुक इरानबाट आफ्नो