काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको प्रतिपक्षी दलहरू संलग्न समाजवादी मोर्चा नेपालको बैठक मंगलबार बस्दैछ ।
मंगलबार दिउँसो ३ बजे आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा यो बैठक बस्न लागेको हो ।
यो बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, समाजवादी मोर्चाको भावी गतिविधिसहितका विषयमा छलफल हुन लागेको एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
यो बैठकअघि नेकपा-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी अध्यक्ष माधवकुमार नेपालले पटक पटक संवाद गरेका थिए ।
दुई दलका शीर्ष नेताहरूबीच दुई दिनसम्म लगातार छलफल भएको थियो । उक्त छलफलमा अध्यक्ष प्रचण्डलाई पार्टी एकताको प्रस्ताव राखेको स्रोतले उल्लेख गरेको छ ।
प्रचण्डले दुई वर्षयता समाजवादीसँग एकताको कोसिस गरिरहेका छन् । तर अध्यक्ष नेपाल पार्टीमा आउने सम्भावित विभाजनका कारण उक्त जोखिम मोल्न तयार देखिएका छैनन् ।
सोमबार सिंहदरबारको भेटमा दुवै दलका दोस्रो तहका नेता पनि सहभागी थिए । उक्त भेटपछि दुई नेताले पार्टी एकताको विषयमा गृहकार्य गरेको चर्चा छ । अहिले प्रचण्ड र माधव दुवैमाथि पार्टीमा घेराबन्दी छ । माधव नेपाल भ्रष्टाचार मुद्दामा अल्झिएका छन् । उनलाई विशेष अदालतले वारेस राखेर मुद्दा लड्ने सुविधासमेत दिएको छैन । उनलाई नेतृ रामकुमारी झाँक्रीसहितले नेतृत्व छाड्न दबाब दिएका छन् । सम्मानित नेता झलनाथ खनालले पनि माधव नेपालले तत्काल नेतृत्वबाट राजीनामा दिनुपर्ने बताइरहेका छन् ।
भ्रष्टाचारको मुद्दा लागेकाले स्वयम् नेपाल र उनी पक्षीय नेता पनि अहिले रक्षात्मक छन् । यसका कारण पार्टीमा संकट बढिरहँदा नेपाल असमञ्जसमा परेका छन् । माओवादीमा पनि प्रचण्डविरुद्ध घेराबन्दी बढेको छ । उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई सार्वजनिक रुपमै चुनौतीसहित नेतृत्व छाड्न दबाब बढाइरहेका छन् ।
कम्युनिस्ट प्रधानमन्त्रीमा मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको आरोप जनार्दनले लगाएका छन् । प्रचण्डसमेतले भ्रष्टाचार गरेको आरोप जनार्दनले सार्वजनिक रुपमै लगाएपछि विवाद बढेको छ।
एकीकृत समाजवादीका उपाध्यक्ष खतिवडा जेजे प्रस्ताव आए पनि अहिले कुनै दलसँग एकता गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् । ‘अहिले हामी कुनै पनि दलसँग एकताको पक्षमा छैनौँ’, उपाध्यक्ष खतिवडाले खबरहबलाई भने, ‘हामी समाजवादी मोर्चामार्फत् नै सक्रिय हुन्छौँ। मोर्चालाई बलियो बनाएर लैजाने हाम्रो नीति हो ।’
खतिवडाले समाजवादी मोर्चाले केही गति लिने अवस्थामा भएमा २०८४ को निर्वाचनमा गठबन्धन गर्न सकिने बताए ।‘समाजवादी मोर्चाले राम्रोसँग भाका टिप्ने अवस्था आएमा चुनवी गठबन्धनसम्म जान्छौँ । तर अहिलेकै तरिकाले यो मोर्चाले पनि खासै भाका ल्याउने देखिएको छैन’, उनले भने, ‘तर हामी अहिले पार्टी एकताको दिशामा छैनौँ । प्रस्ताव आइरहन्छन् तर हामी माओवादीसँग एकताका लागि कुनै बिन्दुमा पनि छलफलमा जुटेका छैनौँ । त्यो हाम्रो प्राथमिकता होइन ।’

यसअघि पटक पटक प्रचण्डले अध्यक्ष नेपाललाई एकताको प्रस्ताव गरेका थिए । तर समाजवादीमा सम्मानित नेता झलनाथ खनालसहितको ठूलो पंक्ति बरू एमालेमै फर्किन तयार हुनुपर्ने, माओवादीसँग एकता गर्न नसकिने पक्षमा देखिएको छ । त्यहीकारण अध्यक्ष नेपाल एकताभन्दा समाजवादी मोर्चालाई नै गति दिने योजनामा देखिएका हुन् ।
प्रचण्डले नेकपाका संयोजक नेत्रविक्रम चन्द विप्लवसँग पनि पटक पटक संवाद गरेका छन् । विप्लवलाई माओवादीमा ल्याएर महासचिव बनाउन चाहेको कुरा बाहिर आइसकेको छ । तर विप्लवलाई माओवादीमा ल्याउने कुरामा प्रचण्डनिकट नेताहरू नै सहमत छैनन् ।
विप्लवलाई लिएर उपमहासचिव जनार्दन शर्मासहितको मत बाझिएको छ। उता महिन्द्र राय यादव नेतृत्वको नेसपासँग पनि प्रचण्डको कुरा मिल्न सकेको छैन । नेसपामा गंगालाल श्रेष्ठ नेतृत्वको समूहलाई प्रचण्डले माओवादीमा ल्याइसकेका छन् । तर यादव नेतृत्वको नेसपा अझै पनि माओवादीमा बिलीन हुन तयार भएको छैन ।
कम्युनिष्ट नेताहरुबाट प्रधानमन्त्री बनेकाहरुमध्ये मनमोहन अधिकारीबाहेक सबैले असुली धन्दा चलाएको र भ्रष्टाचार गरेको भनेर जनार्दनले बोलेपछि प्रचण्ड उनीसँग नराम्रोसँग बिच्किएका छन् । अहिले माओवादीमा प्रचण्ड भर्सेस जनार्दन गरेर सामाजिक सञ्जालमा नै बहस छताछुल्ल भएको छ । जनार्दनले पनि हिजो आफूअनुकुल व्याख्या नगर्न आग्रह गरेका छन् ।
यही सन्दर्भमा प्रचण्ड र माधव नेपालले भेटवार्ता बढाएका छन् । उनीहरुले समाजवादी मोर्चाको कार्यक्रम र रणनीति तय गर्न भेटवार्ता भएको भनेपनि भित्री रुपमा दुई दलबीच एकता नै मुख्य उद्देश्य रहेको खुल्न आएको छ ।
दुवै नेता अहिले संकटमा भएकोले त्यो संकट टार्नको लागि पनि एकता गरिहाल्नुपर्ने पक्षमा रहेको उच्चस्रोतको दाबी छ । तर, एकता गर्दा एकीकृत समाजवादीको ठूलो पँक्ति एमालेमा नै फर्किने बाटो बन्ने भएकोले नेपालले निर्णय दिन नसकेको पनि चर्चा छ ।
प्रतिक्रिया