‘रानी जमरा कुलरिया आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा योगदान पुर्‍याउछ’ « Khabarhub

‘रानी जमरा कुलरिया आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा योगदान पुर्‍याउछ’


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुदूरपश्चिम प्रदेशको लम्की क्षेत्रमा सम्पन्न रानी जमरा कुलरिया सिँचाइ आयोजनाले कृषिमा आत्मनिर्भरता र ग्रामीण समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् । 

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा मन्त्री खड्काले सिँचाइ र ऊर्जाको समन्वयले किसानको जीवनस्तरमा ल्याएको परिवर्तनले यो आयोजना राष्ट्रिय गौरवको योजनाका रूपमा स्थापित भएको बताए ।

‘आज हामी सिर्जनात्मक परिश्रम, दीर्घकालीन योजना र साझा प्रतिविद्धताको साक्षी भइरहेका छौँ ।’ मन्त्री खड्काले भने । 

१४,३०० हेक्टर खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ सेवा र ४.७१ मेगावाट क्षमताको जलविद्युत उत्पादन गर्ने संरचनाको औपचारिक उद्घाटन गरिएको हो । 

मन्त्री खड्काले रानी जमरा कुलरिया आयोजना केवल सिँचाइको भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरही समग्र कृषक समुदायको जीवनशैली परिवर्तन गर्ने दृष्टिकोणसहित अगाडि बढाइएको परियोजना भएको स्पष्ट पारे । उनले आयोजनाको कार्यान्वयनले जमिन मात्र हरियाली बनाउने नभई किसानको मनमा पनि आशा पलाएको बताए ।

उनले हाल मधेश प्रदेशका केही क्षेत्रहरूमा देखिएको जलस्रोतको संकटसँग तुलना गर्दै रानी जमरा क्षेत्रका किसानहरूले वर्षैभरि भरपर्दो सिँचाइ सेवा पाएका कारण समस्याबाट उन्मुक्ति पाएको उदाहरण प्रस्तुत गरे ।

जलवायु परिवर्तनका कारण असमय वर्षा वा सुख्खाको चुनौतीबीच पनि कृषक समुदायको उत्पादनमा निरन्तरता कायम राख्न यस्तो पूर्वाधारले सघाउने उनको धारणा थियो ।

मन्त्री खड्काले नेपाल सरकारले जलस्रोत व्यवस्थापनलाई वैज्ञानिक रूपमा लैजान थालेको उल्लेख गर्दै भूमिगत जल, तालतलैया, नदी–नालाहरूको समुचित व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनले भेरी–बबई, सुनकोशी–मरिण जस्ता जल पथान्तरण आयोजनाहरूको सन्दर्भ उठाउँदै आगामी दिन जलाशययुक्त बहुउपयोगी सिँचाइ आयोजना नै विकल्प भएको प्रष्ट पारे ।

यसै सन्दर्भमा उनले हालै भ्रमण गरेको महाकाली सिँचाइ आयोजनाको अनुभव साझा गर्दै टनकपुर ब्यारेजबाट पानी नछाडिँदा आयोजना प्रभावित भएकोप्रति चिन्ता व्यक्त गरे । 

त्यसतर्फ सरकारले कूटनीतिक पहल गर्ने विश्वास व्यक्त गर्दै, सुदूरपश्चिमका ठूला सिँचाइ आयोजनाहरूलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी गराए  ।

रानी जमरा कुलरिया सिँचाइ प्रणाली नेपालको पश्चिम तराई क्षेत्रको ऐतिहासिक र सामाजिक सम्पदा भएको उल्लेख गर्दै मन्त्री खड्काले झण्डै १२० वर्षअघि स्थानीय किसानले बनाएको परम्परागत कुलो प्रणालीको पुनर्निर्माण र आधुनिकीकरण गरी वर्तमान अवस्थामा पुर्‍याइएको बताए । 

आर्थिक वर्ष २०६६/६७ मा विश्व बैंकको सहयोगमा बहुआयामिक सुधार कार्यक्रमका रूपमा सुरु गरिएको यो आयोजना अहिले दोस्रो चरण सम्पन्न गर्दै तेस्रो चरणतर्फ उन्मुख भएको छ ।

आयोजनाबाट उत्पादन भएको ४.७१ मेगावाट विद्युत् प्रयोगको मोडालिटीबारे मन्त्रालयस्तरमा गृहकार्य भइरहेको जनाउँदै उनले निकट भविष्यमै सरकारले यससम्बन्धी उपयुक्त निर्णय लिने जानकारी दिए । 

साथै बाँकी रहेको थप २४ हजार तीन सय हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरी समग्रमा ३८ हजार तीन सय हेक्टर जमिनमा सेवा पुर्‍याउने लक्ष्य रहेको बताउँदै, त्यसका लागि आवश्यक संरचनाको निर्माण र प्रविधियुक्त व्यवस्थापनमा जोड दिइने पनि स्पष्ट पारे ।

आयोजना सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षहरूप्रति आभार प्रकट गर्दै मन्त्री खड्काले किसान समुदाय, प्राविधिक टोली, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार र राष्ट्रसेवक कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । 

उनले यो आयोजना सिँचाइ व्यवस्थापनको नमूना बन्ने विश्वास व्यक्त गर्दै उपभोक्ता समूहहरूसँगको सहकार्यमा यसको दिगो सञ्चालन हुने आशा व्यक्त गरे ।

उनले रानी जमरा कुलरिया आयोजना समृद्ध नेपाल निर्माणमा एउटा उज्यालो उदाहरणका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : १४ बजे

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ

प्रेस स्वतन्त्रता लोकतन्त्रको अभिन्न खम्बा हो : नेता आङदेम्बे

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रमुख प्रतिपक्षी दलका संघीय