काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम टुङ्ग्याइरहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई जेन-जी अभियन्ता भन्ने सुदन गुरुङले फिल्मी शैलीमा लिएर गएको खुलेको छ।
समानुपातिकको बन्दसूची बनाइरहेका कुलमानलाई सुदनले बैठकस्थलबाटै उठाएर आफ्नो गाडीमा लगेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह भएको कमल पोखरीस्थित एक घरमा लगेको ती नेताले बताएका छन् ।
‘हामीले बुझेअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटाउन लानुभएको रे सुदनजीले’, बैठकमा सहभागी उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘हामी त अक्क न बक्क भयौँ। सिनेमामा देखिएको जस्तै दृश्य सुदनले बैठकस्थलमै देखाए। उहाँहरू कुन घरमा वार्तामा हुनुहुन्छ भन्ने हामीलाई जानकारी छैन।’
सुदन काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक हुन् । उनले वैकल्पिक र नयाँशक्तिहरू मिल्नुपर्ने बताउँदै आएका छन् । यसअघि रवि र बालेन ज्वागलमा वार्ता गरिरहँदा पनि सुदनले कुमार बेनको घरमा ताला लगाइदिएका थिए ।












प्रतिक्रिया