बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ | Khabarhub Khabarhub

सन्दर्भ : बाघ दिवस

बाँदरपछि चितुवाले उठाउँदैछ पहाडका गाउँ

बाघमाथि राज्यकै क्रूर दृष्टि !


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भनिन्छ; मानिसले प्रकृतिलाई कोतरेर आफ्नो थलो त बनाउन खोज्छ । तर, समयान्तरमा त्यही थलोलाई प्रकृतिले पुनः आफूमै समाहित गर्छ ।

नेपालको मध्यपहाडमा यस्तै हुँदैछ । प्रकृतिका ‘वास्तविक आदिवासी’ वन्यजन्तु र ‘फिरन्ते’ मानिसबीचको सङ्घर्षमा मानिसले हार्दैछ । वर्षौँसम्म मानिसको बाक्लो चहलपहल भएका गाउँ अब रित्ता र खण्डहर हुँदैछन् । फाट्टफुट्ट मानव बसोबास रहेका गाउँहरूमा पनि पशुधन र कृषि चक्र तोडिँदैछ ।

पहाडमा यतिखेर मानिसलाई हटाउन र हराउन मुख्यतः दुई प्रकारका वन्यजन्तु हावी देखिएका छन् – आसामी रातो बाँदर र चितुवा ।

रातो बाँदरले बालीनाली सखाप पारिदिँदा किसानले खेती नै लगाउन छाडिरहेका छन् । बाँदर नियन्त्रण निम्ति स्थानीयदेखि सङ्घीय सरकारसम्मले प्रयास त गर्न खोजेका छन्, तर त्यो प्रभावकारी भइसकेको छैन ।

किसानलाई आपतविपद्मा पारिरहेको चितुवा आतङ्कबारे भने सरकार अहिलेसम्म मौन देखिएको छ । चितुवाले मानव बसोबास क्षेत्रमा पारेको प्रभाव तथा समाधानबारे राज्यले नै हालसम्म कुनै ठोस अध्ययन गरेको छैन ।

तराईदेखि पहाडसम्म चितुवाको आक्रमणबाट मानिसको ज्यान जाने क्रम बढ्दो छ । चितुवाले चरन र गोठखोरमै आएर घरपालुवा पशुपक्षी मारिदिँदा मध्यपहाडमा पशुपालन घट्दो छ ।

सरकार भने देशभर औषतमा पशुपालन गर्ने परिवारको सङ्ख्या बढेकोमा मखलेल देखिन्छ । मानिसमाथि आक्रमण गर्ने बिरालो प्रजातिको जनावर पाटेबाघ मात्रै हो भन्ने सोचाइले ग्रस्त छ ।

राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा १० वर्ष अवधिमा पशुपालन गर्ने किसान परिवारको सङ्ख्या ५१ हजार १५७ ले बढेको छ । २०७८ मा यस्ता परिवारको सङ्ख्या ३४ लाख पाँच हजार १४ पुगेको छ ।

दर्ता भएका व्यवसायिक फार्म र शिकारी वन्यजन्तुको प्रभाव कम रहेका बस्तीमा बढेको पशुपालनले सरकारलाई तथ्याङ्क बढाउन सजिलो पारिदिएको छिप्दैन ।

तर, पहाडमा चितुवाका कारण कसरी किसानहरू पशुपालनबाट विमुख हुँदैछन् भन्ने चाहिँ उक्त प्रतिवेदनमा उल्लेख छैन । यद्यपि, ‘कृषि तथा पशुपन्छीलाई नोक्सानी पुर्‍याउने प्रमुख जनावरको किसिमअनुसार वडा सङ्ख्या’ विवरणमा भने अत्यासलाग्दो तथ्य छ ।

स्रोत : राष्ट्रिय कृषि गणना, २०७८ (सामुदायिक प्रतिवेदन) ।

सातौँ कृषिगणना, २०७८ देशका ६ हजार ३६ वडामा गरिएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयले ती वडामा कृषिजन्य उत्पादन तथा पशुपक्षीमा जङ्गली जनावरले पुर्‍याएको हानी/नोक्सानीको विवरण सम्बन्धित वडाध्यक्ष र वडासचिवमार्फत सङ्कलन गरेका थियो ।

देशका एक हजार ४९२ वडामा बाघ र चितुवा नै पशुपक्षीमा नोक्सानी पुर्‍याउने प्रमुख जनावर रहेको नतिजा कृषि गणना प्रतिवेदनमा उल्लेख छ । बढी पहाडी भूभाग रहेको बागमती र गण्डकी प्रदेशमा त यस्ता वडाको सङ्ख्या ६७५ वटा छ ।

एउटा पालिकामा औषत नौ वडाले हिसाब गर्दा पनि कम्तिमा ७५ पालिकामा बाघ र चितुवाले पशुपालन गर्ने किसानलाई अत्याइरहेको छ ।

अधिकांश पहाडी र हिमाली क्षेत्र पर्ने यी वडामा पाटेबाघ (रोयल बङ्गाल टाइगर) होइन, चितुवा बसोबास गर्छ, त्यो पनि कम्तिमा चार प्रकारका ।

पाटेबाघको क्षेत्र तराईसँग जोडिएका केही जिल्लाको तल्लो भेगसम्म मात्रै हो । आहार र पानीको खोजीमा आक्कलझुक्कल तीन हजार मिटर उचाइसम्म पुगेको रेकर्ड रहे पनि पहाडी क्षेत्रमा हालसम्म पाटेबाघको स्थायी बासस्थान भेटिएको छैन ।

चितुवा (कमन लियोपर्ड) हिउँ चितुवा (स्नो लियोपर्ड), ध्वाँसे चितुवा (क्लाउडेड लियोपर्ड) र चरी बाघ (लियोपर्ड क्याट) को प्रमुख बासस्थान नै पहाडी र हिमाली भेग हो । मध्यपहाडमा यी तीनमध्ये बढी मात्रामा चितुवा अर्थात् कमन लियोपर्ड पाइन्छ ।

हिउँचितुवा, ध्वाँस चितुवा र चरी बाघको सङ्ख्या कम भएकाले नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन) को रेड लिस्ट बमोजिम संरक्षित स्तनधारी जीवको सूचीमा राखिसकेको छ ।

तर, फेलिडी परिवार अन्तर्गत बिग क्याट समूहमा समूहमा बाघ, सिंह र जगुआर पछिको चौथो ठूलो जनावर चितुवाको स्थायी वासस्थान पहाडदेखि तराईसम्म नै विस्तारित छ । समुद्री सतहदेखि चार हजार २६० मिटर उचाइसम्म पनि चितुवा भेटिएको छ ।

तुलनात्मक शीतल हुने, आहारका प्रतिष्पर्धी अन्य ठूला शिकारी जनावर नहुने र मानव गतिविधि क्षेत्र खुम्चँदै जाँदा जङ्गल बढेर पर्याप्त बासस्थान उपलब्ध हुँदा नेपालका पहाडमा चितुवा बढेको हो । शरीरमा सुन्दर बुट्टा हुने यो शिकारी जनावर पछिल्लो दशक पहाडी बस्तीमा समस्याग्रस्त मांसाहारी बन्दैछ ।

पशुवस्तुलाई आक्रमण गर्ने क्रम बढेपछि धादिङमा मारिएको चितुवाका डमरु ।

संरक्षणकर्मी डा. हेमसागर बराल पहाडमा मानव–वन्यजन्तु द्वन्द्वको प्रमुख कारण बन्दै गरेको चितुवा व्यवस्थापनबारे अब सरकारले ढिलाइ गर्न नहुने बताउँछन् । चितुवाले पशुपक्षीमा क्षति पुर्‍याइदिँदा केही राहत दिने गरिए पनि अब सरकारले थप महत्वपूर्ण काम गर्नुपर्ने उनको भनाइ छ ।

‘पहाडमा धेरै प्रकारका चितुवा छन्, तर कमन लियोपार्ड मुख्य समस्या बन्दैछ, किसानले पालेका गाईभैँसी र बाख्रा लगायत पशुधन मारिदिने क्रम बढिरहँदा अब यसको प्राकृतिक बसोबास क्षेत्रमै आहारा व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ’, डा. बरालले खबरहबसँग भने, ‘एक त चितुवाको बासस्थान तराईदेखि पहाडसम्म छ, बाघजस्तो तल्लो भेगमा मात्रै यो सीमित छैन, यो तथ्य बुझेर सरोकारवालाले मानिस र चितुवाबीचको द्वन्द्व कम गर्न काम थाल्नुपर्छ ।’

मध्यपहाडमा संरक्षण क्षेत्र कम भएको, वन क्षेत्र बढे पनि आहारा क्षेत्र सीमित रहेकाले चितुवाले घरपालुवा जीवजन्तुलाई शिकार बनाउने गरेको डा. बरालले बताए । अब संरक्षण क्षेत्र विस्तार गरी आहारा प्रजातिका मृग र बँदेल लगायत जीवजन्तु बढाउन सके चितुवाबाट किसानले भोग्नुपरेको समस्या कम गर्न सकिने उनको भनाइ छ ।

बाघमाथि रिस

नेपालले चौथोपटक सन् २०२२ मा गणना गर्दा पाटेबाघ (रोयल बङ्गाल टाइगर) को सङ्ख्या ३५५ पुगेको छ । बाघ नेपालमा संरक्षित स्तनधारी जीव हो । बाघको स्थायी बासस्थान तराई र चुरे क्षेत्र नै हो ।

तर, तराईदेखि हिमालसम्म बिरालो प्रजातिका जुनसुकै जीवले पशुपक्षी र मानिसलाई क्षति पुर्‍याए बाघमाथि नै रिस पोख्ने गरिन्छ । जब कि पहाड र हिमाल बाघको स्थायी बासस्थान नै होइन ।

उता, संरक्षित सूचीमा राखेको देशका वर्तमान कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षित जीव बाघबारे तीतो कटाक्ष गर्ने गरेका छन् ।

जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन (कोप)मा नेपालको सहभागिताको समीक्षा बैठकलाई पुस ११ मा सम्बोधन गर्दै ओलीले ‘मान्छे खुवाएर बाघ पाल्ने गल्ती गर्न नहुने’ बताएका थिए ।

ओलीले भनेका थिए :

‘हामीसँग बाघ थिए। सन् २००९ मा ११० जति थिए । १० वर्षमा दोब्बर बनाउँदा पनि २०१९ तिर हुन्थ्यो । तर, सन् २०१८ मै अढाइ सयभन्दा बढी बाघ भइसके । अहिले साढे ३०० भन्दा बढी बाघ छन् । जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हेर्नुपर्छ । यत्रो सानो देशमा साढे तीन सयभन्दा बढी बाघ ! हामीले पनि चाहिने खालका काम गर्नुपर्छ, बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । १५० भन्दा बढी बाघ मित्रराष्ट्रलाई उपहार दिनुपर्छ । बाघ पाल्न सक्ने हाम्रो सीमा कति होउ ? हाम्रो वनको क्षमता कति हो ? मान्छे खुवाएर बाघ पाल्न सकिँदैन। त्यो गल्ती गर्नुहुँदैन ।’

पाटेबाघबारे ओलीको त्यस्तो अभिव्यक्तिका पछाडि २०७८ फागुन २८ गते सकिएको पाटेबाघ गणनाको तथ्याङ्क कारण थियो ।

किनकि नेपालले सन् २०२२ सम्म २५५ पुर्‍याउने लक्ष्य राखेको पाटेबाघको सङ्ख्या ३५५ पुगिसकेको थियो । चार वर्ष अवधिमै नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको थियो ।

ओलीकै ‘चाहना’ अनुसार; बाघ धान्ने नेपालको क्षमताबारे राज्यका निकायहरूले विदेशीसँग मिलेर अध्ययन थाले ।

न्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी), विश्ववन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल) लगायत संस्थाले अध्ययन गरिरहेका छन् ।

तर, पृथ्वीमा साझा हक राख्ने बाघमाथि रोष पोखेका ओलीको धारणाविपरित अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।

राष्ट्रिय समाचार समिति (रासस) सँग कुरा गर्दै जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा. भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या धान्ने क्षमता चार सय हाराहारी रहेको बताएका छन् ।

उनले भनेका छन् ‘अहिले बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो वासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।’

उनले बाघको सङ्ख्याको अनुपातमा हालको संरक्षण क्षेत्रफल कम नभएको तर्क गर्दै वासस्थानको गुणस्तरीयता बढाउनुपर्ने जनाएका छन् ।

यो पनि

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

घरमा खेलिरहेकी बालिकालाई चितुवाले आक्रमण गर्दा मृत्यु

तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह

देउखुरीमा चितुवाको आतंक बढ्यो

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ४ : ३५ बजे

‘महाकमाण्डर’ देखिए दीपकराज, ‘माग्ने बूढा’लाई सफलता, विजयलाई झट्का

हेडलाइन…– ‘माग्ने राजा’को व्यापारिक सफलताले जोगायो माग्ने बूढाको इज्जत– माइतीघरको

सामाजिक सञ्जालबारे सञ्चारमन्त्री गुरुङले झुट बोलेको आरोप

लमजुङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता एवं प्रमुख सचेतक

काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं– वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज

एमाले विधान महाधिवेशन : आज समूहगत छलफल

काठमाडौं– नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल