काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन खोज्छ । तर, समयान्तरमा त्यही थलोलाई प्रकृतिले पुनः आफूमै समाहित गर्छ ।
नेपालको मध्यपहाडमा यस्तै हुँदैछ । प्रकृतिका ‘वास्तविक आदिवासी’ वन्यजन्तु र ‘फिरन्ते’ मानिसबीचको सङ्घर्षमा मानिसले हार्दैछ । वर्षौँसम्म मानिसको बाक्लो चहलपहल भएका गाउँ अब रित्ता र खण्डहर हुँदैछन् । फाट्टफुट्ट मानव बसोबास रहेका गाउँहरूमा पनि पशुधन र कृषि चक्र तोडिँदैछ ।
पहाडमा यतिखेर मानिसलाई हटाउन र हराउन मुख्यतः दुई प्रकारका वन्यजन्तु हावी देखिएका छन् – आसामी रातो बाँदर र चितुवा ।
रातो बाँदरले बालीनाली सखाप पारिदिँदा किसानले खेती नै लगाउन छाडिरहेका छन् । बाँदर नियन्त्रण निम्ति स्थानीयदेखि सङ्घीय सरकारसम्मले प्रयास त गर्न खोजेका छन्, तर त्यो प्रभावकारी भइसकेको छैन ।
किसानलाई आपतविपद्मा पारिरहेको चितुवा आतङ्कबारे भने सरकार अहिलेसम्म मौन देखिएको छ । चितुवाले मानव बसोबास क्षेत्रमा पारेको प्रभाव तथा समाधानबारे राज्यले नै हालसम्म कुनै ठोस अध्ययन गरेको छैन ।
तराईदेखि पहाडसम्म चितुवाको आक्रमणबाट मानिसको ज्यान जाने क्रम बढ्दो छ । चितुवाले चरन र गोठखोरमै आएर घरपालुवा पशुपक्षी मारिदिँदा मध्यपहाडमा पशुपालन घट्दो छ ।
सरकार भने देशभर औषतमा पशुपालन गर्ने परिवारको सङ्ख्या बढेकोमा मखलेल देखिन्छ । मानिसमाथि आक्रमण गर्ने बिरालो प्रजातिको जनावर पाटेबाघ मात्रै हो भन्ने सोचाइले ग्रस्त छ ।
राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा १० वर्ष अवधिमा पशुपालन गर्ने किसान परिवारको सङ्ख्या ५१ हजार १५७ ले बढेको छ । २०७८ मा यस्ता परिवारको सङ्ख्या ३४ लाख पाँच हजार १४ पुगेको छ ।
दर्ता भएका व्यवसायिक फार्म र शिकारी वन्यजन्तुको प्रभाव कम रहेका बस्तीमा बढेको पशुपालनले सरकारलाई तथ्याङ्क बढाउन सजिलो पारिदिएको छिप्दैन ।
तर, पहाडमा चितुवाका कारण कसरी किसानहरू पशुपालनबाट विमुख हुँदैछन् भन्ने चाहिँ उक्त प्रतिवेदनमा उल्लेख छैन । यद्यपि, ‘कृषि तथा पशुपन्छीलाई नोक्सानी पुर्याउने प्रमुख जनावरको किसिमअनुसार वडा सङ्ख्या’ विवरणमा भने अत्यासलाग्दो तथ्य छ ।

सातौँ कृषिगणना, २०७८ देशका ६ हजार ३६ वडामा गरिएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयले ती वडामा कृषिजन्य उत्पादन तथा पशुपक्षीमा जङ्गली जनावरले पुर्याएको हानी/नोक्सानीको विवरण सम्बन्धित वडाध्यक्ष र वडासचिवमार्फत सङ्कलन गरेका थियो ।
देशका एक हजार ४९२ वडामा बाघ र चितुवा नै पशुपक्षीमा नोक्सानी पुर्याउने प्रमुख जनावर रहेको नतिजा कृषि गणना प्रतिवेदनमा उल्लेख छ । बढी पहाडी भूभाग रहेको बागमती र गण्डकी प्रदेशमा त यस्ता वडाको सङ्ख्या ६७५ वटा छ ।
एउटा पालिकामा औषत नौ वडाले हिसाब गर्दा पनि कम्तिमा ७५ पालिकामा बाघ र चितुवाले पशुपालन गर्ने किसानलाई अत्याइरहेको छ ।
अधिकांश पहाडी र हिमाली क्षेत्र पर्ने यी वडामा पाटेबाघ (रोयल बङ्गाल टाइगर) होइन, चितुवा बसोबास गर्छ, त्यो पनि कम्तिमा चार प्रकारका ।
पाटेबाघको क्षेत्र तराईसँग जोडिएका केही जिल्लाको तल्लो भेगसम्म मात्रै हो । आहार र पानीको खोजीमा आक्कलझुक्कल तीन हजार मिटर उचाइसम्म पुगेको रेकर्ड रहे पनि पहाडी क्षेत्रमा हालसम्म पाटेबाघको स्थायी बासस्थान भेटिएको छैन ।
चितुवा (कमन लियोपर्ड) हिउँ चितुवा (स्नो लियोपर्ड), ध्वाँसे चितुवा (क्लाउडेड लियोपर्ड) र चरी बाघ (लियोपर्ड क्याट) को प्रमुख बासस्थान नै पहाडी र हिमाली भेग हो । मध्यपहाडमा यी तीनमध्ये बढी मात्रामा चितुवा अर्थात् कमन लियोपर्ड पाइन्छ ।
हिउँचितुवा, ध्वाँस चितुवा र चरी बाघको सङ्ख्या कम भएकाले नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रेड लिस्ट बमोजिम संरक्षित स्तनधारी जीवको सूचीमा राखिसकेको छ ।
तर, फेलिडी परिवार अन्तर्गत बिग क्याट समूहमा समूहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर चितुवाको स्थायी वासस्थान पहाडदेखि तराईसम्म नै विस्तारित छ । समुद्री सतहदेखि चार हजार २६० मिटर उचाइसम्म पनि चितुवा भेटिएको छ ।
तुलनात्मक शीतल हुने, आहारका प्रतिष्पर्धी अन्य ठूला शिकारी जनावर नहुने र मानव गतिविधि क्षेत्र खुम्चँदै जाँदा जङ्गल बढेर पर्याप्त बासस्थान उपलब्ध हुँदा नेपालका पहाडमा चितुवा बढेको हो । शरीरमा सुन्दर बुट्टा हुने यो शिकारी जनावर पछिल्लो दशक पहाडी बस्तीमा समस्याग्रस्त मांसाहारी बन्दैछ ।

संरक्षणकर्मी डा. हेमसागर बराल पहाडमा मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारण बन्दै गरेको चितुवा व्यवस्थापनबारे अब सरकारले ढिलाइ गर्न नहुने बताउँछन् । चितुवाले पशुपक्षीमा क्षति पुर्याइदिँदा केही राहत दिने गरिए पनि अब सरकारले थप महत्वपूर्ण काम गर्नुपर्ने उनको भनाइ छ ।
‘पहाडमा धेरै प्रकारका चितुवा छन्, तर कमन लियोपार्ड मुख्य समस्या बन्दैछ, किसानले पालेका गाईभैँसी र बाख्रा लगायत पशुधन मारिदिने क्रम बढिरहँदा अब यसको प्राकृतिक बसोबास क्षेत्रमै आहारा व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ’, डा. बरालले खबरहबसँग भने, ‘एक त चितुवाको बासस्थान तराईदेखि पहाडसम्म छ, बाघजस्तो तल्लो भेगमा मात्रै यो सीमित छैन, यो तथ्य बुझेर सरोकारवालाले मानिस र चितुवाबीचको द्वन्द्व कम गर्न काम थाल्नुपर्छ ।’
मध्यपहाडमा संरक्षण क्षेत्र कम भएको, वन क्षेत्र बढे पनि आहारा क्षेत्र सीमित रहेकाले चितुवाले घरपालुवा जीवजन्तुलाई शिकार बनाउने गरेको डा. बरालले बताए । अब संरक्षण क्षेत्र विस्तार गरी आहारा प्रजातिका मृग र बँदेल लगायत जीवजन्तु बढाउन सके चितुवाबाट किसानले भोग्नुपरेको समस्या कम गर्न सकिने उनको भनाइ छ ।
बाघमाथि रिस
नेपालले चौथोपटक सन् २०२२ मा गणना गर्दा पाटेबाघ (रोयल बङ्गाल टाइगर) को सङ्ख्या ३५५ पुगेको छ । बाघ नेपालमा संरक्षित स्तनधारी जीव हो । बाघको स्थायी बासस्थान तराई र चुरे क्षेत्र नै हो ।
तर, तराईदेखि हिमालसम्म बिरालो प्रजातिका जुनसुकै जीवले पशुपक्षी र मानिसलाई क्षति पुर्याए बाघमाथि नै रिस पोख्ने गरिन्छ । जब कि पहाड र हिमाल बाघको स्थायी बासस्थान नै होइन ।
उता, संरक्षित सूचीमा राखेको देशका वर्तमान कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षित जीव बाघबारे तीतो कटाक्ष गर्ने गरेका छन् ।
जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा नेपालको सहभागिताको समीक्षा बैठकलाई पुस ११ मा सम्बोधन गर्दै ओलीले ‘मान्छे खुवाएर बाघ पाल्ने गल्ती गर्न नहुने’ बताएका थिए ।
ओलीले भनेका थिए :
‘हामीसँग बाघ थिए। सन् २००९ मा ११० जति थिए । १० वर्षमा दोब्बर बनाउँदा पनि २०१९ तिर हुन्थ्यो । तर, सन् २०१८ मै अढाइ सयभन्दा बढी बाघ भइसके । अहिले साढे ३०० भन्दा बढी बाघ छन् । जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हेर्नुपर्छ । यत्रो सानो देशमा साढे तीन सयभन्दा बढी बाघ ! हामीले पनि चाहिने खालका काम गर्नुपर्छ, बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । १५० भन्दा बढी बाघ मित्रराष्ट्रलाई उपहार दिनुपर्छ । बाघ पाल्न सक्ने हाम्रो सीमा कति होउ ? हाम्रो वनको क्षमता कति हो ? मान्छे खुवाएर बाघ पाल्न सकिँदैन। त्यो गल्ती गर्नुहुँदैन ।’

पाटेबाघबारे ओलीको त्यस्तो अभिव्यक्तिका पछाडि २०७८ फागुन २८ गते सकिएको पाटेबाघ गणनाको तथ्याङ्क कारण थियो ।
किनकि नेपालले सन् २०२२ सम्म २५५ पुर्याउने लक्ष्य राखेको पाटेबाघको सङ्ख्या ३५५ पुगिसकेको थियो । चार वर्ष अवधिमै नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको थियो ।
ओलीकै ‘चाहना’ अनुसार; बाघ धान्ने नेपालको क्षमताबारे राज्यका निकायहरूले विदेशीसँग मिलेर अध्ययन थाले ।
न्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्ववन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।
तर, पृथ्वीमा साझा हक राख्ने बाघमाथि रोष पोखेका ओलीको धारणाविपरित अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या धान्ने क्षमता चार सय हाराहारी रहेको बताएका छन् ।
उनले भनेका छन् ‘अहिले बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो वासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।’
उनले बाघको सङ्ख्याको अनुपातमा हालको संरक्षण क्षेत्रफल कम नभएको तर्क गर्दै वासस्थानको गुणस्तरीयता बढाउनुपर्ने जनाएका छन् ।
यो पनि –
चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु
घरमा खेलिरहेकी बालिकालाई चितुवाले आक्रमण गर्दा मृत्यु
प्रतिक्रिया