काँकडभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ | Khabarhub Khabarhub

काँकडभिट्टा-लौकही सडकखण्ड स्तरोन्नतिमा ढिलाइ


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वमा  झापाको काँकडभिट्टादेखि पश्चिम सुनसरी लौकही सडकखण्ड स्तरोन्नतिमा लक्ष्यअनुसार प्रगति देखिएको छैन । यदि यही गतिमा काम हुने हो भने सम्झौता अवधि तीन वर्षभित्र सम्पन्न नहुने अनुमान गरिएको छ ।

काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडकमध्ये ९५.७६ किलोमिटर स्तरोन्नति सुरु गरिएको थियो । एसियाली विकास बैङ्कको ८४.९ प्रतिशत ऋण र नेपाल सरकारको १५.१ प्रतिशत लगानी रहेको उक्त योजना सम्पन्न भएपछि काँकडभिट्टा-लौकही सडकखण्डअन्तर्गत सहरी क्षेत्रमा चार लेनको बीचमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेन गरी ५० मिटर चौडाइको हुनेछ । 

त्यसैगरी, अर्ध सहरी क्षेत्रमा चार लेनमा दुवैतर्फ एक लेन थप गरी ३३ मिटर चौडा सडक  हुने र बाँकी भागमा चार लेनको २४ मिटर चौडा सडक हुने जनाइएको छ । 

काँकडभिट्टा–लौकही सडक योजनालाई काँकडभिट्टा–केर्खा सीतापुरीसम्म ४५ किलोमिटर पूर्वी खण्ड र केर्खा– इटहरीसम्म ५०.७६ किलोमिटर पश्चिमी खण्डमा गरी दुई भागमा विभाजन गरिएको छ । हालसम्म दुवै खण्डको ३० प्रतिशत भौतिक तथा वित्तीय प्रगति हुनुपर्नेमा पूर्वी खण्डको २१.१० प्रतिशत र पश्चिम खण्डको २५ प्रतिशत मात्र प्रगति छ । 

पूर्वी खण्डको काँकडभिट्टा–केर्खा सडक १० अर्ब छ करोड रुपैयाँमा इभरस्कोन–कालिका जेभीले विसं २०८० कात्तिक २ गते ठेक्का सम्झौता गरी सोही वर्षको माघ १९ गतेदेखि कार्य प्रारम्भ गरेको सो खण्डका इञ्जिनियर आश्रय महतले जानकारी दिए । 

सो खण्डमा ३०० मिटरभन्दा साना १८ वटा पुलमध्ये १७ वटा निर्माणाधीन छन्भने ६३ वटा कल्भर्ट निर्माण भएका छन् । दुई किलोमिटर ‘ड्रेन’ निर्माण गरिएको छ ।

आठ किलोमिटर सब–बेस सम्पन्न भएको छ । १.७ किलोमिटर बेस सम्पन्न भएको इञ्जिनियर महतले बताए । यो सडक खण्डको पूरै भाग झापामा पर्दछ । 

विद्युतीय पोल सार्ने र सहरी क्षेत्रमा ‘साइट क्लियरेन्स’ अन्तिम चरणमा रहेको इञ्जिनियर महतले बताए । हाल माटो अभावका कारण माटो भर्न नसक्दा केही ठाउँमा काम हुन नसकेको उनले बताए । 

३०० मिटरभन्दा लामा निन्दा, बिरिङ र कन्काई पुल निर्माणका लागि कोभेक क्रेग तुँदी जेभीले पाँच अर्ब ९७ करोड रुपैयाँमा निर्माण गर्ने ठेक्का पाएको छ । हालसम्म उक्त पुलहरूको भौतिक प्रगति १९.३५ प्रतिशत छ । 

पश्चिमखण्डअन्तर्गत प्याकेज नं २, ३ र ५ गरी तीन वटा ठेक्काहरू छन् । प्याकेज नं २ झापाको सीतापुरीदेखि मोरङको गोठगाउँसम्म ४० किलोमिटर छ । उक्त ठेक्का क्रेग तुँदी जेभीले नौ अर्ब १३ करोड ८२ लाखमा सम्झौता गरेको इञ्जिनियर पल्लब श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी, प्याकेज नं ३  मोरङको गोठगाउँदेखि इटहरी लबिपुरसम्म १०.७६ किलोमिटर छ । उक्त प्याकेजको ठेक्का कोभेक क्रेग तुँदी जेभीले चार अर्ब सात करोड ३५ लाख रुपैयाँमा निर्माण गर्ने सम्झौता गरेको इञ्जिनियर श्रेष्ठले बताए । उनका अनुसार काम सुरु भएदेखि हालसम्मको प्रगति औसतमा २५ प्रतिशत छ । 

इञ्जिनियर श्रेष्ठका अनुसार प्याकेज नं २ र ३ को कुल लम्बाइ ५०.७६ किलोमिटरमा २८ वटा ३०० मिटरभन्दा साना पुलमध्ये चारवटा पुल, ६५ वटा कल्भर्ट निर्माणसम्पन्न भएका छन् । यसैगरी, नौ किलोमिटर साइट ड्रेन, १५ किलोमिटर सब बेस, चार किलोमिटर बेस र २.३ किलोमिटर पहिलो चरणको कालोपत्र सम्पन्न भएको छ । 

सहरी क्षेत्रमा सडकको क्षेत्राधिकारभित्रको घर, संरचना हटाउने कार्य भइरहेको र नेपाल विद्युत् प्राधिकरणको विद्युत पोल सार्ने जिम्मा पाएको निर्माण व्यवसायीले ढिलाई गर्दा साइट क्लियर नभएकाले सोचेजस्तो प्रगति हासिल गर्न नसकिएको उनले बताए । 

पछिल्लो समय माटो तथा नदीजन्य निर्माण सामग्रीको अभावका कारण लक्ष्यअनुसार प्रगतिमा बाधा परेको इञ्जिनियर श्रेष्ठको कथन छ । उनले स्थानीय सरकार र प्रदेश सरकारले यस विषयमा आवश्यक सहजीकरण गरिदिएमा आगामी दिनमा निर्माण छिटो गर्न सकिने विश्वास व्यक्त गरे ।
 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  २ : ५० बजे

बागमतीका मुख्यमन्त्री लामा भन्छन्‌ : राजीनामा दिन्नँ

हेटौँडा – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं

अष्ट्रेलियाका सहरहरू प्राकृतिक विपत्तिको जोखिममा

एजेन्सी – अष्ट्रेलियामा जलवायु परिवर्तनका कारण सिड्नी, मेलबर्न, क्यानबेरा र

सांसद्‌हरूको जोड – भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्छ

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले भूमिसम्बन्धी ऐन वास्तविक सुकुम्बासीको पक्षमा हुनुपर्नेमा

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको

आन्तरिक किचलोमा दलहरू

काठमाडौं– जहानियाँ राणा शासन छँदै गठन भएको नेपाली कांग्रेसदेखि पछिल्लो